Aamsanchar

लोकमान र राजाका कुप्रेहरू

Author Image
बुधवार, कार्तिक १०, २०७३

Narendra raj prasai

[नरेन्द्रराज प्रसाई]

 

(लोकतन्त्रमा कोको अटाउने?)

एक वर्षअघि अख्तियारले केही ठूला माछाको नाउँ सञ्चार माध्यममा दिएपछि महाअभियोगको प्रसङ्गको आरम्भ भएको हो । त्यसपछि महाअभियोग शब्दले संसारै हल्लाई दिएको छ । अहिले जगतै लोकमानमय भएको छ; मानौं लोकमानसिंह कार्की बरपीपल नै हुन् जसलाई हल्लाउन पनि लाखौं जनशक्ति चाहिँदो रहेछ। अथवा भनौं सम्पूर्ण नेपाल र नेपालीका समस्याको एकमात्र समाधान भनेको लोकमान माथिको महाअभियोग मात्र रहेछ।

अचम्म पनि महाअचम्म भएको छ । भूइँचालोका विस्थापित, संविधान विवाद र मधेश आन्दोलन, वाढीपैरोका पिडीत, महङ्गीका प्रकरण सबैसबै बेहोरा थन्क्याइएर लोकमानबारेको एउटा ठूलो विषयसूची तयार गरिएको छ। अब हामीले धन्य लोकतन्त्र र धन्य गणतन्त्र भन्नु पर्ने भएको छ । लोकतन्त्र वचाउने अभियान भनेर जताततै लोकमान, लोकमान र लोकमान मात्र उभ्याइएको छ ।

लोकमानसिंह कार्कीको कदमले मान्छेहरू किन थररर भएका छन् ? अन्तत: ठोस कुरा के हो ? यसबेला चेतनशील नेपालीका लागि यो प्रश्नको उत्तर खोज्नै पर्ने भएको छ ।

नेपाल के रहेछ ? नेपालीले के खोजेका रहेछन् त ? सत्य कुरा के हो ? सत्य कुरा लेख्ता आँखाको कसिङ्गर हुइँने र हुइँयाका कुरा लेख्ता प्रियपात्र हुइँने अवस्था यस पूण्यभूमिमा कसरी सृजना भइरहेको छ ? माता सरस्वतीका स्वरूप मानिने अक्षरहरूले पवित्रताका कुरा बोल्नु पर्ने हो। अक्षरहरूले सत्यका पक्षमा लेखिनु पर्ने हो। तर किन खासै त्यसो भइरहेको छैन ?

नेपालमा किन बेमौसमी बदली भैरहेको छ ? हिजो राजाका अघि कुप्रो परेर राजालाई दाम चढाउने कुप्रेहरू भने आज लोकतन्त्रका कट्टर समर्थक हुने तर त्यसै सेरोफेरोका लोकमानसिंह कार्की चाहिं लोकतन्त्र विरोधी कसरी हुन सके ? के लोकतन्त्र भनेको एउटा योग्य नागरिकलाई सताउन,खिल्ली उडाउन र अयोग्य सावित गराउने यन्त्र हो ?

लोकमानसिंह कार्कीले पदमा बस्ने नबस्ने कुराको सवाल महत्वपूर्ण रहेन। वास्तवमा यहाँ कुखुरा हराउनु पनि ठूलो कुरा भएन, तर चोर पल्केको चाहिं देखियो । यहाँ त न्याय र अन्यायमाझ परेको कहालीलाग्दो खाडलमा देखापरेको डरलाग्दो दृश्य हाम्रा अगाडि मञ्चित भइरहेको छ । अब यस विडम्बनापूर्णको नेपाल कहाँ पुग्छ र मुलुकको भविष्य के हुने हो ? नेपालीका लागि यो गम्भीर चिन्ताको विषय भएको छ ।

अब हामी नेपालीले फेरि, फेरि र फेरि कतिसम्म झुटो कुरा गर्दै हिंड्नु पर्ने हो ? या हामीले सत्य कुरा गर्दा पनि हुन्छ ? आजको अन्यौलले ग्रस्त मुलुकका लागि सत्य पाठ कसरी पढ्ने अनि कसरी पढाउने हो ?

सवाल के रह्यो भने अब राष्ट्रको भविष्य के हुन्छ ? यहाँ एक जना लोकमानसिंह कार्की या अख्तियारको मात्र कुरा रहेन । समग्र चेतनाको विषयमा चिन्ता लिने विषयको निर्माण भैसकेको छ। यदि अख्तियारकै मात्र कुरा गर्ने हो भने पनि भोलिको नेपालमा अख्तियारको आवश्यक्ता छ या छैन ? अनेक बहानाले अहिले कार्कीको पद हरण भयो भने भोलिको अख्तियार प्रमुखको हालत के होला ? त्यसबेलाका अख्तियार प्रमुखले या त दलबलकै ईशारामा भ्रष्टाचारको फेर समाउलान या मौन बसेर जागिर खालान् ? या उनले दल या सरकारकै दास भएर काम गर्नु पर्ने हो? या उनले सानातिना माछालाई तर्साएर मात्र आफ्नो पद भुक्तान गर्लान् ? आजको यो अवस्थाले भोलिको नेपालको विकास, अर्थतन्त्र र राजनीतिलाई कता पुर्याउला? यस प्रश्नको उत्तर प्रत्येक नेपालीले खोज्नु अनौठो कुरा हो र ?

राष्ट्रका नेताले अब जनतालाई नैतिकताको पाठ पढाउने हो या भ्रष्टाचार गर्न सिकाउने हो ? यस्तो गम्भीर विषयमा खेलाचीं गरेर अहिले लोकमानसिंह कार्कीलाई पद मुक्त गरेपछिको नेपालको भ्रष्टाचारको इतिहास कसरी लेखिएला ?

विगतमा नेपालमा भ्रष्टचारको जालोमा खिया परिरहेको सन्दर्भमा लोकमानसिंह कार्कीले हिम्मत देखाएर यहाँसम्मको बाटो खनेको हो कि होइन?अहिलेसम्म यस्तो हिम्मत कसैले गरेको पनि थियो कि थिएन?

ठूला माछाको सूचीले केहीलाई रिंगटा लाग्नु अस्वभाविक होइन नै ! त्यस्को तात्पर्य राज्य नै उल्टेर लोकमानसिंह कार्कीको पछि लाग्दा कसको मानमर्यादा बढेको छ र कसको मानमर्दन भएको छ ? यसबारे सत्ता वा राज्यले सोच्नु पर्छ कि पर्दैन ?

अर्को एउटा अचम्मको कुरा पनि आउछ; के लोकमान अख्तियार प्रमुखमा आफैं पुगेका थिए र ? उनलाई त्यहाँ पुर्याउनु पर्ने कारक तत्व के थियो? फेरि अहिले उनले त्यहाँ बस्नु नहुने कारण के हो ?

लोकमान प्रकरणका यो सबै प्रश्नको जवाफ सारा नेपालीलाई थाहा भइसकेकै पनि छ । लोकमानसिंह कार्कीले अख्तियार प्रमुख भएर ठूलाठूला माछाहरूको हाँमा हाँ मिलाएर उनीहरूलाइ नै साथ दिँदै आएका भए अहिले तिनै ठूला माछाहरूले उनको जयजयकार गर्ने थिए या उनलाई महाअभियोग लगाउन अग्रसर हुन्थे ? यसबारेको सत्य जगजाहेरै छ । उनी ठूला माछाहरूको अनुहारमा टाँसिएको सुन्दर पर्दा उघार्न अघि सरेपछि तिनीहरूले उनको जरा उखेलेर धोइपखाली गर्न खोजेका हुन् या होइनन् ?

आजको कार्की प्रसङ्ग बडा खतरनाक रूपमा उभिएको छ। सत्य कुरा के हो भने “सर्पले छुचुन्द्रो खायो भने कुहिएर मर्छ र उसले नखाई छोडेर गयो भने साँप अन्धो हुन्छ अनि यस्तो डरलाग्दो खेलको कसरी प्रदर्शनी भयो ?

भ्रष्टाचारले हिलोमा फसेको नेपाललाई जोगाउने महान् कार्यमा समर्पित भएर अदभूत कार्य गर्ने लोकमानसिंह कार्कीलाई “वीर लोकमान” भनेर राज्यले पुरस्कृत गरिनु पर्नेमा आज उनलाई किन चक्रव्युमा पार्न खोजिदैछ ? 
यसको अर्थ आगामी दिनमा कसैले पनि ठूला माछा तिर औंला उठाउन पाइँदैन भनेको होइन र ?

अब बुझ्नु पर्ने कुरा एउटै मात्र रह्यो अथवा भनौं सतीले सरापेको हाम्रो मुलुकको व्यथा लोकमानसिंह कार्की सन्दर्भले प्रमाणिकरण गराउने हो ?या यस प्रकारको गलत प्रकृयालाई मर्यादित रूपमा सुधारेर लोकमानसिंह कार्कीको कदमको सह्राहना गर्दै उनको कर्मलाई थप बढोत्तरी गराउन होस्टे गर्ने हो ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर