Aamsanchar

अब एमालेमा समूहगत निर्वाचन नहुने

Author Image
आइतवार, असोज ९, २०७३

काठमाडौँ ।

CPN-UML

नेकपा (एमाले)ले कुनै पनि स्तरका कमिटी तथा जनसङ्गठनका निर्वाचनहरु समूहगत (प्यानल) सूचीका आधारमा नगर्ने निर्णय गरेको छ ।

पार्टीका विभिन्न कमिटीमा उम्मेदवारको योग्यता, क्षमता, सक्रियता, योगदान, इमानदारिता र लोकप्रियताका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्ने तथा त्यसो नगर्ने व्यक्ति र सङ्गठनहरुलाई अनुशासनको कारबाही हुन सक्ने गरी नियमावली संशोधन गर्ने पनि एमालेले निर्णय गरेको छ । पार्टीमा गुटबन्दी अन्त्यका लागि केन्द्रीय कमिटीको जारी सातौँ बैठकको चौथो दिन आज सो निर्णय भएको हो ।

बैठकले पार्टीको आन्तरिक एकतालाई अझ सुदृढ गर्दै आउने कुनै पनि प्रतिस्पर्धामा पार्टीको श्रेष्ठता हासिल गर्न स्थायी कमिटीको ४३औँ बैठकले पारित गरेको विशेष प्रस्तावलाई आवश्यक परिमार्जन गरी ‘पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गरेको हो ।

यस्तै, पार्टीका अधिवेशन, जनसङ्गठनका सम्मेलन र विभिन्न कार्यक्रममा अतिथि र सहभागीको नाम निर्धारण सम्बन्धित कमिटी र सङ्गठनको माग, सम्बन्धित कमिटी र सङ्गठनका जिम्मेवारसँगको परामर्शका आधारमा पार्टी केन्द्रीय सचिवालयले गर्ने, सम्बन्धित कमिटी र सङ्गठनसँग प्रत्यक्षतः असम्बन्धित तथा उक्त प्रक्रियाबाट नतोकिएका व्यक्ति कार्यक्रममा सहभागी नहुने पनि निर्णय भएको छ ।

पार्टीको सङ्गठनात्मक जीवन र राष्ट्रिय जीवनका महत्वपूर्ण विषयमा सामूहिक छलफलको प्रणालीबाट निष्कर्षमा पुग्ने, पार्टी सदस्यता, पार्टीका विभिन्न स्तरका अधिवेशन तथा जनसङ्गठनका सम्मेलनका सम्बन्धमा विधि र पद्धतिलाई बलियो गरी अनुशरण गर्ने र यस सम्बन्धमा देखिएका समस्यालाई उचित विधिबाट समाधान गर्ने, पार्टी र नेतृत्वका विरुद्ध हुने कुनैपनि कुप्रचार र प्रहारलाई सबै नेता, कार्यकर्ता र सदस्यहरुले तथ्यपरक किसिमले सशक्तरुपमा प्रतिवाद गर्ने पनि विशेष प्रस्तावमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)