Aamsanchar

‘स्क्रब टाइफस‘का कारण दुईको मृत्यु

Author Image
बुधवार, कार्तिक ३, २०७३

धनगढी।

‘स्क्रब टाइफस’ रोगबाट कैलालीमा गएको डेढ महिनायता दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पहलमानपुर गाविसककी १५ वर्षीया कृष्णा बोगटी र फुलवारी गाविसका २४ वर्षीय समुन रानाभाट रहेका छन् । बोगटीको गत भदौ १३ गते र रानाभाटको भदौ २५ गते उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताउनुभयो ।

गएको साउन महिनायता मात्रै सेती अञ्चल अस्पतालमा उपचारका लागि आएका झण्डै दुई सयभन्दा बढी बिरामीको रगत परीक्षण गर्दा ९० जनामा ‘स्क्रब टाइफस’ देखापरेको अस्पतालले जनाएको छ ।

उपचारका लागि कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछाम जिल्लाबाट अस्पताल आएका बिरामीमा यो रोग देखा परेको हो ।

मुसामा लाग्ने एक प्रकारको किर्ना नामक किराको टोकाइबाट सङ्क्रमण हुने यो रोग लागेमा धेरै ज्वरो आउने, टाउको दुख्ने, किर्नाले टोकेको शरीरको भागमा रातो डाबर जस्तो दाग देखिनेलगायत लक्षण देखिने गरेको अस्पतालले जनाएको छ ।

गत वर्ष यो रोगबाट ५६ जना सङ्क्रमित भएको पाइएकोमा दुईजनाको उपचारका क्रममा मृत्यु भएको तथ्याङ्क जिल्ला जनस्वास्थ्य कार्यालयसँग छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)