काठमाडौं:
नेपाल राष्ट्र बैंकले दसैंका लागि आइतबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन सुरु गरेको छ । सर्वसाधारणलाई दसैंमा सहज तरिकाले नयाँ नोट साट्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस पटक बेलैमा नोट उपलब्ध गराउन थालेको हो ।
राष्ट्र बैंकले दिएको जानकारीअनुसार बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउनेछन् । राष्ट्र बैंकले भने सर्वसाधारणका लागि असोज १६ गतेदेखि मात्र नयाँ नोट साट्नेछ । थापाथलीस्थित कार्यालय र क्षेत्रीय कार्यालयमार्फत नयाँ नोट उपलब्ध गराइने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले पाँचदेखि एक सय रुपैयाँसम्मका नोट दुई/दुई बिटाका दरले उपलब्ध गराउनेछ ।
वित्तीय संस्थालाई आइतबारदेखि आउँदो १४ गतेसम्म नयाँ नोट साट्ने प्रबन्ध मिलाईएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । उनका अनुसार यो वर्ष नयाँ नोट पर्याप्त मात्रामा बजारमा जाने भएकाले अभाव हुने छैन । एक जनाले ३७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछ ।
गतवर्ष एक जनालाई २२ हजार रुपैयाँ सटही सुविधा दिइएको थियो । दसैंको समयमा सहरदेखि गाउँसम्म नयाँ नोट प्रयोग गर्ने चलन छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थामा नयाँ नोट लिनेको भीड नै लाग्ने गरेको छ । नोट सटही व्यवस्था प्रभावकारी नहुँदा विगतमा सर्वसाधारलाई नयाँ नोट लिन सास्ती हुने गरेको थियो ।