Aamsanchar

आज बडा दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

Author Image
मङ्गलवार, असोज १८, २०७३

बडा दसैँमा पहिलो दिन शनिवार घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरेको स्थानमा दुर्गा देवीका तीनवटा रुपहरु महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आजा गरि मनाइन्छ ।यस पर्वमा आश्विन शुक्ल पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यि नौवटा दुर्गाका रुपलाई नै नवदुर्गा पनि भन्ने गरिन्छ ।

kusmanda

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतिकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ ।यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् ।

देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

दुर्गाको प्रतीकका रुपमा प्रतिप्रदाका दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई बर्ष .माथिका हुनुपर्ने शास्त्रीय विधान रहेको छ ।

बडादसैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दसैं घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्ने गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर