Aamsanchar

६ वर्षीय बालक जेलबाट छुटे

Author Image
बुधवार, असोज ५, २०७३

Sujan-Mijar-57df4d9567ed94.26113584
बेसीसहरः

जिल्ला अदालत लमजुङले तोकेको धरौटी तिर्न नसकेपछि नाबालक छोरासहित पुर्पक्षका लागि जेल चलान भएकी सुकमाया मिजार र उनको ६ वर्षीय नाबालक छोरा सुजन मिजार जेलबाट छुटेका छन् । मंलगबार जिल्ला अदालत लमजुङमा धरौटी रकम जम्मा गरेपछि उनीहरू जेलबाट छुटेका हुन् ।

अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा धरौटी तिर्न नसक्दा बालक जेलमा भन्ने समाचार पढेपछि देशविदेशबाट बालकको उद्धारका लागि चासो देखाइएको थियो । बालकको धरौटीका लागि लमजुङको कुन्छा घर भई हाल अमेरिकाको कोलोराडोमा बस्दै आएका कृष्णप्रसाद अधिकारी र दोलखा घर भएका घिसिङ एन्ड डेभलपर्स कम्पनीका प्रबन्ध निर्देशक चन्द्र लामालगायतले सहयोग गरेका थिए ।

बालकको धरौटी र अन्य सहयोगका लागि लामाले लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश थापामार्फत २० हजार सहयोग गरेका थिए भने अधिकारीले २० हजार ९८ रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै बालकको सहयोगका लागि सामाजिक सञ्जाल ‘न्यानो स्पर्श समूह- बाट ५ हजार सहयोग भएको छ ।

जेलबाट छुटेपछि सुरज र सुकमाया निकै खुसी देखिन्थे । जेलबाट निस्केपछि उत्साहित भएकी उनले मजदुरी गरेर भए पनि लमजुङको बेसीसहरमै बस्ने र अदालतको तारिखमा हाजिर हुने बताएकी छन् । ‘मेरो दोष छैन तर अदालतले भनेको मान्छु-, उनले भनिन् ।

पूर्वी लमजुङको बिचौर माइती भएकी उनले आफ्नो दोस्रो विवाह नवलपरासीको कावासोतीमा भएको बताइन् । यसअघि लमजुङकै मंगले मिजारसँग बिहे भएको र उनैबाट छोरा सुजनको जन्म भएको उनले बताउँदै आएकी छन् । उनको दोस्रो श्रीमान् नवलपरासीको कावासोतीका शंकर अछामी पनि सोही मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । गाउँकै एक चेलीले यो दम्पतीविरुद्ध जिल्ला अदालत लमजुङमा मुद्दा दायर गरिकी थिइन् ।

३५ बर्ष लागेकी सुकमायासँग नेपाली नागरिकताको प्रमाणपत्र छैन । उनको छोरा सुजनको जन्मदर्ता भएको छैन । जन्मदर्ता नहुँदा कागजी प्रक्रिया मिलाउन समस्या भएको छ ।

बालकको उद्धार पश्चात् मंगलबार नै जिल्ला प्रशासन कार्यालय लमजुङमामा बसेको जिल्ला बालकल्याण समितिको बैठकले बालकको सहयोगका लागि उनको नाउँमा खाता खोल्न सिफारिस गर्ने र नेपाल बालसंगठनअन्तर्गतको कपिलबस्तुको बालगृहमा सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)