[प्रा.राजनारायण प्रधान]
राजा श्री ५ महेन्द्रको नाम लिनासाथ उनको प्रज्ज्वल व्यक्तित्वका अनेक रूप हाम्रा आँखाअघि आउँछन्- राष्ट्रियताका सजग प्रहरी, हिम्मती राजनेता, विश्वका एक अति निपुण राजनीतिज्ञ, पञ्चायती प्रजातन्त्रका प्रबल प्रवर्तक, राष्ट्रिय मामलाका आत्मनिष्ठ अभिभावक, अति संवेदनशील कवि, प्रतिभा सम्पन्न,प्रजाप्रेमी, प्रजापति र एक प्रचण्ड प्रतापी भूपति !
राजा महेन्द्रले तीन थोक चाहेका थिए । पहिलो नेपालको हित, दोस्रो नेपालको हित र तेस्रो नेपालको हित । उनी विश्वका अन्तरकुन्तर घुमे तर उनको मायाले कहिल्यै नेपाली पहाड नाघेन । उनको निम्ति स्वदेश नै विश्व थियो, विपना थियो, सत्य थियो, एक खँदिलो अस्तित्व थियो । उनलाई ‘पहाडका गर्खागर्खा‘, ‘तर्राईका गरागरा‘, ‘डाँडा, जल, पहरा, साल, सल्लो गुराँस‘ मन पर्थ्यो । उनलाई सुनौला साँझमा नेपाली बादलमाथि तितरी पङ्खी उडेको, जुनेली रातमा कलकल गरी खोला बगेको, हरियो डाँडामा निर्मल झरना झरेको र रूपौला रङ्गको उच्च हिमाल टल्केको हेर्न मन पर्थ्यो । त्यति मात्र होइन उनले विश्वकै सौन्दर्य आफ्नै देशमा समेटिएको पनि देखे ।
महेन्द्र एक राजा हुन् जसले विश्वको नजरमा नेपालको इज्जतलाई शिखरमा पुर्याए । उनले देशविदेश भ्रमण गरे अनि जुनजुन भूमिमा पाइला टेके, त्यहाँका भूमिपुत्रहरूले उनको मुक्त हृदयले स्वागत गरे, मुक्त कण्ठले प्रशंसा गरे । महारानी एलिजावेथ द्वितीयाले स्वागत गर्दै उनीसित प्रेमपूर्वक हात मिलाउँथिन्,पण्डित नेहरू उनीसित हातेमालो गर्दै हिँड्थे, अमेरिकी सांसादहरू उनको सौम्य मुहार देखेर मख्ख पर्थे, क्रुश्चेवले भोजमा उनीसित दुईचार ख्यालठट्टा गर्थे, चाउ एनलाइले उनका कुरा आदरसाथ सुन्थे, टीटो र नासेरले उनीसित आत्मीयता बाँड्थे । अन्तरार्ष्ट्रिय पटभूमिमा उनले छोडेका यी सुन्दर बिम्बहरू थिए ।
राजा महेन्द्र कवि हुन् अनि एक उच्चकोटीका कवि हुन् । कविताकै क्षेत्रमा पनि उनी महान् छन् । उनका कविताहरूले धेरैपल्ट मेरा आँखा रसाएका छन्:
कोही धनी असाद्धे
कोही गरीब माग्ने
सक्तिन देख्न भन्छिन्
सन्तान थरी थरीका ।
कवि महेन्द्रले देशमा भयानक गरिबी देखे, जनता भोखानाङ्गा देखे अनि कविता लेखे । जब कविले आत्माको पुकार सुन्छन्, तब कवि इमान्दार हुन्छन् । अघिबेलायतमा भयङ्कर दरिद्रता थियो, प्रत्येक ओठमा वेदनाको सुस्केरा थियो, प्रत्येक अनुहारमा व्यथाको लहर थियो । यो कुरा विलियम ब्लेकले देखे अनि ‘लण्डन‘भन्ने कविता लेखे । महेन्द्र जस्तै संवेदनशील कवि अरू पनि हुन सक्छन् तर महेन्द्र जस्तै संवेदनशील व्यक्तित्व अरू मैले देखेको छैन ।
श्री ५ महेन्द्रवीरविक्रम शाहदेवको जन्म नारायणहिटी दरबारमा भएको थियो । त्यो दिन थियो १९२० को ११ जून । राजदरबारमा हर्ष र उल्लास थियो । पितात्रिभुवनवीरविक्रम शाहदेव र माता कान्तिराज्यलक्ष्मीदेवीको प्रसन्नताको पारावार थिएन । युवराज महेन्द्र राजकीय परिवेशमा हुर्कन थाले । विज्ञ राजगुरुहरूले उनको अघि पूर्व र पश्चिमका ज्ञान र विज्ञानका ढुकुटी खोलिदिए । उनी नेपाली, अङ्ग्रेजी, संस्कृति साहित्यको संसारमा रम्न थाले । अङ्ग्रेजी र नेपाली कविका कविता कानमा आनन्द विभोर भएर विचरण गर्न थाले । सङ्गीतमा पनि दक्षता हासिल गरे । घोडा चढ्न शिकार खेल्नुमा पनि उत्तिकै निपुणता प्राप्त गरे अर्थात् उनले सम्पूर्ण राजोचित कला र कौशल आर्जन गरे ।
बीस वर्षको उमेरमा उनले बिहे गरे । युवराज्ञी इन्द्रराज्यलक्ष्मीदेवी थिइन् अति सुन्दरी, अति रमणीय, सरस्वती जस्ती सौम्य मूर्ति । युवराज महेन्द्रले वैवाहिक प्रेमको परमानन्द उपभोग गरे । उनको प्रेम अविच्छिन्न थियो, अटल थियो:
मन मन्दिरकी रानी
अब छमछम गर्दै आऊ
म स्वागत गर्छ तिम्रो !
तर विधिको विडम्बना विचित्र छ । उनकी परीजस्ती अति सुन्दरी युवराज्ञी इन्द्र मरिन् । महेन्द्रमाथि यो वज्रपात थियो, कुठाराघात थियो । अनि उनले आँसुले कविता लेखे-
तिमी ज्यान हौ यो जीउको
तिमी प्राण जिन्दगीको ।
पछि महेन्द्रले युवराज्ञी इन्द्रकी बहिनी रत्नराज्यलक्ष्मी शाहलाई बिहे गरे । कविका आँखामा उनी मात्र सान्त्वनाकी मूर्ति हुन सक्थिन् ।
रानी रत्न पनि युवराज्ञी इन्द्रजस्तै परम सुन्दरी थिइन् । उनी साँच्चै सौन्दर्यकी साम्राज्ञी थिइन् । कृष्णमूर्ति लेख्छन्- ‘महारानी रत्नराज्यलक्ष्मी आर्य नारीत्वको प्रतीकस्वरूप पुष्प हुन् । पूर्वका मुलुकहरूमा उनी सबभन्दा सुन्दरी महारानी हुन् । उनको रूपरङ्ग जतिको सौम्य छ, हृदय पनि उत्तिकै पवित्र छ ।‘ उनी राजा महेन्द्रकी अर्धाङ्गिनी थिइन्, सुखदुःखको सङ्गिनी थिइन्, सर्वस्व थिइन् । राजा सुन थिए, उनी सुगन्ध थिइन् । मलाई लाग्छ राजा महेन्द्रले ‘उसैको लागि‘युवराज्ञी इन्द्रलाई समर्पित गरेका हुन् भने ‘फेरि उसैको लागि‘ उनले रत्नलाई अर्पित गरेका हुन् ।
सन् १९५६ मा राजा महेन्द्रको राज्याभिषेक समारोह सम्पन्न भयो । नेपालीहरूको निम्ति अति प्यारो, अति श्रद्धाको विषय केही छ भने त्यो हो राज्याभिषेक । कुनाकुनाबाट नेपालीहरू राजधानीमा ओइरिन थाले । विश्वका पन्ध्र मित्रराष्ट्रहरूका प्रतिष्ठित प्रतिनिधिहरू काठमाडौँमा आए । त्यस विशिष्ट मण्डलीलाई प्रज्वलित पार्ने भारतका डाक्टर राधाकृष्णन् थिए जो स्वयम् एक विशाल व्यक्तित्व हुन्, एक विज्ञ विद्वान् पनि । राजा महेन्द्रको राज्याभिषेक त्यस वर्षो सबभन्दा चर्चित अन्तर्राष्ट्रिय घटना थियो ।
अब राष्ट्रपिता त्रिभुवनको सपना साकार पार्न राजा महेन्द्र अघि बढे । १९६० मा उनले आम चुनाउ गराए । अठार महिनासम्म उनले सरकार चलेको हेरे,नेताहरूको चहलपहल देखे अनि जनताको आचरण पनि बुझे । प्रजातन्त्रको किल्ला तब सुरक्षित हुन्छ जब जनताले डर फाल्छन्, कर्तव्यको पालन गर्छन् र साहस प्रदर्शन गर्छन् ।
तिम्रै हो लेऊ नागरिक हक, काँधमा काँधै गरी
सत्यता तिम्रो छ हतियार, डर नलेऊ क्यै कति !
अनि राजा महेन्द्रको निम्ति सत्य नै धर्म थियो । सेनेका भन्छन्- ‘राजाले डर मान्नु हुँदैन ।”
अभयं अभित्राद अभयं मित्राद !
एकान्तमा बसेर महेन्द्रले सोचे होलान् देशमा अझै पनि प्रजातान्त्रिक मिजास आएको छैन । फेरि उनले जनताका खलबल सुने होलान् । पिताको आज्ञा थियो:
जन आवाज सुनी सबै कामकाज गर्ने गर्नू ।
राजा महेन्द्रले सरकार र संसद् भङ्ग गरे । १९६० को १५ डिसेम्बरमा नेपालको राजनैतिक मैदानमा महेन्द्रको एक्लो अधिपत्य थियो ।
वयं राष्ट्रे जागृयाम पुरोहित !
राजा महेन्द्रले आफ्ना नातागोता, भाइभारदार लिएर एकछत्र शासन गर्न सक्थे । तर उनले त्यसो गरेनन् । उनले फेरि जनताकै हातमा शक्ति सुम्पे । जनतामाथि उनको कत्रो विश्वास थियो ! तुरुन्तै उनले देशवासीहरूलाई पञ्चायती प्रजातन्त्र प्रदान गरे । यो विश्वमै एउटा नौलो वस्तु थियो, एक अभूतपूर्व घटना थियो । राजा महेन्द्र विश्वभरि नै सबभन्दा चर्चित व्यक्ति भए ।
पञ्चायती प्रजातन्त्रको मूलमन्त्र हो शक्तिको विकेन्द्रीकरण अर्थात् जनताकेा हातमा शक्तिको प्रसारण । यही एकछत्र शक्तिको परित्यागमा राजा महेन्द्रको कत्रो महानता टल्केको थियो । उनको नीयतको सच्चाइ र उद्देश्यको विशुद्धता देखेर नेपालीहरूका शिर श्रद्धामा झुकेका थिए ।
देशमा समस्याहरू अन्तहीन थिए । गरिबहरूको हाहाकार र चीत्कार थियो, भूमिहिनहरूको सुँक्कसुक्क र सुस्केरा थियो, हुने र नहुनेमा आकाश, पातालको अन्तर थियो, रजौटाहरूको अत्याचार र मनमानी थियो, शिक्षाको क्षेत्र त्यस्तै अलपत्र थियो, यातायातको सुविधा थिएन, कला, साहित्य र सङ्गीत टाक्सिन लागेका थिए ।
राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को गठन गरे । मुलुकी ऐन र भूमिसुधार ऐन जारी गरे । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयको स्थापना गरे । रजौटाहरूको बिर्ताको उन्मूलन गरे । पूर्व पश्चिम राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजपथ तथा अरू राजमार्गहरूको निर्माण गरे । प्रशासनमा सुधार ल्याउन लोक सेवा आयोगको गठन गरे । यति मात्र होइन उनले भित्र र बाहिरका नेपाली प्रतिभाहरूलाई प्रोत्साहन दिए, उनीहरूलाई अनुकूल पद प्रदान गरेर आभूषित गरे ।
राजा महेन्द्रको निम्ति कोही प्यारो थियो भने त्यो थियो नेपाली । उनी थिए जनता जनार्दनका राजा । उनले आफ्नो चलन र व्यवहारले राजा र प्रजातको पर्खाललाई तोडे;
म हुँ तिमी, तिमी मै हो
नजानूँ भन्न तँ र म !
शेक्सपियरको शब्दमा उनी प्रत्येक इन्च नै राजा थिए ।
राजा महेन्द्रको प्रथम प्रेम थियो बालक, बालिका । एकपल्ट उनी एउटा स्कुलमा गए र एउटी सानी सुन्दरी बालिकालाई सोधे ‘भन त तिमीहरूलाई अमेरिकीहरूले के दिए –‘ बालिकाका आँखा चमचम गरी चम्के अनि मृदु स्वरमा भनी- ‘उनीहरूले हामीलाई सुन्दर सुन्दर गाडीहरू दिए । उनीहरू हाम्रा मित्र हुन् ।‘ फेरि राजाले सोधे- ‘अङ्ग्रेजहरूले नि –‘ बालिकाले झट्ट भनी- ‘अहो ! उनीहरूका त हाम्री जस्तै अति सुन्दरी महारानी छन् ।‘ बालिकाको सुन्दर केशराशि मुसार्दै राजाले फेरि सोधे-‘अनि भारतीयहरूले नि –‘ मधुर कम्पित स्वरमा बालिकाले भनी- ‘अहो ! उनीहरूले त हामीले जस्तै श्री पशुपतिनाथलाई पुज्दा रहेछन् । उनीहरू हाम्रा दाइ हुन् !‘
महेन्द्रले आफूलाई श्री पशुपतिनाथको चरणारविन्दमा समर्पित गरेका थिए । उनी भन्छन् प्रभुलाई चढाउने उनीसित केही छैन केवल नेत्र-जल छ:
मनले धाएर आएँ प्रभु !
अब तिम्रै मन्दिर आएँ
खाली हातले शान्ति आस ली
धाई मन्दिर आएँ ।
अर्पणलाई जलपात्रसम्म नपाई
बहँदो मन गङ्गाजलसाथ,
दुई नेत्र भरीकन ल्याएँ ।
महेन्द्र हुन् जनताका संवेगशील, यौवनोत्फुल्ल, हिम्मती नेता ! अतिशय मानवीय, निर्भीक र देशका उद्धारक । सङ्कटका घडीहरूमा बारम्बार उनले आफ्नो अतुल्य राजनैतिक चातुर्यको प्रदर्शन गरेका छन् । उनको यही ऐतिहासिक भूमिकालाई चाँदनी शाहका निम्नोद्धृत पङ्क्तिहरूले अति सुन्दर ढङ्गमा सङ्केत र रेखाङ्कित गर्दछन्:
तिमी चुक्थ्यौ त रुनेथ्यो इतिहास
वीर नेपालीका गाथा र भाकाका
तिमी झुक्थ्यौ त के हुन्थ्यो होला
यहाँ स्थिति नेपालका डाँडा र पाखाको !
१९७२ को ३१ जनवरी नेपालीहरूका निम्ति दुर्भाग्यको दिन थियो किनभने त्यही दिन महेन्द्रले इहलीला समाप्त गरे । मेचीदेखि महाकालीसम्म शोकको लहर फैलियो । त्यहाँबाट फैलिएर विश्वभरि फिजियो ।
महेन्द्र गए तर उनी प्रत्येक नेपालीका घटघटमा विराजमान छन् । उनी चिरञ्जीवी छन् ।
:::
(स्वर्गीय राजनारायण प्रधान दार्जिलिङ स्थित सेन्ट जोसेफ कलेजका प्राध्यापक हुनुहुन्थ्यो)
:::
• साभार: पैंतीस प्रसिद्ध पुरुष (२०४५)