Aamsanchar

नेपालको यातायात विकासमा जोड

Author Image
सोमवार, असोज १७, २०७३

काठमाडौँ।

bus

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले जापानको अति विकसित प्रविधि विकाससम्बन्धी ज्ञान तथा सीपलाई नेपालको यातायात क्षेत्रको पूर्वाधार विकासमा उपयोग गर्न सकेमा नेपालले लाभ हासिल गर्न सक्ने बताउनुभएको छ ।

नेपाल जेएसपिएस एल्मुनाई एसोसिएसन तथा विज्ञान प्रवद्र्धनका लागि जापान समाजद्वारा आज संयुक्त रुपमा आयोजित ‘नेपालको यातायात क्षेत्रमा पूर्वाधारको विकास’ विषयक बृहत् कार्यशाला गोष्ठीको उद्घाटन गर्दै डा भट्टराईले सो विचार व्यक्त गर्नुभएको हो ।

यातायात क्षेत्र व्यवस्थापन गर्न नसक्दा दिनदिनै सवारी दुर्घटना बढ्दै गएको चर्चा गर्दै डा भट्टराईले जापानमा जस्तै नेपालमा पनि सडकको सुधार गरी बुलेट रेल सेवाको विकास गर्न जापानले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

जापान अन्तर्राष्ट्रिय नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि जुन साकुमाले नेपालको यातायात क्षेत्रको विकासका लागि जापानले लामो समयदेखि सहयोग गर्दै आएको चर्चा गर्दै जापानको सहयोगमा निर्मित सिन्धुली–बर्दिवास सडक पूरा भए पनि अझै प्राविधिकसहित अन्य सहयोग र समर्थन गर्दै आएको बताउनुभयो ।

जापानको अन्तर्राष्ट्रिय मामिलासम्बन्धी सल्लाहकार हिसासी काटोले सन् १९३२ मा स्थापित विज्ञान प्रवद्र्धनका लागि जापान समाजले विश्वका १६ मुलुकमा उच्चस्तरीय वैज्ञानिक अनुसन्धानका लागि सहयोग गरिरहेको चर्चा गर्नुभयो ।

जापानको कागावा विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायका उपडीन डा सुइची हासेगावाले बहुसंस्कृति र बहुजाति भएको नेपालमा प्रचुर स्रोत रहेको र त्यसलाई उपयोग गर्ने काममा जापानको विज्ञान र प्रविधि उपयोगी हुने विचार प्रकट गर्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले राणाकालमा नेपालमा रेल्वे सेवाको पूर्वाधार विकास गर्ने अवधारणाको विकास भए पनि हालसम्म नेपालमा रेल्वे क्षेत्रको विकास नभएको बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सचिव डा बुद्धिरत्न खड्गीले मुलुकको यातायात क्षेत्रमा सुधार नभएसम्म आर्थिक विकास असम्भव रहेको चर्चा गर्नुभयो ।

नेपालस्थित जापानी राजदूतावासका प्रथम सचिव कियोहिको हामादाले जापानमा बसेर ज्ञान हासिल गरेका नेपाली अनुसन्धानकर्मीलाई आफूले प्राप्त गरेको विज्ञता नेपालको विकासमा उपयोग गर्न सल्लाह दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर