झापा,
झापामा एक वर्षमा १४ अर्ब ६७ करोड ५२ लाख ४६ हजार ६६ रुपैयाँको माछामासुको कारोबार भएको छ । बिर्तामोडस्थित कृषि उपज थोक बजार सञ्चालक समितिकी तथ्यांक सहायक मायादेवी राजवंशीका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा झापामा उक्त मूल्य बराबरको माछामासुको कारोबार भएको हो । यसअवधिमा १ हजार ८ सय ३५ मेट्रिक टन जिल्लामा खपत भएको राजवंशीको भनाइ छ ।
माछामासु झापासहित भारतबाट समेत आयात भएको बताइएको छ । २० अर्ब ९५ करोड ७४ लाख ३ सय ९९ रुपैयाँको तरकारीको कारोबार एक वर्षभित्र भएको राजवंशी बताउँछिन् । उनी भन्छिन्– ‘तरकारीको हाराहारीमै माछामासु बिक्री हुँदोरहेछ ।’ माछामासु स्थानीय ठाउँमा खपत हुन्छ भने तरकारी विभिन्न ठाउँमा निर्यात भएर जाने गरेको छ ।
मासुको वेचविखन अव्यवस्थित
राजमार्गसँग जोडिएको झापाका अधिकांश चोकबजारहरुमा अव्यवस्थित रुपमा माछामासुको बेचविखन भइरहेको छ । जसका कारण वातावरण समेत प्रदुषित भइरहेको सरोकारवालाले बताएका छन् । चाडबाड नजिकिएसँगै राजमार्ग र सडक छेउमै अब्यवस्थित मासुको अत्यधिक किनबेच हुन थालेपछि दुर्गन्ध मात्र फैलिएको छैन, आवागमन गर्नेहरुका लागि असहज समेत भएको छ ।
भारतबाट आयात गरिएको कुखुरा, माछा र अन्य मासुजन्य वस्तुहरूमा नेपालमा कडाइ नगरिँदा महामारीको रुप फैलने र वर्डफ्लू, स्वाइन फ्लूको संक्रमण हुन सक्ने नागरिक समाजका अगुवाले बताएका छन् ।