बिर्तामोड।
मोटरसाइकल चोरीमा संलग्न सात जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
उनीहरुलाई झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न प्रहरीले भदौमा पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारी अनुसार धरौटी बुझाउन नसकेपछि सातै जना पुर्पक्षका लागि जेल चलान भएका हुन् ।
जेल चलान हुनेहरुमा चन्द्रगढी–८ निवासी अशोक राजवंशी, भारत दार्जीलिङका जीवन राजवंशी, साहिर मिया, दीपक राय, राम भारती, सहिदुल सेख र भीष्मराज राई रहेका छन् । जिल्ला अदालत झापाले ५ जनालाई प्रतिव्यक्ति ७ लाख ९३ हजारका दरले धरौटी माग गरेको थियो ।
यस्तै राईलाई एक लाख ८१ हजार ५ सय २० रुपैयाँ धरौटी माग भएपछि उक्त रकम बुझाउन नसक्दा पुर्पक्षका लागि जेल चलान भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
यसैबीच कृषि उपज थोक बजार बिर्तामोडबाट असार १५ गते चोरी भएको मोटरसाइकल प्रहरीले झापाको खुदुनावारी–१स्थित सिंहदेवी मावि परिसरबाट फेला पारी ल्याएको छ । वेवारिसे अवस्थामा रहेको उक्त मोटरसाइकल प्रहरीले मोटरसाइकल धनी खुदुनावारी–२का दुर्गाप्रसाद रिजाललाई हस्तान्तरण गरेको छ । उनको मोटरसाइकल नम्बर मे६प ७२८७ हो ।