[तीर्थराज खरेल]
हामी अविनाशी छैनौ र ढिलो छिटोको कुरा मात्र हो मृत्यु सबैले आत्मसात गर्नैपर्छ । यो सत्यलाई हामी क्षणक्षणमा सम्झन्छौं र बिर्सन्छौं पनि । सचेत मनले जीवनको क्षणभंगुरता र अनित्यतालाई स्विकार गर्दै मृत्यु निश्चित छ भन्ने सच्चाइलाई आत्मसात गर्न बाध्य हुनुपर्छ । माटो र पानीको हाम्रो शरीर अनित्य छ । जन्म जसरी सत्य हुन्छ, मृत्यु पनि त्यत्तिकै सत्य हो । मृत्यु त्यसैको अर्को पाटो हो । जन्मसँगै मृत्यु आएको हुन्छ । संसारमा एउटै सत्य छ–सबै कुरा परिवर्तनशील छन् । सबै चिज नाशवान छन् । जतिसुकै तितो भए पनि यो सत्यलाई सबैले शिरोपर गर्नैपर्छ । प्रकृतिको यो जन्म र मृत्यु, सृष्टि र विनाशको निरन्तर सिलसिलामा आज अर्को परिघटना घटित भएको छ सुरुङ्गामा । कनकाई मा.वि. सुरुङ्गाका कक्षा १० मा अध्ययनरत अति अनुशासित विद्यार्थी सुदन ढकालको १५ वर्षकै कलिलो उमेरमा भएको अकल्पनीय निधनले सम्पूर्ण सुरुङ्गावासी शोकको सागरमा डुबेका छन् । कार्तिक १ गते जामुनखाडी दक्षिण महेन्द्र राजमार्गको जुकेकल्भर्टमा सडक दुर्घटनामा भएको सुरुङ्गा क्षेत्रका अति आदरणीय सामाजिक व्यक्तित्वहरु अग्नि भेटवाल र तिलविक्रम थेबेको दुर्दान्त निधनले सृष्टि गरेको शोकको पीडाबाट तंग्रिन नपाउँदै कार्तिक ६ गते कनकाई नदीमा पौडी खेल्ने क्रममा भएको निधनले सुरुङ्गावासीका लागि शोकमा शोक थपिएको छ र घाउमा खाटा नपर्दै पीडामा पीडा बढेको छ । सुदनको शव कार्तिक ९ गते नेपाल–भारत सीमा नजिक कुञ्जिबारीमा भेटिएको थियो ।
सरकारी विद्यालयका शिक्षक समेत रहेका बुबा चूडामणि, प्यारी आमा निर्मला, दाजु गिब्सन, सुरुङ्गा क्षेत्रका चिरपरिचित सञ्चारकर्मी समेत रहेका मामाहरु मनोज बस्नेत र चन्द्र बस्नेत लगायत समस्त ढकाल तथा बस्नेत परिवार, छरछिमेकी, आफ्ना शिक्षकहरु, साथीसँगी सबैलाई छोडेर सदा सदाका लागि भाइ सुदन बिदा भएका छन् । खाउँखाउँ र लाउँलाउँको उमेरको आफ्नो काखको कान्छो छोरालाई कनकाई माईको किनारमा कार्तिक ९ गते साँझमा अग्निदाह गर्दा किनारै उज्यालो बनाउने ज्वालासँगै एउटा परिवार, एउटा विद्यालय, एउटा समाजका सपनाहरु धुँवासँगै विलिन भइरहेका थिए । आखिर जीवन धुँवा नै त हो । अश्रुपुरित नयनहरुले बिदा गरियो सुदनलाई । आफ्ना मामा मनोजको सुरुङ्गा बजारमा रहेको अञ्जना कम्युनिकेशनमा फुर्सदको समयमा सहयोग गर्दै कम्प्युटरमा दक्ष बन्दै गरेका सुदन चैत्रमा हुने एसएलसी परीक्षाका लागि तयारी गर्दै थिए । अब निश्चित भएको छ–कनकाई मा.वि. बाट २०७३ सालको एसएलसी परीक्षामा एक स्थान खाली नै रहने भयो ।
सुदन यस धर्तीमा रहेनन् । ते¥हथुम ओयाकजुङ्ग–२ हात्तीसारमा मूलघर भएता पनि जिल्लाको सदरमुकाम म्याङ्गलुङ्गमा जन्मी सोही ठाउँमा रहेको अरनिको अंग्रेजी मा.वि.मा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययन गरी आफ्नो जन्मथलो ते¥हथुमलाई नै पराई बनाएर धेरै मीठा सपना बोकेर कनकाई नगरपालिका–३ स्थित कनकाई मा.वि.मा कक्षा ९ देखि अध्ययन शुरु गरेका सुदनका सपना अब फगत सपनामै सीमित भए । उनी झापाको कनकाई नगरपालिका–१ मा स्थायी रुपले सपरिवार बसोबास गर्दै आएका थिए । सुदनका सपना सबै खरानी भएर गए अन्ततः । आखिर जीवन खरानी नै त रहेछ ।
मीठा सपनारुपी सुन्दर फूल कच्याककुचुक भए पछि मनका बगरमा असरल्ल छरिएका दुःस्वप्नवीच आमाबुबा र आफन्तमा कस्तो बज्रप्रहार भयो होला, अरुले अनुमान मात्र गर्ने हो । कतै कविले लेखेको सम्झना हुन्छ–
म घेरिएको छु प्रश्नहरुले
खडेरीले सताएर
सुख्खा भएको बगरलाई
छोडेर एक्लै
तड्पाउँदै तिर्खामा
किन पर पर सरिदिन्छ
निष्ठुरी खोलो ?
चूडामणि सर र निर्मला मेडमको जीवनमा यो भन्दा दर्दनाक र पीडादायी क्षण सायद जीवनमा कहिल्यै आउने छैन । आमाबुबाको मनको भित्री तहमा मन अड्याउने कुनै ठाउँ हुन्छ, भविष्यको भरोसाको कुनै आड हुन्छ, सन्तानका लागि भोगेका दुःखका कहानीका त कुरै नगरौं । आफ्ना जीवनका अतृप्त चाहनाहरु सन्तानबाट पूरा भएको हेर्ने अभिलाषा हुन्छ । मायाको प्रतीकको रुपमा रहेका सन्तान गुमाउँदाको पीडाभन्दा दुख्ने अरु कुनै पीडा सायदै होला ।
सुन्दर फूल प्रेमको
संसार प्रेमको सागर हो
हामी मेटिरहेछौं
आँधी हुरी र बतासले
लछारेका सपनाहरु ।
अब सुदनको हरेक वर्ष असोज १५ गते पर्ने जन्मदिन मनाउनका लागि उनी आफै हुनेछैनन् । कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेको ‘काल महिमा’ मा व्यक्त भाव अनुरुप कालले चपायो सुदनलाई । फुल्न र फक्रनै नपाई कोपिलामा निमोठेर लैजाने कालसँग आग्रह कस्ले पो राख्न सक्छ र ? तर कालसँग गुनासो अवश्य छ । लैजानै पथ्र्यो भने राष्ट्रको ब्रम्हलुट मच्चाउने राष्ट्रघातीहरुलाई लैजानुपथ्र्यो । गोमनका फँडा उठाएर नेपाली अस्मिता र राष्ट्रियतामाथि विषैला दा¥हा धस्ने राष्ट्रद्रोहीलाई लघार्नुपथ्र्यो । लाग्छ कालको न्यायपालिकामा न्याय र अन्यायको सन्तुलित तराजु नै छैन । र त फुल्नै नपाई झ¥यो कोपिला । अल बिदा सुदन । हार्दिक श्रद्धा सुमन ।