Aamsanchar

अष्ट्रेलियामा नेपाली क्रिकेटर सन्दीपको खेल उत्कृष्ट

Author Image
आइतवार, असोज ९, २०७३

अष्ट्रेलिया ।

माइकल क्लार्कको निम्तोमा अष्ट्रेलिया आएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपको पहिलो खेललाई समर्थन र हौसला दिनका लागि नेपाली झण्डा सहित एनआरएनका पदाधिकारीहरुसहित दर्जनौं नेपालीहरु खेलमैदान पुगेका थिए ।

नेपाली युवा क्रिकेटर लामिछाने अष्ट्रेलियाका पुर्व कप्तान क्लार्कको निमन्त्रणामा एक साताअघि अष्ट्रेलियाका सिड्नी आइपुगेका हुन् । केही दिनको अभ्यासपछि उनी आज सिड्नीको एलन बोडर ओभलमा मोसमन क्रिकेट क्लबका बिरुद्ध खेल खेलेका हुन् । माइकल क्लार्कको टिम वेष्र्टन सबर्बबाट खेल खेलेका उनले उत्कृष्ट बलिङ गरेका थिए । उनले ८ ओभर बलिङ गर्दै एक विकेट लिएर जम्मा १७ रनमात्र दिएका थिए । ५० ओभरको खेलमा पहिले ब्याटिङ गरेको मोसमन क्रिकेट क्लबले १ सय ४१ रन बनाएको थियो ।

सन्दीपको खेललाई हौसला र समर्थन गर्दै एकाविहानै एनआरएन अष्ट्रेलियाका का उपादक्ष्य दिनेश पोखरेल, कोषाध्यक्ष डिला खरेल, पब्लिक रिलेसन अफिसर समीम अनवर लगायतका अन्य नेपाली खेलप्रेमीहरु खेलमैदानमा पुगेका थिए । उनको खेल हेर्नका लागि अष्ट्रेलियामा रहेर बिभिन्न क्लबहरुमा क्रिकेट खेल्दै गरेका नेपाली खेलाडीहरु समेत पुगेका थिए । ‘सन्दीपको आजको खेल वास्तवमै उत्कृष्ट थियो,’ स्थानीय क्लब वारियर राईनोका खेलाडी प्रशान्त थापा कान्तिपुरसँग भने, ‘विश्वस्तरका खेलाडीहरुसँग खेल खेल्नु चुनौतीपूर्ण भएपनि सन्दीपले सहज रुपमा उत्कृष्ट खेल प्रदर्शन गरे ।’

पहिलो इनिङ खेलिसकेपछि मैदान फर्किनुअघि सन्दीपले आफ्ना समर्थकहरुसँग फोटो खिचाएका थिए । आजको एकदिवसीय खेलमा उनको प्रदर्शनको सबैले खुलेर प्रशंसा गरेका थिए ।

यता अष्ट्रेलियाका बिभिन्न संघसंस्थाहरुले सन्दीपलाई सम्मान गर्ने जनाएका छन् । एक नेपाली युवाले क्लार्कको एकेडेमीसम्म आएर खेल खेल्नु समग्र नेपाली र राष्ट्रकै इज्जत भएको र  उनलाई थप हौसला प्रदान गर्न कार्यक्रमको आयोजना गर्न लागिएको एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर