[लक्ष्मण ढकाल]
सन्दर्भ ः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
मानिस जन्मेदेखि हुर्किदै–बढ्दै र बढ्नेक्रम रोकिएर स्थिर हुँदै घट्दोक्रममा जाने प्राकृतिक अवस्था अनुसार शिशु, बाल्य, किशोर, युवा, प्रौढ र वृद्ध अवस्थामा रुपान्तरित हुन्छ । यस चक्र अनुसारको पछिल्लो चरण ज्यादै चुनौतिपूर्ण बनिंदै गएको सन्दर्भलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले वृद्धावस्थाका व्यक्तिहरुलाई संरक्षण र सुरक्षा प्रदान गर्ने उद्देश्यले ज्येष्ठ नागरिक दिवसका रुपमा सम्मान तथा सुरक्षा प्रदान गर्ने नीति अघि सारेको छ । यसै अनुसार अक्टोवर १ तारिख विश्वभर ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइन थालेको छ ।
सामाजिक सुरक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको सर्वमान्य र अनिवार्य अधिकार हो । अहिले विश्वमा प्राणीहरुको अधिकारको सुनिश्चितताको बहस चलिरहेको सन्दर्भले पनि राज्यको कानूनद्वारा निष्कृय उमेर समूह मानिएका वृद्धवृद्धाहरुको सुरक्षामा राज्यको चासो र चिन्तालाई बढाएको छ । उमेरले कुनै पनि मानिस ५९ वर्षसम्म सक्रिय रहन्छ र ६० वर्ष पूरा गर्दा वृद्ध अवस्थामा प्रवेश गर्छ यो प्राकृतिक नियम हो ।
हाम्रो देशको प्रचलित कानून अनुसार पनि निजामति, शिक्षण, न्यायसेवा प्रदान गर्ने उमेर हक तोकिएको छ । तदनुसारको उमेरसँगै सेवा निवृत्त हुने कानूनी व्यवस्था अनुसार व्यक्ति सक्रिय रहँदारहँदै निष्कृय बन्न पुग्छ । जीव विज्ञानको सिद्धान्तले पनि ६० वर्षपछि व्यक्तिको शारीरिक अवस्थामा क्रमशः शिथिलता उत्पन्न गराउँछ । यद्यपि साठी वर्ष पूरा गरेका सबैको क्षमता समान हुँदैन तथापि विश्वव्यापी मान्यता अनुसार उनीहरु राज्यद्वारा संरक्षित हुनुपर्दछ ।
सन् १९९५ मा पहिलो पटक संयुक्त राष्ट्र संघको आह्वान अनुसार ज्येष्ठ नागरिक, एकल महिलाहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न थालियो । त्यसपछिका वर्षहरुमा यस्तो सुरक्षा प्राप्त गर्नेहरुमा दलित, लोपोन्मुख सीमान्तकृत हुँदै सुविधा बिस्तार गर्दै लगियो । नेपालको पछिल्लो जनगणना २०६८ अनुसार ८.१३ प्रशित ज्येष्ठ नागरिक रहेकोमा आधुनिक सेवा सुविधा बिस्तार तथा पहुँचका कारण हाल ६० वर्षभन्दा माथिको उमेर समूहका तीस लाख मानिस रहेको अनुमान गरिएको छ ।
त्यसो त राज्यले हाल पाँच वटा विकास क्षेत्रका पाँचवटा अस्पतालबाट ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सेवा प्रदान गर्न छुट्टै वार्डको व्यवस्था गरेको छ । सुरक्षा भत्ता पनि क्रमशः वृद्धि गर्दै लगेको छ । तर, हामीकहाँ पछिल्लो समयमा विकास भएको एकल परिवारको ढाँचाले ज्येष्ठ नागरिकको सुरक्षामा चुनौति थपिएको छ । ‘सानो परिवार सुखी परिवार’ भन्ने नाराले एकातिर परिवारको आकार घटाएको छ भने अर्कातिर वृद्धावस्थाका ज्येष्ठ नागरिकहरुले भएका सन्तानबाट असुरक्षा, अवहेलना र अपमान सहन बाध्य हुनुपरेको तथ्यांकले समस्या अझ विकराल हुने संकेत देखाएको छ ।
अहिले पूर्वीय समाजको विशिष्ट पहिचान भएको बृहत् र संयुक्त परिवारको अवशेष पनि बाँकी छैन । एउटा मात्र सन्तानको भरमा आफ्नो बढ्यौली बिताउनुपर्ने बाध्यता एकल परिवारको ढाँचाले खडा गरेको सबैभन्दा जटिल परिस्थितिले ज्येष्ठ नागरिक स्वयम् असुरक्षित महसुस गर्दैछन् । अझ शहर बजारतिर सार्वजनिक भएका ज्येष्ठ नागरिकहरु आफ्नै सन्तानबाट बहिष्कृत हुनुपरेको तथ्यहरुले ग्रामीण क्षेत्रलाई नछोला भन्न सक्ने अवस्था छैन । शहरी क्षेत्रका ज्येष्ठ नागरिकहरु राज्यद्वारा प्रदत्त अधिकारप्रति सचेत हुँदाहुँदै पनि परिवारबाट तिरस्कृत हुँदैछन भने ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक ती सेवासुविधा र अधिकारप्रति अनभिज्ञ छन् ।
आधुनिक प्रविधिले आम मानिसको स्वास्थ्य सेवाको सुविधा र पहुँच बढाइरहेको कारण अहिले विश्वभर ज्येष्ठ नागरिकहरुको संख्यामा पनि वृद्धी भइरहेको छ । पन्ध्रवर्ष मुनिका बालबालिकाभन्दा ज्येष्ठ नागरिकहरुको जनसंख्या बढ्नेक्रममा छ । राष्ट्र संघीय मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रमा सबै वर्ग, उमेर लिङ्गका मानिसहरुको मानव अधिकार सुनिश्चित गरिएको छ । तर, ज्येष्ठ नागरिहरुप्रति गरिने विभेदको मात्रा बढ्दै गएको छ ।
ज्येष्ठ नागरिक भएकै कारण उनीहरुलाई आफ्ना अधिकारको उपयोग गर्न व्यक्ति, परिवार, समाज वा संस्थाले रोक लगाउनु मानव अधिकारको उल्लंघन नै हो । तर, संयुक्त राष्ट्र संघ स्वयम्ले समाजका अन्य वर्ग वा समूहको अधिकार सुनिश्चित गर्न अभिसन्धीहरु प्रतिबद्धतासहित लागू गरेको भएपनि ज्येष्ठ नागरिकहरुको हकमा त्यस्तो गरिएको छैन । जसका कारण ज्येष्ठ नागरिकहरुले अझै पनि अपमानको जीवन बाच्न बाध्य हुनुपरेको छ ।
वृद्धावस्था स्वयम्का लागि चिन्ताको विषय बन्ने गरेको छ । हुर्किएका सन्तान आफूसँग नबस्ने परिपाटीले यस्तो चिन्ता अझ बढाइदिएको छ भने परिवारका सदस्यहरुको आफूप्रतिको व्यवहार, पेशा व्यवसायमा भएको हानी, मानमर्दनका घटना आदिले ज्येष्ठ नागरिक नचाहेर पनि चिन्तित हुन्छन् । त्यस्तै उमेरको वृद्धिसँगै वृद्धि हुने चिन्ता गर्ने बानी, शंका गर्ने, डराउने वा निर्णय लिन नसक्ने अवस्था आदिले चिन्ता अरु बढाउने गर्छ । ‘चिन्ताले चितामा पु¥याउँछ’ भन्ने भनाइ सरह ज्येष्ठ नागरिकहरु आफूप्रतिको दुव्र्यवहार, दुर्बलता र लाचारीपनबाट कल्पनातीत निर्णय लिन पुगेका पनि छन् ।
आज विश्वका विकसित हुन् वा विकासशील देश ज्येष्ठ नागरिकहरुको जनसंख्या बढ्दोक्रममा छ । सन् २०१५ मा विश्वमा कूल जनसंख्याको १३ प्रतिशत रहेका ज्येष्ठ नागरिकहरु अबको तीन दशकपछि २२ प्रतिशतमा पुग्दैछन् । ज्ञान, अनुभव र परिपक्व ज्येष्ठ नागरिकहरुको ज्ञान, अनुभव र सिपलाई नयाँ पुस्ताले ग्रहण गर्न सके यो विश्वकै लागि फलदायी हुनेछ ।
विकसित मुलुकहरुको घट्दो जन्मदर र बढ्दो आयुका कारण ज्येष्ठ नागरिकहरुको संख्या बढ्दै जान थालेको सन्दर्भ नेपालका लागिसमेत चुनौति बनिनेछ । आफ्नै सन्तानबाट दुव्र्यवहार र तिरस्कार भोग्नुपर्दा ज्येष्ठ नागरिकहरुको मनमा उत्पन्न निराशा, खिन्नता, मानसिक तथा शारीरिक एवम् भौतिक पीडाले ‘जिवित देवता’ मानिने ज्येष्ठ नागरिकहरुले बेबारिसे भएर बाच्नुपर्ने दिन आयो भने हाम्रो समाज र हाम्रो मौलिक पहिचान नामेट हुन बेर लाग्ने छैन । मातृदेवो भवः पितृ देवो भवः लाई मूलमन्त्र र आदर्श मान्ने हाम्रो समाज वृद्धावस्थाको कारण कमजोर, शिथिल र निष्कृय बन्दै गएका ज्येष्ठ नागरिहरुप्रति गम्भीर हुनुपर्छ ।
बदलिंदो परिवेश, पारिवारिक ढाँचा र आधुनिक जीवनशैलीले परम्परागत मान्यता एवम् पद्धतिमै आक्रमण भइरहेको यो समय हामीकहाँ राज्यले ज्येष्ठ नागरिकहरुको सुरक्षाका लागि पहल थालेको छ । यसका लागि कानूनतः ७० वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा प्रदान गर्दैछ । यसका लागि हामै्र कानून पनि बाधक बनिएको छ । कतिपय ज्येष्ठ नागरिकहरु अज्ञानता, असहज अवस्था र विपन्नताका कारण पनि नागरिकता प्राप्त गर्नबाट वञ्चित छन् । नागरिकता नभई सुरक्षा भत्ता प्राप्त नहुने कारणले सबै ज्येष्ठ नागरिकहरु राज्यले प्रदान गरेको सेवा लिनबाट वञ्चित छन् । यसतर्फ राज्यको ध्यान जान जरुरी छ । यतिबेला ज्येष्ठ नागरिकहरुको क्षेत्रमा काम गर्न विश्वमै अनेक सरकारी तथा गैरसरकारी संस्थाहरु क्रियाशील छन् । त्यसकै क्रमबद्धताका रुपमा हाम्रो देश र हाम्रा गाउँघरमा अनेक संस्थाहरु आफ्ना गतिविधिमार्फत शिक्षा, सचेतना र अधिकारप्रति ज्येष्ठ नागरिकहरुलाई सुसुचित गराउँदैछन् । यसैक्रममा आज झापाका विभिन्न नगरपालिका तथा गाउँविकास समितिहरुमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । वि.स. २०७० सालमा झापामा स्थापित ज्येष्ठ नागरिक जिल्ला संघ झापा अन्तरगत कन्काई नगरपालिकाका प्रत्येक वडाहरुमा वडा समिति गठन गरिएको छ । ती समितिहरुले आफ्ना क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरुलाई तीर्थाटन, सम्मान, स्वास्थ्य शिविर सञ्चालन, ज्येष्ठ नागरिक चौतारो निर्माण, सांस्कृतिक पहिचानका गीत, नृत्यहरुको संरक्षण तथा प्रबद्र्धन, लगायतका काम गर्दै आएको कन्काई नगरपालिका झापामा क्रियाशीलताका आधारमा अब्बल बन्दैछ ।
ज्येष्ठ नागरिक समाजका ऐना हुन् । उनीहरुसँग भएका ज्ञान, सिप अनुभवबाट सिकेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न उनीहरुलाई यथेष्ट सुरक्षा प्रदान गर्नुपर्छ । पछिल्लो र पहिलो पटक अन्तरिम संविधान २०६३ र ज्येष्ठ नागरिक ऐन २०६३ अनुसार ज्येष्ठ नागरिकहरुको हकअधिकारको सुनिश्चितताका लागि कानूनी व्यवस्था गरेको छ । जसअनुसार विशेष व्यवस्था गर्ने, सामाजिक सुरक्षा प्रदान गर्ने, भत्तालाई प्रभावकारी ढंगले सञ्चालन गर्ने, उनीहरुका मुद्दालाई प्राथमिकता दिने, स्वास्थ्य सेवामा पहुँच बढाउने, परिवारबाटै सुरक्षाको व्यवस्था गराउने आदि व्यवस्था गरेको छ । सो प्रावधानलाई नयाँ संविधानले अझ परिस्कृत गरेको छ ।
समाजका आँखा सरहका ज्येष्ठ नागरिकहरुलाई वृद्धावस्थामा हुनसक्ने शारीरिक, मानसिक समस्याहरुको उपचारमा स्वयम् परिवारका सदस्यहरुकै भूमिका रहनु पर्दछ । कुनै कारणले वृद्धाश्रममा लगिनु, पु¥याउनु उनीहरु माथि अपमान हुन जान्छ । तसर्थ वैदेशिक रोजगारीको प्रचलित व्यवस्थालाई रोकेर, स्वदेशमा रोजगारीका अवसरहरु जुटाउन राज्यले विशेष कदम चाल्नुपर्छ । त्यसो भए ज्येष्ठ नागरिकहरुले सन्तानसँग वियोग हुनुपर्दाको पीडा भोग्नुपर्ने छैन । यसले नयाँ पुस्तालाईसमेत सभ्यता, संस्कार। संस्कृति हस्तान्तरण गर्न सकिनेछ । र, हाम्रो मौलिक पहिचानकोसमेत रक्षा हुनेछ । २६औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले यसतर्फ सम्बद्ध निकाय, संस्था वा व्यक्तिको ध्यान आकृष्ट गरोस् ।