

झापाको शिवसतासी नगरपालिका र कन्काई नगरपालिको बीचमा पर्ने एक पर्यटकीय स्थल हो दोमुखा। माई दोमुखा खासगरी पिकनिक स्थलको रूपमा पूर्वाञ्चलमा नै प्रसिद्ध छ । पिकनिकको सिजनमा आश्विनदेखि वैशाख सम्म दैनिक दश हजारसम्म पिकनिक खाने मानिसहरू आउने गरेका छन् । यो स्थानमा वैष्णव देवीको मन्दिर समेत छ । पूर्वपश्चिम राजमार्गबाट लगभग ३ कि.मी. उत्तरमा अवस्थित माई दोमुखा बाट मेची अञ्चल कै सबैभन्दा ठूलो सिंचाई योजना कन्काई सिंचाई प्रणालीको नहरको हेड निर्माण गरी नहर छुट्याएर लगिएको छ । दोमुखा क्षेत्रमा पिकनिकको उद्धेश्य वाहेक धार्मिक कारणले जाने भक्तजनहरू भने खासगरी शनिवार र मंगलवार जाने गरेको पाईन्छ ।

विस १९९० अगाडी कन्काई माई चुरे पर्वतवाट तराई निस्कदा साँघुरो गल्छी भएको ठाउँमा सखुवाको रुख लडेर दुई मुख परेको अर्को सखुवाको रुखमा अड्किई फड्के पुलको आकार दियो। सो फड्केको उपयोग गरी मानिसहरू आगत जावत गर्दथे र त्यही दुई मुखे सखुवाको रुखबाट यो ठाउँको नाम दुई मुखे भन्दा भन्दै दोमुखा रहन गएको जनश्रुती छ। फोटो : विनोद पाण्डे/आमसंचार

