(पार्थ मण्डल)
भद्रपुर।
दशै सकियो तिहार तथा छठ पनि आइसक्यो तर झापाको भद्रपुर नगरपालिका अन्तरगतका ७ वटा वडाका जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिले समाजिक सुरक्षा भत्ता अझै पाएका छैन ।
सरकारले उनीहरुको आर्थिक अवस्थालाई मध्यनजर गरी सामाजिक सुरक्षा भत्ता कार्यक्रम ल्याएपनि चाडपर्वका बेला रकम नपाउदा उनीहरु निराश बनेका छन् । भद्रपुर नगरपालिका कार्यालय र नेपाल बैक भद्रपुर शाखाको आपसी असमझदारीका कारण १, २, ४, ५, ६ ,७ र ८ नम्बर वडामा समाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको हो ।
नगरपालिकाले नेपाल बैकलाई रकम निकासा गरेको झण्डै एक महिना हुन लागेपनि जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको हातमा रकम परेकै छैन । भद्रपुर ६ बस्ने विर्खबहादुर काफ्लले भन्छन– सरकारले हाम्रो लागि योजना त ल्यायो तर चाडपर्वको बेला रकम हात नपर्दा यस्तो योजना ल्याउन नल्याउनको कुनै औचित्य छैंन ।
शारिरीक रुपमा अस्वस्थ काफ्ल भत्ता लिन कहिले नगरपालिका धाउछन त कहिले बैक तरपनि कसैले उनको पिडा बुझिदिएका छैन । अघिल्लो बर्ष चाडपर्व अघि नै रकम पाइसकेका थियौ तर यो बर्ष नगरपालिकाले के गरेको हो बुझनै सकेनौ, उनले भने ।
यता मनमाया न्यौपाने पनि रकम नपाउदा नगरपालिका धाइरहेकी छिन् । चाडपर्वको बेला रकम पाउन आशा गरेकी न्यौपाने रकम नपाउदा अहिले निराशा छिन् ।
नगरपालिकाले नेपाल बैकलाई गत असोज १६ गते १ करोड २५ लाख ३० हजार रुपैया सामाजिक सुरक्षा भत्ता कार्यक्रमका लागि निकासा गरिदिएको छ । तर बैकले प्राविधिक समस्या देखाउदै रकम वितरण सुरु नै गरेको छैन । भद्रपुर नगरपालिकाले नगर क्षेत्रका झण्डै ४ हजार जनालाई सामाजिक सुरक्षा भत्ता वापत रकम बाडदै आएको छ ।
चालु आर्थिक बर्षको पहिलो चौमासिकको रकम वितरणका लागि नगरपालिकाले नेपाल बैकलाई ७ वडा, कृषि विकास बैकलाई ४ वडा र एनएमबी बैकलाई २ वटा वडाको जिम्मा दिएको नगरपालिका कार्यालयले जनाएको छ । कृषि र एनएमबीले दशैमा भत्ता रकम वितरण गर्न नसकेपनि अहिले धमाधम रकम वितरण गरिरहेको नगरपालिका कर्मचारी मनकुमार डागीले बताए ।
दुई वटा बैकले रकम वितरण गरिरहेको बेला नेपाल बैकले लगभग ३ हजार जनालाई वितरण गर्ने भत्ता रकम छैठ पछि मात्र वितरण गर्ने जनाएको छ । नेपाल बैकका शाखा अधिकृत रविन दाहालले नगरपालिकाले असोज १६ गते रकम निकासा गरेपनि विवरण १७ गते पठाएको बताए ।
नगरपालिकाले पठाएको विवरणमा व्यत्तिको एकाउन्ट नम्बर र नाम सिरीयल अनुसार नभएकोले केही प्राविधिक समस्या उत्पन्न भएको हो । पहिला नगरपालिकाले एक्सेलमा विवरण पठाउदै आएकोमा यसबर्ष मन्त्रालयकै विवरण पठाएकोले प्राविधिक कठिनाई भएको हो, शाखा अधिकृत दाहालले भने । बैकको कमजोरी भन्दा पनि नगरपालिकाले नै बैक माथि काम थुपारहेकोले यस्तो जटिलता उत्पन्न भएको हो । अव एकाउन्ट नम्बर र नाम मिलाएपछि छैठपछि नै बैकले रकम वितरण सुरु गर्ने उनले बताए ।
चौमासिक रकम अनुसार समाजिक सुरक्षा भत्ता वापत जेष्ठ नागरिकले ८ हजार, एक महिला ७० बर्ष माथि ८ हजार, ७० बर्ष भन्दा मुनि ४ हजार, लोक उन्मुख तर्फ ८ हजार, पूर्ण अपाङ्ग तर्फ ८ हजार, आंशिक अपाङ्ग तर्फ २ हजार ४ सय र दलित बालबालिका संरक्षण तर्फ १ हजार ६ सय रुपैया रकम वितरण गर्नु पर्ने हो ।
नगरपालिकाले रकम वितरण गर्ने नसकेको बिषयमा नगरपालिका कार्यकारी अधिकृत काजीमान राईसंग बुझन खोज्दा कार्यकारी अधिकृतले बोक्ने ९८५२६७१०२८ नम्बर रिजीस्टर नगरिएको भनेपछि सम्पर्क हुन सकेन ।