Aamsanchar

युवतीलाई प्रहरीले अपहरण गरी बेपत्ता पारे

Author Image
शुक्रवार, असोज १४, २०७३

राजविराज  ।

सर्वसाधारण जनताको सुरक्षा गर्ने प्रहरीले नै अपहरण शैलीमा घरबाट लगेर एक महिलालाई बेपत्ता बनाएको भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीका प्रहरी निरीक्षक सूर्यनारायण यादवले प्रहरी आचरण र नीतिविपरीत यस्तो काम गरेको पत्ता लागेको छ ।

प्रहरी निरीक्षक यादव, प्रहरी नायब निरीक्षक जयप्रकाश साहसहितको टोलीले गरेको यो अनौठो कामविरुद्ध उजुरी परेपछि मात्रै यो घटना सार्वजनिक भएको हो।

सप्तरीको इनरुवा फुलवडिया ९ का एर्शाद हुसेनसँग अन्तरजातीय विवाह र अदालतबाट नाताकायम गरी बसेकी सिमरन मण्डल खत्वेलाई गत भदौ ३१ गते पुरुष प्रहरीहरुले दुईतिर समाई मोटरसाइकलको बीचमा राखेर जबरजस्ती लगेको उनका ससुरा जियाउल हकले बताए ।

प्रहरी कार्यालयमा उजुरीसहित धाउँदा पनि सिमरनबारे कुनै जानकारी नपाएपछि हकले जिल्ला, अञ्चल र क्षेत्रीय प्रहरी कार्यालय तथा राष्ट्रिय मानवअधिकार आयोग, जनकपुरमा निवेदन दिएका छन् । उनले उच्च अदालतको राजविराज इजलाशमा गत असोज ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दिएपनि हालसम्म सिमरनलाई उपस्थित नगराइएको गुनासो गरे ।

लहानमा सँगै पढिरहेका एर्शाद र सिमरनकाबीच प्रेमसम्बन्ध भयो । प्रेमविवाह गरेका उनीहरुलाई पटक–पटक छुट्याउने प्रयास भयो। कल्याणपुर प्रहरीले भदौ १ देखि ६ गतेसम्म दुबैलाई बिना पुर्जी थुनामा राख्यो ।

एर्शादका अभिभावकलाई ‘अपहरण तथा बलात्कार मुद्दामा एर्शादलाई ११ वर्ष कैद हुने’ धम्की दिएपछि डराएर उनीहरुले प्रहरीको मागबमोजिम भदौ ६ गते दुई लाख पाँच हजार दिएर एर्शादलाई छुटाएर घर लगेको एर्शादका हजुरबुवा मो. इमामुद्धिनले बताए । उता सिमरनलाई उनका काका शोभित मण्डलको जिम्मा लगाइयो ।

जतिपटक भागेपनि र मन्दिरमा विवाह गरेपनि सम्भव नभएपछि उनीहरुले सल्लाहबमोजिम सप्तरी जिल्ला अदालतबाट भदौ २७ गते नाताकायम गराए । नाताकायम पछि उनीहरु ढुक्कले घरमा बस्न थालेका थिए ।

तर, भदौ ३१ गते प्रहरी निरीक्षक यादवसहितको चार जना पुरुष प्रहरीको टोलीले अदालतको नाताकायमलाई वेवास्ता गर्दै सिमरनलाई जबरजस्ती उठाएर लगे । ‘हामी एक अर्कासँग प्रेम गर्छौ, एकअर्का बिना बाँच्न सक्दैनाँै, अदालतबाट नाताकायम पनि गरेका छौं’ भनेर दुवैले प्रहरीसमक्ष जिद्दी गरिरहे । तर, प्रहरीले सिमरनलाई कल्याणपुरको एक एम्बुलेन्समा राखेर माइत पु¥यायो । प्रहरी निरीक्षक यादवले भने इलाका प्रहरी कार्यालय लहानले घरबाट बेपत्ता सिमरनलाई जिम्मा लगाउन पठाएको र पत्रअनुसार जिम्मा लगाएको बताएका छन् ।

पूर्वमन्त्री राजलाल यादवको प्रतिबद्धतामा दुबै पक्ष बसेर सिमरन र एर्शादलाई सामुन्ने राखेर छलफल गराउने र सिमरन राजी भएमा दुई लाख पाँच हजारसहित सिमरनलाई एर्शादको जिम्मा लगाउने सहमति पनि भएको थियो । यसरी सहमति र अदालतको आदेश समेत कार्यान्वयन नहुँदा एर्शाद परिवार निराश भएका छन् ।

प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले प्रहरी निरीक्षक यादव र प्रहरी नायव निरीक्षक साहसँग स्पष्टिकरण सोध्नुका साथै छानविन समिति नै गठन गरी कारवाही प्रकृया अगाडि बढाएको बताए ।अन्नपूर्ण

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर