Aamsanchar

हिन्दू शास्त्रले बलिलाई स्थान दिएको छैन तर किन दिइदैछ बली ?

Author Image
आइतवार, असोज १६, २०७३

(नारायण ढुंगाना)

रत्ननगर (चितवन)।

भगवान्लाई खुसी पार्नसके मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वासमा चाडबाडका बेला विभिन्न देशमा बलिप्रथा (पशुबलि) दिने गरिन्छ ।

नेपालमा पनि महान चाड मानिने दसैँलगायत विभिन्न समयमा पशु बलि दिने चलन छ । तर यस्ता क्रियाकलापबिरुद्ध विरोधका स्वर पछिल्लो समयमा भने बढ्दो छ । रत्ननगरका धार्मिक गुरु तथा टिकौली मन्दिरका उत्तराधिकारी महन्त कृष्णप्रसाद शास्त्री केही धार्मिक गुरुको आडम्बर, अमानवीय स्वार्थ र अज्ञानताका कारण बलिप्रथा चलेको औँल्याउनुहुन्छ ।
हिन्दू शास्त्र सहिष्णु र आदर्शवादी धर्म हो । बलिप्रथाको सन्दर्र्भ जोड्दै शास्त्री चराचर प्राणीलाई अनाहकमा हानि पु¥याउनु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको बताउनुहुन्छ । हिन्दू शास्त्रले बलिलाई स्थान नदिएको उहाँको जिकिर छ । केही मानिस शक्ति प्राप्तिका लागि हिंसामा उद्यत भएको देखिन्छ । कुनै प्राणीलाई क्षति पु¥यायो भने बरु उल्टो श्राप लाग्ने तर कुनै पनि शक्ति र शान्ति प्राप्त नहुने तर्क उहाँको छ ।

विभिन्न शास्त्रले बलि दिनुलाई कुनै कुरा त्याग्नु या आहुति दिनु भन्ने अर्थमा उल्लेख गरेको तर निर्दोष प्राणीको बलि दिन नभनेको प्राध्यापक जगदीशचन्द्र शर्माको भनाइ छ । त्यसैले चाडपर्वको नाममा हुने बलि कुनै पनि हिसाबले स्वीकार्य नहुने बरु आफैँभित्र हुने कुरीति, कुसंस्कार तथा कुविचारलाई त्याग्ने अर्थमा प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ । आज आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस पनि हो ।

विश्वभर अशान्ति आतङ्क, हिंसाको क्रम बढ्दै गएको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले २००७ सालमा महात्मा गान्धीको जन्मजयन्ती पारेर आजका दिन विश्व अहिंसा दिवस मनाउन थालेको हो । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिवसको सन्दर्भलाई कोट्याउँदै चितवन भरतपुरका समाजसेवी केशव अधिकारी पनि काम, क्रोध लोभ, मोह तथा दम्भ जस्ता कुरालाई त्याग्नुपर्ने विषयलाई बलिप्रथासँग जोड्नुहुन्छ ।

ईश्वरलाई खुसी पार्न गरिने कुनै पनि बलि अमानवीय रहेको उहाँको तर्क छ । “सृष्टिका दृष्टिकोणले सबै ईश्वरका सन्तान हुन्, आफ्नै सन्तानको बलि दिएर म खुसी हुन्छु भनेर ईश्वरले कहिल्यै भन्लान् ?” अधिकारीको प्रतिप्रश्न छ । यस्ता कुप्रथा रोकिनुपर्छ ।”

चाडपर्वमा विभिन्न सार्वजनिकस्थलमा बलि दिने कार्य गलत भएकाले यस्तो कार्य रोक्न मागसहित चितवनमा ¥याली र प्रदर्शनसमेत भएको छ । जनस्वास्थ्य तथा पर्यावरणमा समेत बलिप्रथाले प्रतिकूल असर परेको अहिंसावादी अभियानका अभियन्ता जगदीशचन्द्र शर्माको जिकिर छ । बलिप्रथा, काटमार तथा हत्याहिंसाको विरुद्धमा अभियान चलाउँदै आएको श्रीकृष्ण प्रणामी युवा परिषद्, चितवनशाखाको अगुवाइमा आज अहिंसा दिवसको सन्दर्भमा हरेक कृष्णप्रणामी मन्दिरमा कार्यक्रम भइरहेको शर्मा बताउनुहुन्छ ।

देवीदेवताका मठ मन्दिर र पवित्र स्थानमा निरीह पशुको बलि दिनु सरासर पाशविक कर्म हुने महन्त शास्त्री बताउनुहुन्छ । मन्दिर जहाँ शान्त र स्थिर हुने पवित्र ठाउँ हो त्यहाँ रगत बगाएर कहिल्यै शान्ति नमिल्ने बरु शास्त्रले निरीह पशुलाई होइन मनुष्य भित्रका पशुकर्मको बलि दिनुपर्ने भनेको छ भन्नुहुन्छ उहाँ । स्वास्थ्यका लागि पनि सात्विक खानाको महत्व ठूलो छ । दूध, दही फलफूल तथा सात्विक खाना माछा, मासुभन्दा कयाँै गुणा पौष्टिकयुक्त भएको विज्ञानले समेत पुष्टि गरेको रत्ननगरका जगदीश शर्मा बताउनुहुन्छ ।

पशुपक्षी अधिकारको संरक्षण गर्ने विश्वव्यापी अभियानलाई नेपालमा पनि कार्यान्वयनतर्फ सबैको ध्यान जानुपर्नेमा श्रीकृष्ण प्रणामी युवा परिषद्ले जोड दिएको छ । अभियानकर्मी तिलकराज शर्मा प्राणीको काटमार गर्न रोक लगाउनुपर्ने, सार्वजनिकस्थलनजिक रहेका सम्पूर्ण बधशाला पूर्ण रुपमा बन्द गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर