Aamsanchar

पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु

Author Image
शनिवार, असोज १, २०७३

काठमाडौँ।

1938986989

हिन्दू परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भयो ।  आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ ।

चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।

सोह्रश्राद्ध पितृ तृप्तिको निमित्त पुण्यतम् पर्व हो भनी शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।  यी तिथिमा कारणबस रोकिए कृष्ण औँसी, अष्टमी वा द्वादशीका दिन, यी दिनमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म एक दिन जुराएर श्राद्ध गर्नुपर्ने धार्मिक मान्यता छ । यसमा पनि नसक्नेले कात्तिक कृष्ण औँसी वा मङ्सिर सङ्क्रान्तिअघि नन्दा तिथि र शुक्रबार नपारी गर्नुपर्ने विधान रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

शास्त्रीय परम्पराअनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्ध भर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ । सोह्रश्राद्धमै बितेकाको सम्झनामा भने ‘एक पार्वण’ श्राद्ध गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१