Aamsanchar

पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका

Author Image
मङ्गलवार, असोज ११, २०७३

 

yekraj-g-264x300

एकराज गिरी

(सन्दर्भः विश्व पर्यटन दिवस)

पृष्ठभूमि (पर्यटन)
‘अटन’ मा ‘परि’ उपशर्ग लागेर बनेको ‘पर्यटन’ शब्दको शाब्दीक अर्थ ‘भ्रमण’ हो । एक स्थलबाट अर्को स्थलहरुमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ । पर्यटन देश र विदेश जता पनि हुन्छ । यसरी देश विदेश घुम्ने, महत्वपूर्ण स्थलहरुको भ्रमण गर्ने, संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन, जीवनशैलीको अध्ययन गर्ने, एतिहासिक पुरातात्विक एवम् धार्मिक स्थलहरुमा अध्ययन अनुसन्धान गर्ने, प्रकृति सौन्र्दयमा रमाउने जस्ता विभिन्न उद्देश्य बोकेर आउने व्यक्तिहरुका लागि आवश्यक पर्ने सबै सुविधाहरु उपलब्ध गराउनका लागि गरिने व्यवसाय पर्यटन व्यवसाय हो । विश्व पर्यटन संगठनले आफ्नो बासस्थानभन्दा टाढा पाहुनाका रुपमा एक रात वा २४ घण्टा बिताउने स्वदेशी तथा विदेशी सबैलाई पर्यटक भनी परिभाषित गरेको छ । सामान्य अर्थमा पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा रमाइलोका लागि घुमफिर गर्न जानु भन्ने बुझिन्छ । १९ औं शताब्दीसम्म अस्तित्वमै नआएको पर्यटन शब्द २१ औं शताब्दीसम्म आइपुग्दा विश्वकै प्रमुख र उच्च प्रतिस्पर्धात्मक उद्योगका रुपमा स्थापित भइसकेको छ ।
यस्तो महत्वपूर्ण उद्योग पर्यटन प्रवद्र्धनकै लागि सेप्टेम्बरमा विश्वभर विश्व पर्यटन दिवस मनाइन्छ । सर्वप्रथम सन् १९७९ को सेप्टेम्बरमा स्पेनमा भएको संयुुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनको पहिलो सभाको निर्णयपछि सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउन थालिएको हो । सन् १९८० मा पहिलो अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको थियो । साढे तीन दशकदेखिको अन्तर्राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको यस दिवसले प्रत्येक वर्ष पर्यटनका माध्यमबाट अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने र पर्यटकीय सम्पदाको संरक्षण प्रवद्र्धन गर्दै दिगो विकासलाई जोड दिने गर्दछ ।
सबैभन्दा भरपर्दाे सबै वर्ग समुदाय समेतले प्रत्यक्ष लाभ लिन सक्ने पर्यटन उद्योगको विश्वव्यापी विकास गर्ने उद्देश्यले संयुक्त राष्ट्रको विश्व पर्यटन संगठनले कार्यहरु गर्दै आएको छ । । पछिल्लो अध्ययनले विश्वभर नै यसको वार्षिक वृद्धिदर ५ प्रतिशत देखाएको छ, जुन अन्य उद्योगको तुलनामा निकै बढी हो ।

jamun
पृष्ठभूमि (सञ्चार अर्थात पत्रकारिता)
सामान्य अर्थमा ‘सञ्चार’ भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीच सूचना, बिचार, अनुभव,भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ । यसर्थ एकअर्काबीच सूचना, बिचार, धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ । सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो । तसर्थ सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो ।
‘सञ्चार’ भन्ने शब्दमा आम अर्थात अंगे्रजीको कम्युनिकेशनमा ‘मास’ जोडिएर आमसञ्चार बनेको हो । ‘आम’ को अर्थ धेरै भन्ने हुन्छ । अंग्रेजीको ‘मास’ शब्दले पनि धेरै वा भीड भन्ने नै जनाउँछ । जहाँ असंख्य मानिसहरू छन् भन्ने अर्थ दिन्छ । तसर्थ आमसञ्चारका साधनहरूले परापूर्वकालदेखि सुरुभएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स,ब्लग,अनलाइन आदि जस्ता सबै सञ्चार साधनहरूलाई जनाउँछ ।
एक व्यक्तिभन्दा बढी असीमित जनसमुदायका लागि जब कुनै माध्यमको सहायताद्वारा कुनै पनि विषयवस्तुलाई सन्देशको रूपमा प्रसारण, प्रक्षेपण गरिन्छ तब यस्तो प्रक्रियालाई आमसञ्चार भनिन्छ । अत्यधिक जनसमुदायलाई सञ्चार गराउने प्रक्रिया नै आम सञ्चार हो । कुनै विचार,भावना,सन्देश वा सूचनालाई सामूहिक रूपमा एउटाबाट अर्कोसम्म पुर्याउने काममा आमसञ्चारको प्रयोग भएको हुन्छ । आमसञ्चारको उद्देश्य भनेको कुनै बिचार वा सन्देशलाई ती व्यक्तिसम्म पुर्याउनु हुन्छ, जसलाई त्यस्तो सूचना आवश्यक हुन्छ र यसबाट सबै व्यक्तिले त्यस्तो जानकारी लिन सक्छन् ।
तसर्थ पत्रकारिताको इतिहास खोतल्ने क्रममा जब लिपिको विकास भयो । त्यसपछि मद्रण युगको आरम्भ भयो । लेखन मुद्रणको साथसाथै पत्रकारिताको इतिहास अघि बढेको हो । परापूर्वकालदेखि आज पनि सार्वजनिक वा महत्वका सूचनाहरू सर्बसाधरणलाई जानकारी दिन कटुवाल घोकाउने प्रचलन पनि पत्रकारिताको पूर्वाभ्यास हो । आजको पत्रकारिता वैज्ञानिक युगको सामुहिक देन हो । कागजको उद्योग, छापाखाना र अन्य छपाई उपकरणका संगमबाट अहिलेको पत्रकारिता चलिरहेको छ । मुख्य त छापाखानाको विकाससँगै पत्रकारिताको पनि विकास भएको हो ।
नेपालमा पत्रकारिता
विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछिमात्र यसको विकास भएको देखिन्छ । नेपालमा छापाखानाको विकास पनि निकै ढिलो भएको हो । भारतभन्दा झन्डै तीन सयबर्ष पछाडी मात्र नेपालमा छापाखानाले प्रवेश गरेको हो । भारतमा सन् १५५०मा प्रेसले प्रवेश पायो भने नेपालमा विसं १९०८ (सन् १८५१) तिर जंगबहादुर राणा बेलायत भम्रणबाट फर्कदा फलामे हाते प्रेस ल्यायपछि मात्र विधिवत् रूपले प्रवेश पायो । यसैलाई गिद्धेप्रेस भनिन्छ । गिद्धको जस्तो पँखेटा र सो अंकित लोगो भएकोले गिद्धे प्रेस भनिदै आएको हो । यसपछिको अर्को छापाखानाको नाम हो “मनोरञ्जन छापाखाना”। गिद्धेप्रेस ल्याएको केही वर्षपछि यो प्रेस ल्याईएको थियो । यसरी सुरु भएको नेपाली मुद्रणकार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा भएको हो । साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले वि.स.१९५० ताका सुधासागरको प्रकाशन गर्ने प्रयत्न थाले। यसै बीच उनको १९५२मा निधन भएपनि पण्डित नरराजहरूले १९५५मा सुधासागर प्रकाशित गरे गरे । जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो । यसअघि वि.सं.१९४२ मा“गोर्खा भारत जीवन” नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए । यस लगत्तै नेपाली पत्रकारिता सुरुवात र यस्को विकासक्रम भएको देखिन्छ । यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल बनारसलाई नै सम्झनु पर्दछ । नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाईन्छ ।“सुधासागर”पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका “गोर्खा पत्र” हो । यो सन् १९०१मा प्रकाशित भएको थियो । पुस्तक नेपालको सबैभन्दा पुरानो र जेठो आमसञ्चार माध्यम मानिन्छ । नेपाली भाषाको पहिलो पुस्तक कुन थियो भन्ने बारे अहिलेसम्म यकिन हुन सकेको छैन। यद्यपि प्राचीन समयमा हस्तलिखित रूपमा रहेका पुस्तकहरू प्रचलनमा रहेको इतिहासले देखाउँछ । नेपालमा छापिएको पहिलो गैर धार्मिक पुस्तक भनें मुलुकी ऐन थियो । यो १९२९ देखि ३१ सम्ममा छापिएको विश्वास गरिन्छ । नेपाली भाषाको पहिलो पत्रिका भनेर गोर्खा भारत जीवन लाई चिनिन्छ । यो भारतको बनारसबाट बिक्रम सम्बत् १९४५ देखि १९५०को बीचमा प्रकाशित भएको थियो ।
नेपालको इतिहासमा रेडियोले आमसञ्चारको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको पाइन्छ । विक्रम सम्बत २००७ को क्रान्तिका कालमा नारदमुनी थुलुङको नेतृत्वमा पूर्वी नेपालको पहाडबाट प्रजातन्त्र रेडियोको नाममा रेडियो प्रशारण भएको थियो । पछि विराटनगरमा पनि अर्को रेडियो सञ्चालन भएको थियो । तारिणीप्रसाद कोइरालाले नेतृत्त्व गरेको त्यो रेडियोले पनि राणा विरोधी क्रान्तिलाई मुख्य रूपमा प्रचार गरेको थियो। प्रजातन्त्रको स्थापना पश्चात २००७ चैत्रमा त्यही उपकरण ल्याएर काठमाडौंबाट नेपाल रेडियोको स्थापना गरिएको थियो ।
सन् १९८०को दशकमा नेपालमा टेलिभिजन र कम्प्युटरको आगमन भयो । यसले नयाँ युगको शुरुवात ग¥यो । घर, कार्यालय, शिक्षण संस्था सबैतिर यी दुई साधनले ठाउँ पाए । अहिले टेलिभिजन मानवको सूचना र मनोरञ्जनको मित्र बनेको छ । २०३०को दशमा भिडियो हेर्ने उद्देश्यले नेपालमा छिटफुट टेलिभिजन सेट काठमाडौं भित्रिए । २०३९मा ‘विकासका लागि सञ्चार भन्ने अवधारणा अनुरुप नेपालमा टेलिभिजनको स्थापनाको आवश्यकता औल्याइयो । फलस्वरुपः २०४१ पुसमा सञ्चारमन्त्रालय अन्तर्गत नेपाल टेलिभिजन स्थापना भयो ।
२०४६ सालमा वरिष्ठ पत्रकार भारदत्त कोइरालाले नेपालमा पहिलो पटक इमेल प्रयोग गरेका र २०५१ सालदेखि मर्कन्टाइलले व्यवसायिक रुपमा इमेल सेवा सुरु गरेको पाइन्छ ।
नेपालमा ब्लग साइटहरूमा समाचारको निकै बाहुल्य पाइन्छ । कतिपय ब्लग साइटहरू त समाचार साइटले जस्तै समाचार मात्र पस्किन्छन् । त्यसैले ब्लगहरू पनि नेपालमा समाचारका माध्यम बन्न थालेका छन् ।
नेपालमा पर्यटन
उसबेलाको नेपाल र पर्यटन विकास निकै ढिलो थियो । ५० वर्षअघि मात्रै हेर्ने हो भने पनि नेपाल बाहिरी संसारबाट बिल्कुलै फरक थियो । सन् १९५० को दशकबाट मात्रै नेपालमा पर्यटनको ढोका खुलेको हो । तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि उनीहरूसँगै नेपाल पनि बाहिरी विश्वमा परिचित भयो । ५० को दशकदेखि अहिलेसम्म नेपालले पर्यटनमा निकै फड्को मारेको छ । अहिले संसारका आकषिर्त गन्तव्यमध्येमा नेपाल पनि पर्न थालेको छ ।
विश्वको आर्थिक विकाससंगै समृद्धिको बलियो आधार पर्यटन उद्योग अन्य उद्योग भन्दा भिन्न चरित्रको, व्यापक परनिर्भर हुन्छ । दिगो र पर्यावरणमैत्री उद्योगको रुपमा लिने गरिन्छ । विश्व अर्थतन्त्रको एक चौथाई हिस्सा ओगट्ने पर्यटन क्षेत्र नेपालमा भने अझै शिशु नै छ । सन् १९५३ पछि पर्यटनलाई संस्थागत गर्ने राज्यको नीतिहरु भए पनि यसले सन् १९९८ को नेपाल भ्रमण वर्षको राष्ट्रिय कार्यक्रमपछि नागरिक तहमा वहसको रुप लिन थालेको हो । सन् १९९८ यताको करीब १७ वर्षको पिरियडमा नेपालको पर्यटन उद्योग अपेक्षाकृत विकास हुन भने सकेको छैन ।
नेपालको पर्यटन विकास धेरै पछाडि छ । नेपाली पर्यटनको विश्व बजारमा पहुँच पुग्न सकेको छैन । मूलतः ग्रामीण पर्यटनमा नेपालको बलियो सम्भावना भए पनि त्यसको सही सदुपयोग गर्न सकिएको छैन । सरकारले पर्यटन नीति २०६५ जारी गरी होमस्टे सञ्चालन निर्देशिका २०६७ कार्यान्वयन गरेको छ । यसको मूल उद्देश्य भनेको नै घरबास कार्यक्रममार्फत गाउँ पर्यटनलाई उभो लगाउने हो ।
पहिलेपहिले कामविशेषले वा यसै घुम्न जाँदा अरुका घरमा पाहुना लाग्ने नेपालीको चलन हो । सायद धेरैजसो अगाडि नै खबर नदिई अर्थात् तिथि नतोकी अपर्झट आउने भएकाले नै पाहुनालाई ‘अतिथि’ भनिएको हुनुपर्छ । यो पनि पर्यटन सुरुवातको एउटा पाटो हो । आफ्ना कुनै सम्बन्ध नभए पनि मितको समेत साइनो गाँसेर पाहुना लाग्ने चलन हाम्रो संस्कृतिको एउटा बलियो पाटो थियो । त्यसबेला पाहुनालाई भुटेको मकै खाजा दिनु र पाहुनाले त्यसका लागि सितनको इच्छा गरेर मोही, मूला वा मुङ्ग्रे केरा माग्नुले ठूलै आत्मीयताको उदाहरण देखाउँथ्यो । २०५० सम्म मौलाएको यो पाहुना संस्कृतिमा त्यसपछिका वर्षमा खासगरी माओवादी र राज्यको द्वन्द्व सुरु भएपछि, केही धाँजा फाटे । कसैको घरमा त्यतिकै पाहुना लाग्न जानु वा बास माग्नु असम्भवजस्तै थियो । त्यसपछि आन्तरिक पर्यटनमा धेरै प्रभाव पर्यो । त्यसबेला आफ्नै देशका अन्यत्र ठाउँमा पाहुना बन्न नपाएपछि हाम्रो आन्तरिक पर्यटन निकै खल्बलियो । सन् २०१५ पर्यटन उद्योगका लागि सर्वाधिक निराशाजनक वर्ष रह्यो । अघिल्लो वर्षका तुलनामा यसमा ३१.७८ प्रतिशत कम अर्थात् ५ लाख ३८ हजार ९ सय ७० मात्र पर्यटक आए । यो ६ वर्ष यताकै कम संख्या हो । शक्तिशाली भूकम्पको प्रभावका कारण खस्किएको पर्यटनमा केही सुधार देखिएको मात्र के थियो, फेरि मधेस आन्दोलन र नाकाबन्दीले अर्को धक्का लायो ।

पहल र आवश्यकता
पर्यटनबाट आर्थिक क्रान्ति गर्न सकिन्छ । उदाहरणको रुपमा भारतको सिक्किमलाई हेर्न सकिन्छ । सिक्किम सरकारको वेवसाइटमा उल्लेख भएअनुसार अहिले पर्यटनबाट मात्रै सिक्किमले मासिक १ अर्ब १२ करोड भारु आम्दानी गर्न थालेको छ । पाँच लाख जनसंख्या भएको सिक्किममा तीन लाख २० हजार जनसंख्या प्रत्यक्ष रुपमा पर्यटनसँग जोडिएका छन् । ७० प्रतिशत मानिसको आर्थिक वृद्धि नै पर्यटन भएको उल्लेख छ । वार्षिक पाँच लाख बढी पर्यटक सिक्किम पुग्ने गरेका छन् । नेपालमा पाइलैपिच्छे घुम्ने ठाउँ छन् । विश्वभरका मानिस भन्छन्, प्राकृतिक सौन्दर्य अवलोकनका निम्ति नेपाल उल्लेखनीय गन्तव्य हो ।
पिकनिक गएर एक दिनैमा फक्र्यो भने त्यो पिकनिक मात्रै हुन्छ र एकरात बस्यो भने त्यो आन्तरिक पर्यटन हुन्छ । घुमघाम गर्न चाहने जमातलाई प्रोत्साहन गर्न र आन्तरिक पर्यटन व्यवसाय गरेर आम्दानी गर्न सकिन्छ भनेर देखाइदिन सरकारी नीतिको खाँचो छ । यसका लागि विदेशीलाई मात्र पर्यटक भन्ने अहिलेको अवस्थामा परिर्वतन आवश्यक छ । आन्तरिक पर्यटन विकास हुने र नहुने भन्नेमा हामी पूर्वाधार निर्माणमा कति अगाडि छौं भन्नेमा निर्भर हुन्छ ।
सरकारले जलस्रोत र कृषिपछि पर्यटनलाई तेस्रो प्राथमिकतामा राखेको छ । पर्यटन सबैभन्दा छिटो विकास हुनसक्ने उद्योग हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका यावत् पक्षले पर्यटकलाई आकर्षित गर्ने भएकाले नेपालमा पर्यटन व्यवसायको संम्भावना प्रचुर रहेको छ । यस व्यवसायबाट प्रशस्त विदेशी मुद्रा आर्जन गरी समृद्धशाली मुलुक निर्माणमा टेवा पु¥याउँन सकिन्छ । नेपालमा पर्यटन व्यवसायको संम्भावना जति देखिन्छ त्यति नै त्यसका चुनौति पनि छन् । पर्यटकीय स्थलहरुको स्पष्ट पहिचान समेत गर्न नसकेको अवस्था त एकातिर छ भने अर्कातिर पहिचान भएका स्थलको बारेमा पनि प्रचारप्रसारको अभाव देखिन्छ । नेपाल भित्रिएका पर्यटकहरुले पनि पर्याप्त सुविधा उपभोग गर्न पाइरहेका छैनन् । त्यसैले पर्यटकलाई थप समय बस्ने वातावरण बनाउँन नसक्दा तोकेको लक्ष्य अनुरुप आय–आर्जनमा समस्या देखिएको छ । उनीहरुलाई मनोरञ्जनका साधनको व्यवस्था हुन सकिरहेको छैन । यातायात साथमा संचारको पनि समस्या हुनु पर्यटन व्यवसायको अर्को चुनौति हो । पर्यटकीय स्थलको समुचित विकास र व्यवस्थापन नहुनु, राजनैतिक अन्योल र अस्थिरता हुनु, पर्यटन सूचना केन्द्रको व्यवस्था नहुनु, प्रचार प्रसारमा खासै ध्यान नदिनु र नेपालको प्राकृतिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक पक्षहरु झल्कने पुस्तक, वृत्तचित्र, पोस्टर आदिको पर्याप्त उत्पादन र वितरण नहुनुले गर्दा वर्तमान समयमा नेपालमा पर्यटन व्यवसायमा धेरै चुनौतिहरु देखा परेका छन् ।
मुलुकको अर्थतन्त्रको दरिलो आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पाँच ‘चर’ र सात ‘स’को नयाँ अवधारणाको आवश्यकता औँल्याइएको छ । पर्यटकको संख्या र बसाई समय बढाउनका लागि तथा प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’, ‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र सङ्ख्या बढाउने’ को अवधारणालाई रणनीतिक अभियानकैरुपमा लैजानु जरुरीे छ ।
पर्यटन प्रवद्र्धनका लागि नीतिगत योजनाका साथ मिसनमा लागेको सरकारले विगतका विभिन्न विपद्को सामना र सङ्क्रमणबाटै सम्भावना खोज्नेगरी प्रवद्र्धन तथा प्रचारात्मक अभियानलाई जोड दिएको छ । यसै सन्दर्भमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन प्रवद्र्धनलाई परिणाममुखी बनाई आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्ने हेतुका साथ रणनीतिक योजनामा जुटेको छ ।

पर्यटन उद्योगका लागि आवश्यक मूर्त या अमूर्त, प्राकृतिक, सांस्कृतिक मानव निर्मित सम्पदाले हामी भरिपूर्ण छौं यद्यपि विश्व पर्यटन बजारमा हाम्रा सम्पदाहरुले आकर्षित गर्न सकिरहेका छैनन् । विदेशी पाहुनाको नजर खिच्न सकिएको छैन । यसको मूल कारण पर्यटनको शिक्षा, जनचेतना र राष्ट्रिय नीति, पूर्वाधार, लगानी आदिको कमी भएको सबैमा जगजाहेर छ । यद्यपि पछिल्लो चरणमा सञ्चार क्षेत्र, निजी क्षेत्र, स्थानीय समुदाय, सरकारी लगानी कार्यक्रमहरुले केही प्राथमिकता पाउन थालेका छन् । सन् २०१४ मा सरकारले पर्यटन विकासको दशवर्षे गुरुयोजना ल्याएको छ भने चालु आर्थिक वर्षमा सरकारले पर्यटनका लागि १३ अर्ब भन्दा बढी विनियोजन गरेको छ । कार्यान्वयनको प्रश्न भने सबैसामु उभिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथालाई भिर बनाई भूस्वर्गका रुपमा एसियाको मुटु बनेर रहेको नेपाल विश्वका पर्यटकहरुको सर्वप्रिय स्थल हो । मानिसको जिज्ञासु स्वभाव तथा रहस्यमय वस्तु, तत्व वा विषयवस्तुको बारेमा ज्ञान आर्जन गर्ने चाहनाले धेरै पर्यटकहरुले प्राकृतिक सौन्र्दयताको अवलोकन गर्ने गर्दछन् । प्राकृतिक वरदानको रुपमा अविरल बग्ने नदिहरु , पहाड, तालतलैया, झरनाहरु, बनजंगल र विश्वमा दुर्लभ मानिएका जीवजन्तुको दृश्यावलोकन तथा अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक नेपाल भित्रिने गर्दछन् । प्राकृतिक सुन्दरताले दुलही झै सिंगारिएका पहाड, मुसुक्क मुस्कुराउने हिमश्रृङ्खला, कलकल बग्ने खोला, छङछङ गर्ने झरना र चुराचुरुङ्गीको चिरविरपनले कुन पर्यटकको मन आकर्षित नहोला । नेपाल एक प्रकृतिको विश्वविद्यालय हो । यहाँ कोहिलीको कुहु–कुहुले कुत्कुत्याउँछ, ढुकुरको प्रेमले तनमन एकाग्रित हुन्छ अनि मयुरको नाचले मानिसलाई जिउँदै स्वर्गिय आनन्दको अनुभूति हुन्छ ।
नेपाली समाजिक जीवन, संस्कृति, रहनसहन, परम्परा, चाडपर्व, रितिरिवाज अनुसन्धानका लागि रहस्यमय पुञ्ज बनेका छन् । यसका साथसाथै धार्मिक, ऐतिहासिक स्थलको भ्रमण, अवलोकन गर्न, सांस्कृतिक विविधतामा घुलमिल हुन, भौगोलिक विविधतामा रमाउन पर्यटकहरु आकर्षित हुन्छन् नेपालमा ।

नेपालमा सांस्कृतिक अवलोकन बिक्रीयोग्य क्षेत्र बनेको छ । पदयात्रा व्यवसाय निकै अघि बढेको र पदयात्रा नै पर्यटनको पहिलो पूर्वाधार भएको छ । सांस्कृतिक अवलोकन पनि हाम्रो मुख्य केन्द्र बन्नसक्छ । यहाँका गुम्बा, मन्दिर र चाडपर्वका महत्व हामीले बिक्री गर्न सक्नुपर्छ ।

नेपालमा वन्यजन्तु हेर्न बर्षेनी दुई लाख पर्यटक चितवन पुगिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यसरी नेपालको चौतर्फी क्षेत्र पर्यटनको केन्द्र बन्ने संभावना छ ।

नेपालको सन्दर्भमा पर्यटनको इतिहास लामो नभए तापनि आज पर्यटन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग र प्राथमिकताको क्षेत्र बनिसकेको छ । विगतमा गरिएका सर्भेक्षण र प्राप्त तथ्यांकअनुसार नेपालमा पर्यटकहरु अन्य उद्देश्यको तुलनामा मनोरञ्जन, घुमफिर र विदा मनाउने उद्देश्यले ६० प्रतिशतभन्दा बढी आउने गर्दछन् ।
हाम्रा भन्दापनि कमजोर अर्थतन्त्र भएका मुलुकहरुले पर्यटन क्षेत्रको विकासमार्फत ठूलो फड्को मारिसकेका छन् । आज त्यहाँको मुख्य उद्योग र आम्दानीको स्रोत पर्यटन बनेको छ । हामीले त्यसबाट पाठ सिक्नुपर्छ ।

हाम्रोमा पर्यटनको आकर्षण भनेको प्राकृतिक स्रोत नै हुन् । यहाँका प्राकृतिक स्रोतलाई पर्यटनसँग जोड्नुपर्छ । एउटा राम्रो अवसर र सम्भावना छ, नेपालका लागि त्यो पनि पूर्वी नेपाललाई । भारतको नर्थ बंगाल–सिक्किमसँगै पूर्वी नेपालको सर्किट जोड्न सके पर्यटनको क्षेत्रमा राम्रो गर्न सकिने अवस्था छ । यी क्षेत्रको भूगोल र हावापानीमा विविधता तथा समानता छ । नेपालमा पर्यटक पश्चिम मात्र जाने तर पूर्व नआउने प्रवृत्ति छ । पूर्वी नेपाल स्रोत सम्पन्न क्षेत्र हुँदाहुँदै पनि त्यो अवसर लिन सकिएको छैन । अहिले ओझेलमा परेको पूर्वी नेपालले यो अवसर लिन सक्नुपर्छ । अहिले पूर्वी नेपालमा पर्यटनका लागि नक्सांकन र प्याकेज नभएर पनि हुन सक्छ । अब नक्सांकनसहित प्याकेज बनाएर पर्यटन विकासका लागि तयार हुनुपर्छ । नर्थ बंगाल– सिक्किमसँगै पूर्वी नेपाललाई पर्यटनको मुख्य क्षेत्र बनाउनुपर्छ ।
दैनिक १५ हजारको हाराहारीमा पूर्वी नेपालको नजिकै शिलगढीमा पर्यटक उत्रिन्छन् । तर सबै भारतमै सीमित रहन्छन् । केही नेपाल पसे भने काठमाडौं पोखरा हुइकिन्छन् । उनीहरु पूर्वी नेपालमा जाने चाहना राख्छन् तर सूचना, नक्सा, प्याकेज नहुँदा अवसर गुमेको छ । तसर्थ नक्सांकनसहित प्याकेज बनाउन र उचित प्रचार गर्न सके १५००० पर्यटकमा १÷२ प्रतिशतलाई पूर्वी नेपालमा भित्र्याउन सकिने सम्भावना छ ।

पर्यटनको विकासका लागि एकले अर्को ठाउको ‘प्रोमोशन’ गर्न जरुरी छ । नेपालको पूर्व उत्तरमा सवा सय पर्यटकीय स्थल छन् । यसलाई पर्यटक आकर्षणको केन्द्र बनाउन सके उद्योगको रुपमा स्थापित भई आम्दानीको दीगो स्रोत बनाउन सकिन्छ । जुट्ने हो भने यो सम्भावनालाई साकार बनाउन सकिन्छ । त्यसो भयो भने ग्रामीण पर्यटनको अवधारणा बमोजिम यहाँका युवा सस्तोमा श्रम बेच्न विदेशिनु पर्दैन, खेतबारी बाँझोरहँदैन, होम स्टेका कारण घर पनि खाली हुँदैन ।

पूर्वका केही जिल्लाका पर्यटकीय स्थल
पर्यटन प्रवद्र्धनका लागि यहाका पर्यटकीय स्थल चिन्नु र चिनाउन जरुरी छ । पूर्वी नेपालमा थुप्रै मनमोहक पर्यटकीय स्थलहरु रहेका छन् । झापाकै कुरा गर्ने हो भने पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा जैविक विविधताका क्षेत्र धेरै छन् । बाहुनडाँगी एक महत्वपूर्ण क्षेत्र हो । त्यहाँ दशकौंदेखि सयौंको संख्यामा हात्तीले ठूलो क्षति पु¥याएपनि ती हात्तीलाई पर्यटन आकर्षणको केन्द्रमा रुपान्तरण गर्न सके राम्रो हुने देखिन्छ । त्यस्तै पूर्वकै पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम, महाभारतकालीन किच्चकबधस्थल, विराटपोखर सरोबर, सतासीधाम, साधुटार (शंकाराचार्यपीठ), कन्काई धाम (कोटीहोम) , पातालगंगा, कृष्ण थुम्की, टाँसीछोयलिङ गुम्बा, नेपालकै होचो भूभाग केचना केवल, जामुनखाडी सिमसार क्षेत्र, दोमुखा, बाह्रदशी (कञ्चनगढ), बर्ने चिया बगान, समयगढ, चिल्लागढ, कोटीहोम, कलवलगुढी, शहीद स्मारक सुखानी पार्क, चारकोशे झाडी जस्ता आकर्षक केन्द्रहरु रहेका छन् । झापाको कनकाई नगरमै राष्ट्रिय प्रतिभाहरु गेकुल जोशी,हरिभक्त कटुवाल, शहीद लक्ष्मी पाण्डेको शालिक समेत रहेको छ ।
त्यस्तै मोरङमा धनपाल गढी, कानेपोखरी, बेतना सीमसार, राजाधनपाल थान, सुनबर्षी पोखरी, कालीकोशी सातकन्या सीमसार, बेतेनी ताल, चुली पोखरी, विराट राजा दरबार, बाघ झोडा, हसिना सीमसार, राजारानी पोखरी, सप्तकन्या गुफा, महादेव पावर्तती गुफा, मिक्लाजुङ डाँडा, वेतिनी सीमसार, काली मन्दिर रंगेली, काली खोला, कालीमन्दिर विराटनगर, मन्ठपोखरी, ध्वजे डाँडा, जेफाले डाँडा, हरिशचन्द्रगढी जस्ता आकर्षक पर्यटकीय स्थलहरु रहेका छन् ।
त्यस्तै सुनसरीमा भताभंगे, पीण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या, कोशीटप्पो बन्यजन्तु आरक्ष, विष्णुपादुका, सूर्यकुण्ड, बराहक्षेत्र, चतहरा, रामधुनी, तालतलैया, साल्पादेवी, कोशी नदी र नौका सयर, हिमालयन महायान गुम्बा जस्ता महत्वपूर्ण पर्यटकीय स्थलहरु रहेका छन् ।
पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थान ओगट्ने मुलुकका केही जिल्लाहरु मध्ये इलाम पनि एउटा हो । पूर्बाधारको राम्रो बिकाश गर्ने हो भने इलामलाई पूर्बको एउटा महत्वपुर्ण गन्तब्य स्थल बनाउन सकिन्छ । इलाम जिल्लामा पर्यटकको मन लोभ्याउने धेरै ठाउँहरु छन् । इलामका कन्याम लगायतका चियाबगानहरु, श्रीअन्तु डाँडा, माइृपोखरी, सन्दकपुर, सिद्धिथूम्का, पशुपतिनगर, टोड्के झरना, सानोपाथीभरा, छिन्टापुर, सिहंबाहीनी, माइस्थान,सेतीदेवी,गजुरमुखी लगायत त्यस्ता थुप्रै ठाउँहरु छन् ।
पाँचथरमा जोरपोखरी, याशोकको मन्दिर, सिलौटी–लोब्रेकुटी, फाल्गुनन्द शालिक जस्ता महत्वपूर्ण पर्यटकीय स्थल छन् भने ताप्लेजुङमा समस्त हिन्दूहरुकी आस्थाकी देवी पाथीभरा माता, कञ्चनजंघा हिमाल, ओलाङ्चुङगोला तथा चिनको बोर्डर जस्ता अति महत्वपूर्ण र आकर्षक पर्यटकीय स्थलहरु रहेका छन् ।
अब के गर्ने त?
क) सरोकारवालाको भूमिका
अल्पकालीन तथा दीर्घकालीन रुपमा दुई किसिमले पर्यटन बजार प्रवद्र्धन गर्न सकिन्छ । संचार माध्यमबाट विज्ञापन गराएर, ब्रोसर बाँडेर, समय समयमा पर्यटन मेला आयोजना गरेर, सभा सम्मेलन आदिका माध्यमद्धारा अल्पकालीन रुपममा पर्यटन बजार प्रवद्र्धन गर्न सकिन्छ । विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरुमा पर्यटनसम्बन्धी विषयहरु समावेस गरेर, योजनाबद्ध किसिमले बजार प्रवद्र्धनका कार्यक्रमहरु संचालन गरेर, संचारमाध्यमहरुबाट नियमित रुपमा कार्यक्रमहरु संचालनका साथै विज्ञापन गराएर, लेख, रचना, किताव प्रकाशन गरेर तथा पर्यटन व्यवस्थापनका निश्चित विषयहरु होटल व्यवस्थापन, यातायात व्यवस्थापन आदिको अध्ययन अध्यापन र तालिम प्रदान गरेर दीर्घकालीन रुपमा आन्तरिक पर्यटनको बजार प्रवर्द्धन गर्न सकिन्छ ।

पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन पनि अल्पकालीन र दीर्घकालीन दुवै किसिमले गर्न सकिन्छ । संसारभरका टाढा वा नजिकका देशहरुलाई लक्षित गरी प्रत्यक्ष रुपमा सम्बन्धित देशमै पुगेर तथा अप्रत्यक्ष रुपमा सम्बन्धित देशमा रहेका पर्यटन व्यवसायसंग सम्बन्धित संघसंस्थाहरु सरकारी तथा नीजि क्षेत्रका संघसंगठनहरु मार्फत पर्यटनसम्बन्धी कार्यक्रम चलाएर पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न गराउन सकिन्छ । नेपालको सन्दर्भमा पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि निजी तथा सरकारी दुवै क्षेत्र मिलेर गर्दा छिटो छरितो र सहज हुने देखिन्छ ।
कार्यक्रमहरुका प्याकेजहरु आह्वान गरेर , विदेशस्थित नेपाली नियोग दूताबासहरु मार्फत् कार्यक्रम संचालन गराएर र विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई पर्यटन प्रवद्र्धन तथा पर्यटन बजार प्रवद्र्धन गर्न गराउन सकिन्छ ।
त्यस्तै विभिन्न देशका पर्यटन व्यवसायीहरु तथा पर्यटनसम्बन्धी काम गर्ने संघसंस्थाहरुसँग समन्वय गरी छलफल तथा सूचना आदानप्रदान गरेर , नेपालको पर्यटनबारे राम्ररी जाने बुझेका सम्बन्धित देशका विज्ञहरुसँग वैचारिक छलफलका साथै सल्लाह सुझाव लिएर , समय–समयमा विदेशमा पर्यटन मेला आयोजना गरी पर्यटन प्रवद्र्धन गर्ने सामग्रीहरु प्रदर्शन गरेर पनि यो काम गर्न सकिन्छ ।
मानिसहरुको बढी आवातजावत हुने ठाउँहरु जस्तै विमानस्थल, बस बिसौनी, ठूलाठूला बजार आदि स्थानहरुमा पर्यटनसंग सम्बन्धित जानकारीमूलक ब्रोसरहरु वितरण तथा सार्वजनिक स्थानहरुमा भिडियोको माध्यमबाट प्रचार , विदेशी सरकारसँग पर्यटन प्रर्वद्धन सम्बन्धी सरकारस्तरीय सम्झौता गरेर , विदेशमा पर्यटन सम्बन्धी मेला सम्मेलन तथा भेटघाटमा जाँदा विदेशी संघसंस्था तथा मित्रहरुलाई पर्यटन संग सम्बन्धित बस्तुहरु उपहार दिएर पनि पर्यटन प्रर्वद्धन गर्न सकिन्छ ।

ख) सञ्चार क्षेत्रको भूमिका
यो सूचनाको समय हो । सञ्चारको युग हो । आज हरेक क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा सञ्चार अपरिहार्य भएको छ । पर्यटनको प्रवद्र्धनमा सञ्चारको भूमिका अझ महत्वपूर्ण हुन्छ । आन्तरिक हुन् या त बाह्य पर्यटक, उनीहरुले सञ्चारमाध्यमबाटै कुनै पनि पर्यटकीय ठाउँ बारे जानकारी हासिल गरेर त्यहाँ पुग्ने इच्छा, चाहना र तत्परता राख्छन् । यसले गर्दा पनि पर्यटन प्रवद्र्धनमा सञ्चार महत्वपूर्ण र नभई नहुने पाटो बनेको छ । अझ पत्रकारिताको द्रुत विकाससँगै समग्र पत्रकारिताको भद्दा जिम्मेवारीको विकल्पमा अझ विटमा आधारित पत्रकारिता अघि बढेको छ । त्यसमा ‘पर्यटन पत्रकारिता’ एउटा विट बनेको छ । विट त बन्यो तर मोफसलमा रहेका सञ्चारकर्मीले विटमा आधारित पत्रकारिता गर्ने सिप, क्षमता तथा अवसर कम हुँदा यो ओझेलमा परेको छ । पर्यटन पत्रकारिता ओझेल पर्नु भनेको पर्यटन क्षेत्र ओझेलिनु हो ।
कुनैपनि ठाउँको विकास र पर्यटन प्रबद्र्धन सञ्चार क्षेत्रले ठूलो भूमिका खेलेको हुन्छ । सूचना दिनु, शिक्षा दिनु, मनोरञ्जन प्रदान गर्नु, उत्प्रेरित गर्नु र अभिप्रेरणा दिनु पत्रकारिताको उद्देश्य हुन् । यी उद्देश्य पूरा गर्ने काम सञ्चारकर्मी अर्थात् पत्रकारको हो । पर्यटन प्रबद्र्धन गर्ने कार्य पनि यिनै उद्देश्य अन्तर्गत पर्दछ । अर्थात् यिनै उद्देश्यमा केन्द्रित, आधारित रहेर पर्यटकीय क्षेत्र बारे प्रबद्र्धन, विकास र विस्तारको काम हुन्छ । पत्रकारितालाई राज्यको चौथो अंक मानिएको छ । पत्रकारिता गर्ने पत्रकार अर्थात् सञ्चारकर्मी समाजमा उच्च चेतना, फरक सोच, शैली, राज्यका जिम्मेवार र जवाफदेही नागरिक कहलिन्छन् । यसका लागि सकारात्मक सोच र रचनात्मक कार्यशैली आवश्यक छ । तर, नकारात्मक सोच र प्रस्तुतिले पर्यटन क्षेत्र पनि प्रताडित छ ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटनबारे नकारात्मक सन्देश प्रवाह भइरहेको छ । यसलाई चिर्नको लागि पत्रकारिता क्षेत्रले भूमिका निर्वाह गर्नुको विकल्प छैन । किनभने नेपालको पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको ठूलो भूमिका रहेको छ । यसको लागि सत्य, तथ्यपरक समाचार सम्प्रेशन गर्नुपर्ने आवश्यकता छ । महाभूकम्पमा मात्रै पर्यटन क्षेत्रले २४,५७३.७० बिलियन नोक्सानी व्यहोरेको नेपालले नाकाबन्दीका कारण कति नाक्सानी भयो हिसाब गर्न समेत नभ्याएको अवस्था छ ।
विनाशकारी भूकम्प र नाकाबन्दीले प्रतिकूल असर पार्नुका साथै सञ्चार माध्यमले समेत केही पर्यटन क्षेत्रमा प्रतिकूल असर पारेको पर्यटन व्यवसायीको गुनासो छ । भूकम्पपछि सञ्चार माध्यमले त्यसको बारेमा आमजनतालाई जानकारी गराउनु सञ्चार माध्यमको दायित्व हो । त्यतिबेलाको सञ्चार माध्यमको प्रस्तुति हेर्दा यस्तो लाग्थ्यो काठमाडौं खाल्डोमा ठाडो घर देख्नु ‘यति’को खोजि गरेजस्तै हो । अधिकांश सञ्चार माध्यमले बिग्रेका,भत्केका, लडेका,चर्केका, घर, मठमन्दिर देखाए तर करिब ९० प्रतिशत घरहरु त ज्युँका त्युँ नै थिए भन्ने देखाएनन् । विनाशकारी भूकम्पले नेपाललाई मसानघाट नै बनाएछ भन्ठानेर पनि विदेशी सञ्चार माध्यमको नेपालमा ओइरो लाग्यो तर बिडम्बना उही भत्केका घरहरुको फोटो र समाचार देखाउनमात्रै प्रतिस्पर्धा भयो । अझैपनि अधिकांश घरहरु सुरक्षित छन्, यस्ता पर्यटकीय स्थलहरु सुरक्षित छन् भनेर न त नेपाली मिडीयाले समाचार बनाए न त विदेशी ।
त्यसैगरी नाकाबन्दी र तराइ आन्दोलनमा पनि मिडियाले नकरात्मक नै प्रचार गरेका छन् । अझ अनलाइन मिडियालाई त झन बढी दोष जान्छ ।

जस्तो कि – ‘रणभूमी बन्दै रौतहट’, ‘स्थिती सरकारको नियन्त्रण बाहिर’ जस्ता समाचारको हेडलाइनले के निर्दिष्ट गर्छ ? त्यो हाम्रा मिडियाले बुझेर मात्रै सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्ने देखिन्छ । अनि मात्र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ । सञ्चार माध्यमबाट यस्ता सामग्री प्रकाशन तथा प्रसारण गर्नाले नेपालको प्रमुख आयश्रोतमध्ये एक मानिएको पर्यटन व्यवसाय यतिबेलासम्म बामे सर्न सकेको छैन । यस्ता काँचा, अपरिपक्व, दुरदृष्टिहीन सञ्चार माध्यम र सञ्चारकर्मीका कारण पनि हाल पर्यटन व्यवसायमा कमी आएको देखिन्छ ।
अर्कोतर्फ भूकम्प गएलगतै नेपाल सरकारले काठमाडौं उपत्यकालाई एक बर्षसम्म संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । जसको प्रत्यक्ष असर अहिले पर्यटनमा परिहेको छ । कतिपय राष्ट्रहरुले त आफ्ना नागरिकलाई भूकम्प र नाकाबन्दीले ग्रसित यस्तो क्षेत्रमा, देशहरुमा घुम्ने अनुमति दिएका छैनन् । तर, यस्तो गम्भीर बिषयमा नेपाल सरकारले समेत सरोकारवालासँग उचित परामर्श नगरीकन निर्णय गर्नुले पर्यटकलाई अझ तर्साउने काम गरेको देखिन्छ । देशको प्रमुख आर्थिक खम्बामध्ये एक मानिएको पर्यटन व्यवसाय यस्ता यावत कुराहरु बाट हाल ग्रसित छ । अब तुरुन्तै यस समस्यालाई समाधन गरी पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्छ । जसका लागि हामी सञ्चारकर्मीले सकरात्मक सन्देश दिनुपर्छ ।
पर्यटन व्यवसायको प्रचार संवेदनशील छ । सकारात्मक प्रचारप्रसारले सकारात्मक योगदान ह्वात्तै बढ्न सक्छ भने थोरै नकारात्मक प्रचारप्रसारले पनि ठूलो प्रभाव पर्न सक्तछ । यसर्थ नेपालको पर्यटन गन्तव्य, सेवासुविधा र मौलिकताको विषयमा विश्वव्यापी प्रचार रणनीति लिनुपर्दछ । नेपालका विषयमा भएका अनर्गल प्रचारप्रसारको त्यसैगरी खण्डन गर्ने रणनीति लिनु आवश्यक छ ।
स्थानीय तथा ग्रामीण पर्यटन क्षेत्रको प्रवद्र्धनमा स्थानीय तथा क्षेत्रीय सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा स्थानीय सञ्चार माध्यमले जब पर्यटकीय क्षेत्रका बारेमा विषय उठान गर्छन् तब राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी तथा अन्य सरोकारवालाको पनि ध्यान तानिन्छ । यसरी सञ्चार क्षेत्रमा पनि तहगत रुपमा पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । ओझेल परेको पर्यटन पत्रकारिताको प्रबद्र्धन आवश्यक बनेको छ । सञ्चारकर्मीको क्षमता अभिबृद्धिका लागि सम्बद्ध पक्षले पत्रकार महासंघ जस्ता संस्थाको सहकार्यमा पर्यटन पत्रकारिता तालिम तथा अन्य छलफल र कार्यशाला सञ्चालन गर्न सक्छन् । त्यसरी दक्ष र सीप सिकेर सञ्चारकर्मीले पर्यटकीय क्षेत्र बारे ‘हार्ड’ तथा ‘सफ्ट’ न्यूज बनाउन सक्छन् । खोजमूलक समाचार तथा अन्य सामग्री चाखपूर्ण हुन्छ । यसले सर्वसाधारणको ध्यान सजिलै तान्न सक्छ । एउटै पर्यटकीय क्षेत्र बारे विविध कोणबाट समाचार बन्न सक्छ । त्यहाँको समग्र पक्ष, प्राकृतिक सुन्दरता, विशेषता, पशुपन्छी, भेषभूषा, खानपान, संस्कृति आदि बारे फरक–फरक कोणबाट समाचार बनाउन सकिन्छ । त्यसको आर्थिक, सामाजिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, लैंगिक, वातावरणीय विविध पक्षबाट पनि हेर्न सकिन्छ । पर्यटकीय क्षेत्रमा प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने पक्ष, प्रबद्र्धन तथा विकास समितिका पदाधिकारीसँग अन्तरवार्ता प्रकाशन प्रशारण गर्न सकिन्छ । वहस चलाउन सकिन्छ । फिचर, विचार, यात्रा संस्मरण, निबन्ध, कविता, गीत, गजल, सम्पादकीय, कथा, लघुकथामार्फत पनि पर्यटकीय क्षेत्रलाई उठान गर्न सकिन्छ । सम्बन्धित पर्यटकीय क्षेत्रको वेवसाइट बनाएर सबै तस्वीर र विवरण राख्न सकिन्छ । जसबाट संसारका जुनसुकै कुनाबाट पनि यहाँको पर्यटकीय स्थल बारे इच्छुक, जिज्ञासुलाई जानकारी हासिल हुन्छ । त्यस्तै फेसबुक पेज तथा ट्वीटरमार्फत पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । यी काम अहिलेको प्रविधिको प्रयोग र सञ्चार क्षेत्रको सहयोग तथा सहकार्यमा गर्न सम्भव छ । सहकार्यमा गर्ने अर्को कार्य बुलिटन, स्मारिक प्रकाशन पनि हो । सञ्चारमाध्यममा विज्ञापन प्रकाशन, प्रशारण अर्को सशक्त माध्यम हो । ब्रोसर, पर्चा, पम्पलेट, हार्डिङ बोर्डमार्फत पनि प्रचार सशक्त बनाउन सकिन्छ । पर्यटन तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिएर सञ्चारमाध्यममा पर्यटन सामग्री सम्प्रेषण गर्ने सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई प्रोत्साहित गर्न पुरस्कृत गर्ने,लेखनवृत्ति प्रदान गर्ने कार्यको थालनी गर्दा पर्यटन प्रबद्र्धनका लागि थप हौसला बढ्ने देखिन्छ । सञ्चारक्षेत्रबाट अरु पनि धेरै काम गर्न सकिन्छ । टेलिभिजन तथा रेडियोले कार्यक्रम उत्पादनका लागि पर्यटकीय क्षेत्र रोजिदिँदा त्यसले प्रत्यक्ष र प्रभावकारी ढंगले पर्यटन प्रबद्र्धनमा टेवा पुग्छ । त्यस्तै चलचित्र सुटिङ, म्युजिक भिडियोको निर्माणका लागि पर्यटकीय क्षेत्र नै रोजिन्छ, त्यो रोजाईमा यहाँका पर्यटकीय स्थल पर्न र पार्न सक्नुपर्छ । जब प्रचार हुन्छ त्यहाँ सबैको ध्यानाकर्षण हुन्छ, अनि मात्र त्यस बारे विभिन्न कोणबाट विभिन्न क्षेत्रमा लागेकाहरुले सोच्छन्, त्यहाँ पुग्ने अभिलाषा राख्छन् र त्यस ठाउँलाई आफ्नो काम र उद्देश्यसँग जोड्छन् । सञ्चार संस्थाले गर्ने विभिन्न कार्यक्रम होस् या त अन्य सामाजिक संघ–संस्थाले गर्ने कार्यक्रम (वनभोज, तालिम, गोष्ठी, अन्तरक्रिया, साधारणसभा, बार्षिकोत्सव आदि) पर्यटकीय क्षेत्रमा गर्ने परिपाटी बसाउन सके पर्यटन प्रबद्र्धनमा फड्को मार्न सकिन्छ । त्यस्ता कार्यक्रममा सञ्चारकर्मीको समेत सहभागिता बढाउन सके अझ प्रभावकारी हुन्छ । पर्यटन प्रबद्र्धन गर्न पर्यटकीय क्षेत्र विशेषका लागि त्यहाँका समितिले सञ्चारकर्मीलाई बर्ष÷बर्षका लागि ‘प्रचार दूत’ नियुक्त गर्दा पनि टेवा पुग्छ । स्थानीय क्षेत्रका विद्यालयमा समय मागेर एक÷एक पिरियड विद्यार्थीलाई स्थानीय पर्यटकीय क्षेत्र बारे जानकारी, प्रशिक्षण दिन पनि सकिन्छ । कतिपय विद्यालयले आफै विकास गरेका स्थानीय पाठ्यक्रममा यहाँका पर्यटकीय क्षेत्रलाई समेट्न सके अझै राम्रो हुन्छ । पर्यटकीय क्षेत्रलाई लक्षित गरी विविध खेलकुद,हाजिरी जवाफ, वादविवाद, निवन्ध,कविता,गीत गजल प्रतियोगिता चलाउन सकिन्छ । र्याली र माइकिङ गर्न सकिन्छ । समय–समयमा पर्यटकीय क्षेत्रको इतिहास, वर्तमान अवस्था र भविष्यबारे गरिएको परिकल्पना सम्वन्धी जानकारी गराउन पत्रकार सम्मेलन गर्न सकिन्छ । त्यसमार्फत पनि पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउन सकिन्छ । यसबाट पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारका लागि बजेट जुटाउन सरोकारवालाको ध्यानाकर्षण तथा दवाव दिन मद्दत पुग्छ । ती क्षेत्रमा भएका विकास बारेका समाचारलाई प्राथमिकता साथ प्रकाशन प्रशारण गर्न सकिन्छ । यसबाट भौतिक पूर्वाधार सम्पन्न पर्यटकीय क्षेत्र निर्माणमा र पर्यटकको आकर्षक गन्तब्य निर्माणमा सहयोग मिल्छ । यी सबै काममा सञ्चार क्षेत्रको भूमिका त रहनु नै पर्ने भो अझ सरोकारवाला सबैको दायित्व पनि उत्तिकै हुन्छ । दायित्व र भूमिकाबारे उदाहरणको रुपमा बेलायतका राजकुमार ह्यारीको केही समय अघिको नेपाल भ्रमणलाई हेरौंलाई लिन सकिन्छ । उनी ६ दिने भ्रमणमा ६ दिन थपेर नेपाली समुदायसँग रमेका थिए । भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरताका कारण तहसनहस बनेका बेला भएको बेलायती राजकुमारको उक्त भ्रमणले नेपाली पर्यटन व्यवसायमा नयाँ आशा र सम्भावना सञ्चार गरेको थियो ।
यस्तो अवस्थामा भएको ह्यारीको भ्रमण यति सकारात्मक संयोग बन्यो कि नेपालका सौन्दर्य, सम्पदा, संस्कृति र सारथिहरूको एकमुष्ठ विश्वव्यापी प्रचार भयो । पर्यटन प्रवद्र्धनमा नेपाल सरकारले गर्ने ठूलो लगानीभन्दा त्यो कैयौं गुणा शक्तिशाली सावित भयो ।
मुलुकको राजनीतिक संक्रमण पनि किनारा लाग्दै गएको छ । सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य हासिल गर्न पर्यटन प्रवद्र्धनसम्बन्धी ठोस नीति तथा कार्यक्रम तय गर्दै अघि बढ्न सकिन्छ । मूल कुरा सरकार र सरकारका सरोकारवाला निकायले यसको गहनता बुझ्न सक्नुपर्छ । आशालाग्दो वातावरण बनेको छ, उपयोग गर्न सक्नुपर्छ ।

निष्कर्ष
ग्रामीण पर्यटनका बलिया आधार मानिने पर्या पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटनजस्ता महत्वपूर्ण आयामको उपयोग गर्न पर्याप्त व्यवसायीकरण गर्न सकिएको छैन । अब यहाको एकीकृत योजनासहित हाम्रा गन्तव्यहरुको उजागर गर्न कसिलो र ठोस योजनालाई तय गर्न सक्नुपर्दछ । नयाँ सोच र दूरदृष्टिको संयोगबाट बन्ने योजनाले पर्यटन विकासको पाँग्रोलाई अगाडि बढाउन सक्छ । सबैको सहभागिता र एकताका साथ अगाडि बढ्न, समृद्धिको गोरेटो तय गर्न पर्यटनमा ध्यान जान आवश्यक छ । साथै, संस्थागतरुपमा पनि विकास हुन नसकेकाले सबै जिल्ला विकास समितिको पहलमा जिल्ला पर्यटन प्रबद्र्धन समन्वय समिति गठन र क्रियाशील बनाउनतिर पनि सोचिनु पर्छ । यो काम नगर र गाउँ स्तरमा पनि गर्नु उत्तिकै जरुरी छ । विश्व पर्यटन संगठनले अंगीकार गरेको संकल्पलाई हाम्रा स्थानीय समुदायको जीवनस्तर उकास्न र उनीहरुको गौरव र स्वाभिमानपूर्ण जीवनयापनका लागि पर्यटनमा सरकारी लगानी तथा ध्यान प्राथमिकताका साथ पुग्नुपर्छ । सामाजिक संघसंस्थाको दायित्व पनि उत्तिकै छ । पर्यटन चेतनाका लागि उत्तम मानिने कार्यक्रमहरु गाउँस्तरमा पुर्याउन र सिंगो नेपाललाई पर्यटन विकासको महाअभियानमा सरिक गराउन अब ढिलो भइसकेकोले नयाँ संविधानले दिशानिर्देश गरेको आर्थिक समृद्धिको बाटोलाई मजबुत बनाउन सबैले जिम्मेवारी, दायित्व र कर्तव्यलाई पूरा गर्न सक्नुपर्छ । समृद्ध नेपालका स्वाभिमानी नेपाली भएर बाँच्न , देशमै स्वरोजगारी सिर्जना गरी युवाको पसिना यतै बगाउन र घर आगनमा डलर फलाउन सक्नुपर्छ ।
नेपाल प्राकृतिक सुन्दरताको धरोहर, पर्यटकको आकर्षणको केन्द्रविन्दु, पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको एउटा बैभवशाली मुलुक भएकाले, पर्यटन व्यवसाय अर्थ व्यवस्था वा समृद्धिको सुचक भएकोले यसको उचित विकास र व्यवस्थापन गरी सम्भावित चुनौतिलाई समाधान गर्ने पक्ष तर्फ सम्बन्धित सरोकारवालाको ध्यान केन्द्रित समयमा नै हुन सकेमा नेपाल विश्वकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्छ । यो संभावना झापामा,अझ कनकाई नगरमा अझ बलियो छ । यसकै माध्यमबाट नेपालको आर्थिक, सामाजिक उन्नति सम्भव छ । पर्यटन सँगसँगै हैन, अब पर्यटन सँधैसँधै अर्थात पर्यटनलाई बाह्रै महिना सञ्चालन गर्नुपर्छ, स्थानीय केन्द्रीय हुँदै अन्तर्राष्ट्रियकरण गरी एकीकृत विकास गर्न आवश्यक छ । यसका लागि सञ्चार क्षेत्र,सञ्चारकर्मी,सरोकारवाला सबैसंगको सहकार्य जरुरी छ ।
(सचिव–नेपाल पत्रकार महासंघ झापा)

[email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 892

प्रतिक्रिया (०)

सम्बन्धित खबर