Aamsanchar

मसुको मूल्य बढ्यो , उपभोक्ता मारमा

Author Image
बुधवार, असोज १९, २०७३

बिर्तामोड ।

Fresh-house-1

दशैंको मुखैमा आएर मासु व्यवसायीले मासुको मूल्य बढाएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा दशैंको मुखमा उपभोग्य वस्तुको मूल्य नबढाउने सहमति भए पनि झापाका मासु व्यवसायीले एकाएक मासुको मूल्य बढाएका हुन् ।
व्यवसायीले एकैपटक खसीको मासुको मूल्यमा एक सय रुपैयाँ वृद्धि गरेका छन् । यसअघि खसीको मासुको मूल्य प्रतिकेजी ६ सय रुपैयाँ थियो अहिले एक सय रुपैयाँ वृद्धि गर्दै मासुको ७ सय बनाएका छन् ।
झापा जिल्ला मासु व्यवसायी संघ झापाका सदस्य गोविन्द तिमसिनाले संघको बैठक बिना नै फोनको भरमा मासुको मूल्य बढाएको बताएका छन् । उनले दमकमा एक वर्ष अघिबाटै मासुको मूल्य बढेको र बिर्तामोडमा पनि मूल्य बढाउनु परेको बताए ।

बिर्तामोडस्थित कृषिथोक बजारमा मासु व्यवसाय सञ्चालन गरेका उनले भने– ‘बिर्तामोडसँगै धुलाबारी, चारआली, काँकरभिट्टा र बिर्ता बजारमा समेत मासुको मूल्य ७ सय रुपैयाँ कामय गरिएको छ ।’
व्यवसायीले आफूखुशी खसीको मासुको मूल्य बढाएपछि उपभोक्ता भने मारमा परेका छन् । दशैंको मुखमा यसरी एकाएक खसीको मासुको मूल्य बढाइनुले आफूहरु समस्यामा परेको उपभोक्ताको भनाइ छ ।

यता कुखुरा र माछाको भने मूल्य बढेको छैन, कुखुराको मासुको मूल्य घटेको छ भने माछाको भने यथावत नै रहेको छ । त्यस्तै बँगुरको मासुको मूल्यमा समेत वृद्धि भएको बताइएको छ ।
कुखुराको मासुको मूल्य अहिले २ सय ८० रुपैयाँ कायम छ भने यसअघि प्रतिकेजी ३ सय २० रुपैयाँमा कुखुुराको मासुको बिक्री–वितरण हुँदै आएको थियो ।

मासु व्यवसायी बद्री खानका अनुसार दुई महिना अघिबाट कुखुराको मासुको मूल्य घटेको हो । चाडपर्वको समयमा खसीको मासु बढी बिक्री हुने भएकाले कुखुराको मासुको मूल्य अझै घट्ने सम्भावना रहेको बताउँछन् अर्का व्यवसायी देव ढुंगाना उनी भन्छन् – ‘दशैंमा अधिकांशले खसीको मासु खाने गरेकाले कुखुराको मासुको मूल्य घट्छ ।’

त्यस्तै माछाको मूल्य पनि बढेको छैन । माछाको मूल्य अहिले प्रतिकेजी २ सय ४० देखि २ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । सिजन अफ छ, यो बेला खासै माछा बिक्दैन । नेपाल माछा व्यापार श्रमिक संघ झापाका अध्यक्ष छेदी सहनी भन्छन्– ‘दशैंको बेला त माछा अत्यन्त न्यून मात्रामा बिक्ने गरेको छ ।’

यता राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बाले जिल्ला प्रशासनले चाडवार्डको समयमा कुनैपनि वस्तुको मूल्य नबढाउन आग्रह गर्दै सूचाना जारी गरेपनि अटेर गर्दै मासुको मूल्य बढाइएकाले पहिलो पटक व्यवसायीलाई सम्झाउने र नमाने कालो बजारी ऐन अन्र्तगत कारवाही अघि बढाउने बताए । उनले व्यवसायीलाई छलफलमा राख्न नगरअधिकृतलाई भनिसकेको र  बैठक बसी मूल्य घटाउने विषयमा पहल गर्ने बताए । मासुको मूल्य बढ्दा उपभोक्ता मारमा परेको सुब्बाको भनाई छ ।

त्यस्तै उपभोक्ता हक हित संरक्षण मञ्च झापाकी अध्यक्ष मञ्जु पोख्रेल किसान र उपभोक्तालाई मार नपर्ने गरी मासुको मूल्य निर्धारण गर्नु पर्ने बताउछिन् । उनी भन्छिन्–किसानलाई खसी किन्दा कम मूल्य दिएर मुल्य बढाएर मासुको विक्री भए असर गर्छ तर किसानसंग खसी खरिद गर्दा नै बढी मूल्य दिएको भए एक दुई रुपैयाँ मूल्य बढ्दैमा खासै असर गर्दैन ।

यता सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वजार अनुगमन समितका संयोजक डम्मरु निरौलाले जिल्लाका ८ वटै नगरपालिकाका कार्यकारी अधिकृतलाई यस विषयमा निगरानी राख्न आग्रह गरिसकिएको र यदि त्यस्तो पाइए कारवाही अघि बढाउन समेत उहाँहरुलाई निर्देशन भइसकेको छ भने । बिर्तामोडको हकमा उजुरी नै परिसकेकाले नगरअधिकृतलाई त्यस विषयमा वुझ्न भनिएको छ सहायक प्रमुख जिल्ला अधिकारी निरैलाले भने ।

झापामा १४ अरब ६७ करोडको माछा मासु बिक्यो

झापामा एक वर्षमा १४ अरब ६७ करोड ५२ लाख ४६ हजार ६६ रुपैयाँको माछामासुको कारोबार भएको छ ।
बिर्तामोडस्थित कृषि उपज थोक बजार सञ्चालक समितिका तथ्यांक सहायक मायादेवी राजवंशीका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा उक्त मूल्य बराबरको माछामासुको कारोबार भएको हो । १ हजार ८ सय ३५ मेट्रिक टन जिल्लामा खपत भएको राजवंशीको भनाई छ ।
माछामासु झापासहित भारतबाट समेत आयात भएको बताइएको छ । २० अरब ९५ करोड ७४ लाख ३ सय ९९ रुपैयाँको तरकारीको कारोबार एक वर्षभित्र भएको छ भने साढे ५ अबरको मात्र माछामासुको कारोबार भएको राजवंशी बताउँछिन् । उनी भन्छिन्– ‘तरकारीको हाराहारीमै माछामासु बिक्री हुँदोरहेछ ।’ माछामासु स्थानीय ठाउँमा खपत हुन्छ भने तरकारी विभिन्न ठाउँमा निर्यात भएर जाने गरेको छ ।

मासुको वेचविखन अव्यवस्थित
राजमार्गसँग जोडिएको झापाका अधिकांश चोकबजारहरुमा अव्यवस्थित रुपमा माछा मासुको बेचविखन भइरहेको छ । जसका कारण वातावरण समेत प्रदुषण भइरहेको सरोकारवालाले बताएका छन् । चाडबार्ड नजिकिएसँगै राजमार्ग र सडक छेउमै अब्यवस्थित मासुको अत्याधिक किनबेच हुन थालेपछि दुर्गन्ध फैलिएको छ ।
भारतबाट आयात गरिएको कुखुरा, माछा र अन्य मासुजन्य वस्तुहरूमा नेपालमा कडाई नगरिदा महामारीको रुप फैलने र वर्डफ्लू, स्वाइन फ्लूको संक्रमण हुन सक्ने नागरिक समाजका अगुवाले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर