काठमाडौं।

कथित “मंगोल मुलबासी राष्ट्रिय फोर्स” नामक भूमिगत संगठनका अध्यक्षसहित १३ जनालाई हातहतियार, विष्फोटक पदार्थ तथा विभिन्न दस्तावेज सहित प्रहरीले विभिन्न मितिमा पक्राउ गरी सोमबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा उक्त फोर्सका अध्यक्ष तथा पश्चिम क्षेत्र इन्चार्ज रुकुम जाङ–२ का उपेन्द्र घर्तीमगर, केन्द्रीय सदस्य तथा पुर्बी क्षेत्र इन्चार्ज ताप्लेजुङ सिकैचा–२ का पृथ्वीनारायण लिम्बु र केन्द्रीय सदस्य तथा मध्य क्षेत्र इन्चार्ज रामेछाप गाम्देल–१ का टेम्डी शेर्पा रहेका छन् । यसैगरी पक्राउ पर्नेहरुमा फोर्सका केन्द्रीय सदस्य पाँचथर पञ्चमी–३ का सचिन पालुङ्वा लिम्बु, एसटीएफ निमित्त कमाण्डर खोटाङ सल्ले–५ का सुवास राई, सक्रिय सदस्य सिन्धुपाल्चोक चौतारा–५ का रविन श्रेष्ठ, सक्रिय सदस्य सिन्धुपाल्चोक गोल्छे–४ का बनबहादुर स्याङबो, सक्रिय सदस्य सिन्धुपाल्चोक गुम्बा–५ अजय तामाङ, रोल्पा सिउरी–८ का रामबहादुर बुढा मगर, रोल्पा सिउरी–८ का लोकबहादुर बुढामगर, रोल्पा सिउरी–९ का चन्द्रबीर घर्तीमगर, रोल्पा सिउरी–८ का दुजमान घर्तीमगर र रोल्पा सिउरी–७ का जोगबहादुर घर्तीमगर रहेका छन् ।
उक्त फोर्सले बिभिन्न प्रहरी कार्यालयमा आक्रमण गरी हतियार लुट्ने तथा सरकारी कार्यालयहरुमा बिष्फोटन गराउने योजना सहित क्रियाशील रहेको भन्ने गोप्य सूचना प्राप्त पश्चात काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट २ नाल कटुवा पेस्तोल, २ नाल रिभल्वर, त्यसको गोली १२ राउण्ड, विष्फोटक पदार्थ तथा उक्त पार्टीका महत्वपूर्ण दस्तावेज सहित ८ जना तथा रोल्पा जिल्लाको सिउरीबाट ९ वटा भरुवा बन्दुक, त्यसको केप, २ सय ग्राम बारुद, शिशाको गोली २२ थान र शिशाको छर्रा १ सय थान, कम्ब्याट ड्रेस तथा पार्टीका दस्तावेज सहित ५ जना पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी कार्यालयका प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

साथै उपेन्द्र घर्तीमगरबाट जुनतारा बुढामगर र कर्णबहादुर बुढामगरको नाममा रहेका १÷१ थान किर्ते नागरिकता, जुनतारा बुढामगरको नाममा रहेको किर्ते सवारी चालक अनुमतिपत्र १ थान, मोबाईल २ थान, पार्टीका विभिन्न किसिमका दस्तावेजहरू बरामद भएको छ । साथै पृथ्वीनारायण लिम्बुबाट विभिन्न दस्तावेज र मोबाईल १ थान तथा टेम्डी शेर्पाको कोठाबाट बम बनाउन प्रयोग हुने सकेट तथा स्पिल्नटर, बारुद बनाउन प्रयोग हुने कच्चा पदार्थ, मंगोल मुलबासी फोर्स (किराँत) को लेटरप्याड लगायतका दस्तावेजहरू बरामद भएको छ ।
उक्त समुहले वास्तविक परिचय लुकाउन विभिन्न नाममा नागरिकता लगायतका सरकारी परिचयपत्र किर्ते गरेको, प्रहरी ईकाईहरू आक्रमण गरी हातहतियार लुट्ने योजना अनुसार प्रहरी इकाईहरू रेक्की गरी योजना तयार गरेको, बैंक तथा वित्तीय संस्था र व्यापारी व्यवसायीलाई लुट्ने योजना अनुसार केही बैंक तथा वित्तिय संस्था तथा सुन पसलहरू समेत निगरानी गरी योजना बनाएको अनुसन्धानबाट खुल्न आएको सो अवसरमा जानकारी दिइयो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

