Aamsanchar

व्यापारीलाई यसकारण भाइटीका भन्दा लक्ष्मी पूजा ठूलो

Author Image
शनिवार, कार्तिक १३, २०७३

हिन्दू धर्ममा धनकी देवी मानिने लक्ष्मीको पूजालाई नेपालका उद्योगी, व्यापारीले विशेष महत्व दिने गर्दछन् । यमपञ्चकको तेस्रो दिन पूजा गरेर लक्ष्मीलाई खुसी पार्न सकेमा वर्षभरि आफ्नो व्यवसायमा सोचेजस्तो मुनाफा प्राप्त गर्न सहयोग पुग्ने विश्वास उनीहरुको छ ।

उद्योगी, व्यापारीले लक्ष्मी पूजाको दिन पहिले आफ्ना कम्पनी, कार्यालय, आउटलेट आदिमा विधिपूर्वक पूजाआजा गरेपछि घरमा लक्ष्मी पूजा गर्दछन् । सानादेखि ठूला व्यवसायीले लक्ष्मी पूजालाई ठूलो महत्व दिने गर्दछन् । उनीहरुले लक्ष्मी पूजाको लागि निश्चित बजेट छुट्टाएका हुन्छन् ।

laxmi-puja1

‘पसल सरसफाइ गरेर लक्ष्मी पूजा सम्पन्न गरी केही समय पसल खोलेर तिहारको लागि तीन दिन बिदा गर्छौं’, त्रिपुरेश्वरमा हार्डवेयर व्यापारी सदिन अग्रवालले भन्नुभयो, ‘बिक्री नभए पनि लक्ष्मीले बास गरेपछि मात्र पसल बन्द गर्नुपर्छ ।’ यो दिन लक्ष्मीलाई प्रशन्न पार्न सके वर्षभरि बिजनेश राम्रो हुनेमा आफूलाई विश्वास लाग्ने उहाँले बताउनुभयो ।

तिहार हिन्दूको संस्कृति भए पनि सबै बिजनेशमेनले लक्ष्मी पूजा मनाउने गर्दछन् । व्यवसायीका लागि तिहारको भाइटीकाभन्दा लक्ष्मी पूजा बढी महत्वपूर्ण हुन्छ । जैन धर्मालम्बी भए पनि आफूहरुले लक्ष्मी पूजा अनिवार्य मनाउने गरेको बताउनुहुन्छ शेखर गोल्छा । गोल्छा अर्गनाइजेसनअन्तर्गत दर्जनौं कम्पनीहरुले देशका विभिन्न ठाउँ लक्ष्मी भित्राउन पूजा गर्ने गर्दछन् ।

‘अरु परिवारमा जस्तो धूमधामले लक्ष्मी पूजा त हुँदैन तर लक्ष्मी पूजाको दिन सफासुग्गर गरेर पूजाआजा गर्ने प्रचलन हाम्रो बिजनेशमा पनि हुन्छ’, गोल्छाले भन्नुभयो, ‘मुख्य कार्यालयमा हामी प्रमोटर र कर्मचारीहरु मिलेर आधा घन्टा जतिको लक्ष्मी पूजा कार्यक्रम गरिन्छ ।’ जैन धर्मालम्बी मारवाडी परिवारमा भाइटीकाको भने महत्व हुँदैन । बिजनेश गर्ने मारवाडी समुदायमा जैनको संख्या प्रशस्तै रहेको छ ।

नेपालमा बैंकहरु राम्रो मुनाफा गर्ने अर्थात लक्ष्मी कमाउने कम्पनीमा पर्दछन् । मानिसहरुले बचत गरेको रकम सुरक्षित गर्ने र मानिसहरुलाई व्यापार व्यवसाय गरेर आर्जन गर्न पुँजी उपलब्ध गराउने बैंकहरुले लक्ष्मी पूजालाई झनै महत्व दिने गरेका छन् ।

भाइटीका र लक्ष्मी पूजाको तुलना गर्दै सिभिल बैंकका सिईओ किशोर महर्जन भन्नुहुन्छ, ‘दुवैको आआफ्नो महत्व छ, एकको बढी र अर्कोको कम महत्व भन्न मिल्दैन, तर लक्ष्मी पूजाको काम गर्ने ठाउँ र घर दुवैमा महत्व छ ।’ बैंकमा पुरेत बोलाएर विधिपूर्वक ढुकुटी -भल्ट) को पूजा गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

पोखराका बिजनेशम्यान अञ्जन श्रेष्ठ लक्ष्मी देवीलाई अभिभावक सम्झेर कार्य गर्दा सफलता प्राप्त हुने विश्वास गर्नुहुन्छ । उहाँहरुका सबै कम्पनीमा मेनेजरको नेतृत्वमा हर्षोल्लाससहित लक्ष्मी पूजा गरिन्छ । घरमा परिवार सदस्य जम्मा भएर श्रद्धापूर्वक लक्ष्मी पूजा गर्ने गरेको श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 295

प्रतिक्रिया (०)

सम्बन्धित खबर