Aamsanchar

ढाका बुनेरै छोरालाई डिग्री

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

dunganaबिर्तामोड । झापा दमक–११की ५७ बर्षीया राधादेवी ढुंगाना अहिले ४ सय भन्दाबढी परिवारको आयस्रोतको माध्यम बनेकी छिन् ।
२०४१ सालमा एक हजार ४ सय रुपैयाँ लगानी गर्दै एक लाछी धागोबाट ढाकाको काम शुरु गरेकी ढुंगाना अहिले दमक–११ र दमक–१का महिलाको आयआर्जनको स्रोत बनेकी हुन् । स्वावलम्बी बन्न ५ सयभन्दा बढी महिलालाई प्रेरित गर्दै उनले सबैलाई यही काम सिकाएकी छन् । जसबाट ती परिवारको दैनिक गुजारा चल्दै आएको छ । चार सय रुपैयाँमा ढाका बुन्ने तान र एक हजार रुपैयाँमा ढाका बुन्दा प्रयोग गरिने ड्रम किनेर व्यवसाय शुरु गरेको अहिले उनले पशुपति ढाका उद्योग नै सञ्चालन गरेकी छन् ।
सोही उद्योगबाट उनी अहिले उद्योगपतिका नाममा चिनिन्छिन् । खर्च कटाएर बार्षिक १२ लाख भन्दाबढी बचत गर्न सफल उनी अहिले दमक क्षेत्रका लागि प्रेरणाकी स्रोत नै बनेकी छिन् । घरेलु तथा साना उद्योग कार्यालय झापामा आफ्नो उद्योगको नवीकरण गर्न आएकी ढुंगानाले ‘अरुलाई पनि यही व्यवसायमा आत्मनिर्भर बनाएकाले कोही फर्म दर्ता गर्न आए सहज गरिदिनुहोस्’– उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रलाई उनले भनिन् । गरिबी निवारणका लागि लद्यु उद्योग विकास कार्यक्रम सञ्चालन गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय झापाले ढुंगानाले सञ्चालन गरेको ढाका उद्योगको बारेमा अरुलाई पनि जानकारी गराउने र नयाँ उद्यमीलाई देखाउन ल्याउने मिश्रले बताए । २०५१ सालमा शुरु ६० वटा थान राखेर चर्चा बटुलेकी ढुंगानाले अहिले गाउँका प्रायः सबै महिलालाई पान वितरण गरेकी छिन् । उनी टोपी, बर्को, साडी र चौवन्दी चोला बुन्न धागो समेत प्रदान गर्छिन् र उनीहरुले उत्पादन गरेका सबै वस्तु खरिद गर्दै बजारमा बिक्री गर्छिन् । ढाका टोपी बुन्नेलाई उनले एक हजार रुपैयाँसम्म दिने गरेकी छिन् ।
त्यस्तै बर्को पनि सोही अनुसार नै बुट्टा हेरेर रकम प्रदान गर्छु– उनले भनिन् । साडी बुन्नेले २ हजार ५ सय रुपैयाँसम्म पाउने गरेका छन् भने चौबन्दी चोली बनाउनेले ४ सय देखि माथि बुट्टा हेरेर खरिद गरिदिने गरेकी छु– ढुंगानाले भनिन् । आफ्ना श्रीमान कृष्णबहादुर ढुंगानालाई समेत यही व्यवसायमा संलग्न गराएर उनी अहिले दमक क्षेत्रमा ढाका उद्योगीका रुपमा चिनिएकी छिन् । सार्क शिखर सम्मेलनमा सम्मानित भइसकेकी उनी घरेलु तथा साना उद्योगले बिर्तामोडमा राखेको प्रदर्शनीमा प्रथम भएकी थिइन् भने २०६८ सालमा नेपाल सरकारले समेत उनलाई उत्कृष्ट व्यवसायीको रुपमा सम्मान गरेको थियो ।
‘तानमा ढाका बुनेरै दुई छोरालाई डिग्री हासिल गराएँ । कुटुम्ब आएकाले छोरीलाई भने १२ कक्षा पास गरेपछि विवाह गरिदिनुप¥यो’– उनले भनिन् । ढुंगानाका एक छोरा दिनेश माइक्रोवाइलोजीमा डिग्री हासिल गर्दै अहिले झापामा खाद्य निरीक्षक भएर आएका छन् भने अर्का छोरा लोचन आस्था क्याम्पस दमकमा प्राध्यापकका रुपमा कार्यरत छन् । दैनिक दुई सय भन्दाबढी टोपी, बर्खा, साडी, चौवन्दी चोलो खरिद गरेर त्यहाँका स्थानीयको जीवीकोपार्जनमा सघाउ पु¥याउने उनी बेरोजगार महिलालाई स्वावलम्बी बन्न प्रेरित गर्दै सिप सिक्न आग्रह गर्छिन् ।
हिजो तान बुन्न शुरु गर्दा ढुंगान्नी विग्रिछ भन्ने गाउँका आमा दिदीबहिनी पनि अहिले मसँगै सिप सिकेर स्वावलम्बी बनेको देख्दा खुशी लाग्छ– उनले भनिन् । गाउँका महिलालाई मात्र मैले सिप सिकाइँन आफ्ना दुई छोरीलाई पनि यही सिप सिकाएर घर गरिखान सजिलो बनाइदिएकी छु– उनले थपिन् । विवाहपछि जेठी छोरी दीपा बिर्तामोडमा नै ढाका पसल सञ्चालन गरेर बसेकी छन् भने कान्छी छोरी बबिता दमकमा ढाकाकै काम गर्छिन् ।
पछिल्लो समय ढाकाको माग बढ्दै गएकाले बजारमा पर्याप्त सामान पु¥याउन नसक्दा अरुलाई पनि यो पेशामा आवद्ध हुन आग्रह गर्दै सिप सिक्नुपरे निःशुल्क सिकाउन आफू तत्पर रहेको उनले बताइन् । दमकमा पशुपति ढाका उद्योगको होलसेल समेत सञ्चालन गरेर बसेकी उनले अहिले ढाकाको सामान नकिनिदिए धेरैको रोजी रोटी नै बन्द हुन्छ ।
ढाका बुन्न चाहने जो कोहीलाई सिप सिकाउँदै उनले तानसहित धागो समेत दिन गरेकी छन् । उनले तान बुनेर तयारी पारिदिएको सामानको ज्याला तत्काल प्रदान गर्ने गरेकी छन् । के खाऔं, के लाउँ भन्ने अवस्थाबाट आज यो अवस्थामा आई पुगेँ– उनले भनिन्– सास रहुञ्जेल यही पेशालाई अघि बढाउँछु ।
दिनदिनै बढ्दैछन् उद्यमी
घरेलु तथा साना उद्योग कार्यालय झापामा ६ हजार ९ सय वटा उद्योग दर्ता भएका छन् ।
आर्थिक बर्ष ०७२÷०७३मा मात्रै २ सय १८ वटा उत्पादनमूलक, २ सय ५२ वटा कृषि तथा वन जन्य, पर्यटन १०, सेवामूलक २ सय २० र निर्माण १६ गरी सात सय १६ वटा उद्योग दर्ता भएका छन् ।
यस्तै प्राइवेट फर्म ६ सय ५५, साझेदारी फर्म ४७, प्रालि १४ वटा गरी एक आर्थिक बर्षमा ६ हजार नौ सय वटा उद्योग दर्ता भएको कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए । उद्योगबाट ५८ लाख ४२ हजार एक सय रुपैयाँ राजश्व संकलन भएको छ ।
ती उद्योगमा २ हजार ६० जनाले रोजगारी पाएका छन् भने ८ सय ३ जना उद्यमी बनेको मिश्रले बताए । रोजगारी हुने ६ सय महिला छन् भने १४ सय ६० जना पुरुष छन् । यसैगरी उद्यमी महिलाको संख्या १ सय सात जना रहेको छ भने पुरुष ९६ जना रहेका छन् ।
कार्यालयमा रहेको तथ्यांक अनुसार १ हजार १३ वटा प्राइवेट फर्म बाणिज्य प्रशासनतर्फ दर्ता भएका छन् । त्यसैगरी साझेदारी फर्म ४९ वटा दर्ता भएका छन् । जसबाट एक करोड १३ लाख ८५ हजार दुई सय ३७ रुपैयाँ राजश्व संकलन भएको छ ।
बाणिज्यतर्फ हालसम्म ८ हजार ८० वटा फर्म दर्ता भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष २०७२÷०७३मा दुई सय २४ वटा नवीकरण, ४३ वटा नामसारी, ११ वटा ठाउँसारी, ४ वटा इजाजत प्रदान संस्था, २ वटा पूँजीबृद्धि संस्था, २९ वटा लगत कट्टा संस्था र ४१ वटा उद्योग निरीक्षण संस्था रहेका छन् ।
जनशक्ति अभावमा पनि कार्यालयले उद्योगतर्फ ५८ लाख ४२ हजार एक सय र बाणिज्यतर्फ एक करोड १३ लाख ८५ हजार दुई सय ३७ रुपैयाँ राजश्व संकलन गर्दै एक करोड ७२ लाख २७ हजार तीन सय ३७ रुपैयाँ कूल राजश्व संकलन गरेको उद्योग अधिकृत मिश्रले बताए । कार्यालयमा दरबन्दी संख्या ११ रहेको छ । अहिले कार्यालयमा ५ जनाले सेवा प्रदान गरिरहेका छन् भने रिक्त दरबन्दी संख्या ६ रहेको छ ।
उद्योगतर्फ दरबन्दी बमोजिम जनशक्ति नहुँदा २०६३ सालदेखि बाणिज्य प्रशासनतर्फको कार्य पनि उद्योग अन्तर्गत दरबन्दी रहेका कर्मचारीले नै सम्हाल्दै आएका छन् । जसबाट उद्योगविरुद्ध परेका उजुरी गुनासो बढ्दै जाँदा सहज रुपमा काम गर्न नसकिएको कार्यालय प्रमुखको रुपमा रहेका मिश्रले बताए ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर