प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो चारदिने राजकीय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किंदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते भारत जानुभएको थियो ।
भारत भ्रमणमा रहँदा उहाँले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभयो । भ्रमणका क्रममा नेपाल र भारतबीच तीनबुँदे सम्झौता भएको छ ।
आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको प्रधानमन्त्रीले बताउनुभएको छ । नयाँदिल्लीमा शनिबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले अब नेपाल र भारतबिच नयाँ सम्बन्धको सुरुवात भएको र त्यसले दीर्घकालीन महत्व राख्ने बताउनुभयो ।
उहाँले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विषयमा खुलेर कुराकानी भएको उल्लेख गर्नुभयो । संविधान लेखन प्रक्रियादेखि नै असन्तुष्टि जनाउँदै आएका पक्षसँगको सहमतिमा नै नेपालको संविधान संशोधन प्रक्रिया अगाडि बढाउने उहाँको भनाई छ ।
नेपालको समग्र विषय भारतले विशेष प्राथमिकतामा राखेको र नेपालप्रति आपसी हित र चासोमा विशेष ध्यान दिएको भन्दै प्रधानमन्त्रीले साझा चासो र हितमा एकआपसमा मिलेर काम गरिने पनि बताउनुभयो ।