Aamsanchar

चौबिस वर्षपछि वन ऐन संशोधनको तयारी

Author Image
मङ्गलवार, असोज ४, २०७३

काठमाडौ ।ban

वन ऐन, २०४९ लाई समयसापेक्ष रुपमा संशोधन गर्न व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिमा दफावार छलफल सुरु भएको छ ।

ऐनको संशोधन सम्बन्धमा सांसद प्रेम सुवाल र अनुराधा थापामगर तथा सांसद राजाराम स्याङ्तानसहित नौजना सांसदले २० बुँदे संशोधनको प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा सांसदहरुले विधेयकको दफावार छलफलमा भाग लिई आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकमा वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले वनबाट राज्य र जनताले बढीभन्दा बढी लाभ लिन सकून् भनेर ऐनलाई समयसापेक्ष संशोधन गर्न लागिएको बताउनुभयो । वन अतिक्रमण हटाउन, वैज्ञानिक विधिबाट काठको उत्पादनमा वृद्धि गरी विदेशी काठको आयात विस्थापन गर्न र ढलापडा काठको उचित सदुपयोग गर्न पनि ऐन संशोधनको आवश्यकता परेको मन्त्री भण्डारीको भनाइ थियो ।

समितिका सभापति जनकराज चौधरीको अध्यक्षतामा भएको बैठकमा बोल्ने अधिकांश सांसदले विधेयक शीघ्र पारित गरी मुलुकभरका वनमा भएको अतिक्रमण हटाउन र वनको अवस्थामा सुधार ल्याई जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने धारणा राख्नुभएको थियो । सांसदहरु वीरबहादुर बलायर, पार्वत गुरुङ, कमला विश्वकर्मा, मधु शाही ठकुरीलगायतले छलफलमा भाग लिनुभएको थियो ।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर