पथरी ।
मोरङमा बसोबास गर्ने सन्थाल यतिबेला परम्परागत नृत्य दासाईको तयारीमा जुटेका छन् ।
नेपाल सन्थाल आदिवासी उत्थान सङ्घका सचिव बुद्धिलाल सोरेनका अनुसार नृत्य प्रदर्शनको तयारीका लागि उनीहरु सन्थाल भाषाका गीत गाउने, नाच्ने दैनिक अभ्यासमा व्यस्त छन । मोरङमा बसोबास गर्दै आएका सन्थाल आदिकालदेखि नै हिन्दूको चाड दसैँ र तिहारको बेला दासाई नृत्यमा रमाउने गर्छन् ।
यो समुदायले कलासंस्कृतिको जगेर्ना गर्न युवालाई यो जातिको नाच र संस्कृतिको विषयमा नाच्न–गाउन सिकाइरहेका छन् । मूर्ति बनाउने र मूर्ति पूजा नगर्ने यी सन्थाल दसैँको घटस्थापना सुरु भएदेखि घरमा थन्क्याएर राखिएका मादल, ढोल, झ्याम्टा आदि झिकेर अरूको घरघर गई चामल, चिउरा माग्दै नृत्य सुरु गर्दछन् ।
यसले सन्थाल नृत्य सुरु भएको सङ्केत गर्दछ । उनीहरूको यो नृत्य प्रचलन दसँैको मूल टीकाको दिनसम्म जारी रहन्छ । जब दसैंको एकादशी सुरु हुन्छ, त्यस दिनदेखि पूर्णिमासम्म भव्यरूपमा सामूहिक तवरले विभिन्न स्थानमा दसँै मेलामा उनीहरूले परम्परागत नृत्य पस्तुत गर्दछन् ।
सन्थाल अगुवा दसैँको बेलामा नाचिने नृत्य भएकाले नै यो नाचको नाम दासाई भएको बताउँछन् । तर दसैँ र दासाई नाच बीचको सम्बन्धका बारेमा कुनै जानकारी नभएको नेपाल सन्थाल आदिवासी उत्थान सङ्घका सचिव बुद्धिलाल सोरेनको भनाइ छ । दसैँ र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल युवाको दासाई नाच प्रमुख आकर्षण हुने गरेको छ ।
मोरङ राजघाटका स्थानीय गोरे हेमरनले दासाई नाचले सन्थाल जातिको जातीय एवम् सांस्कृतिक पहिचान जोगाइराखेको बताउनुहुन्छ । उहाँले भन्नुभयो–“दासाई नृत्यमा लगाउने पोसाकमा समेत एकरुपता ल्याउन सकेका छैनौँ ।” धिमाल, राजवंशी, ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने जाति मानिन्छ ।
सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाईजात्रे पहिरन, रङ्गीचङ्गी भावभङ्गीमा, रङ्गीन कमिज, पञ्ची, धोती जस्तो कपडा, शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिकरूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ । यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थाल हुन्छन् भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिला पनि उत्तिकै सक्रिय हुन्छन् ।
नृत्यको मध्य अवस्थामा महिलाले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने नाचिरहेका सन्थाल आफूलाई बहादुर साबित गर्न हातको सहायताबिना जमिनमाथि उडेका भुजा मुखैले खाने प्रयास गर्दछन् ।
खासगरी मोरङ जिल्लाको रङ्गेली, रामचौक, दोमना, आमतोला, लक्ष्मीपुर, कर्सिया, खोरकाटा, विसनपुर र लक्ष्मुनिया, राजघाट, होक्लाबारी, बयरवन, शनिश्चरे र केरौनमा सन्थालको बसोवास रहेको छ ।