Aamsanchar

यी कुरामा ध्यान नदिए तिहारमै जानसक्छ ज्यान

Author Image
सोमवार, कार्तिक १५, २०७३

sel-rotiतिहारमा देउसी भैली खेल्ने, दिदी बहिनीको हातबाट दाजुभाइले टीका थाप्ने, अनि विभिन्न मिठा–मिठा परिकार खाएर रमाइलो गर्ने गरिन्छ । कार्तिक १६ गते भाइटीकाको साइत भए पनि एक हप्तासम्म तिहार मानिन्छ ।

तिहार आफैमा रमाई अनि खानपान गर्ने चाड हो । तिहारमा खानेकुरामध्ये मिठाई, मासु, सेलरोटी आदि खानेकुरा धेरै खाने चलन रहेको छ । यस्तो बेलामा दिदीबहिनीहरूले पनि दाजुभाइ मन पर्ने खानेकुराको रूपमा विभिन्न परिकारहरू ल्याइदिने गर्दछन् । चाड त हो नि भनेर स्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा खानेबानी धेरैको हुन्छ । यसरी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । चिल्लो र मासुका परिकारले चाडपर्वमा अन्य काममा व्यस्त हुने भएकाले खानपानको ठेगान हुँदैन । धेरै समय भोकै बसेर चिल्लो खाँदा ग्याष्ट्रिकको समस्या उत्पन्न हुनसक्ने चिकित्सकहरूको भनाइ छ । चिल्लोका कारण एसिडिटी बढेर डकार आउन सक्छ । धेरै क्यालोरीयुक्त खानाले तौलका साथै शरीरमा कोलस्ट्रोलको मात्रा बढ्छ । मिठाईको पर्व तिहारमा त अझ घरमा सेल, अनरसा, फिनी आदि मिठाई बनाइन्छ जसमा चिल्लो तथा गुलियोको मात्रा प्रशस्त हुन्छ । गत वर्षको तिहारमा मधुमेहकी बिरामी बुटवलक मिलनचोकी रीता खनालले धेरै सेल खाँदा सुगरको मात्रा ह्वात्तै बढेको थियो । त्यसैले अबदेखि उनी चाडपर्वभन्दा पनि स्वास्थ्यलाई प्राथमिकता दिने विचारमा छिन् । सेल, फिनीजस्ता रोटी धेरै दिन राखेर खाँदा तेल–घिउ खरिन्छ । फलस्वरूप मानिसमा एसिडिटीको समस्या हुन सक्छ । अझ पहिले रोग भएका व्यक्तिहरूले निकै ख्याल गर्नुपर्ने हुन्छ ।

रोगीहरूले यसरी ख्याल गनुहोस्
मधुमेह मिठाईको पर्व तिहारमा धेरैको घरमा सेल, अनरसा आदि पकाउने चलन छ । कतिपयले चाडपर्व त हो भनेर मन थाम्न नसकी यस्ता खानेकुरा धेरै खाइदिन्छन् जसले गर्दा स्वास्थ्य बिग्रन्छ । यस्ता रोटीमा चिनीको मात्रा बढी नै हुन्छ । यस्ता खानेकुरा खाँदा रगतमा चिनीको स्तर बढ्छ । तेल–घिउमा तारेका खाना वा बोसोयुक्त उत्पादन नौनी, घिउ, सेल, फिनी, अनरसा आदि मधुमेहका बिरामीले खानु हुँदैन । सेल वा अन्य रोटीमा चिल्लोको मात्रा धेरै हुने भएकाले क्यालोरी बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ । अहिले बजारमा विभिन्न किसिमका सुगर फ्रि मिठाईं उपलब्ध हुन्छन् । मधुमेहका बिरामी ती मिठाईंबाट टाढै रहनु उत्तम हुन्छ । चामल, गहुँ, मकैजस्ता अन्न पनि कम मात्रामा खानुपर्छ । त्यसैगरी चिनी तथा घिउ नभएको चिया, सूप एवं कफी सेवन गर्दा बिरामीलाई फाइदा हुन्छ । हरियो सागपात, फलफूल, सेतो मूला, गाजर, लौका आदि मधुमेहका बिरामीका लागि लाभदायक हुन्छन् ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलका फिजिसियन डा. सुदर्शन थापाका अनुसार कोलस्ट्रोल बढेका मानिसले पनि चिल्लो खानेकुरा खाँदा विचार पु¥याउनुपर्छ । सेलरोटीको पिठो घिउमा मुछेर घिउ वा तेलमा पकाइन्छ । यसरी बनाइएको सेल खाँदा कोलस्ट्रोल बढ्छ । कोलस्ट्रोलका बिरामीले घिउ, बोसो एवं बटरमा बनाइएका चिज खानु हुँदैन ।

यस्तै उच्च रक्तचाप भएकाहरूले चिल्लो, घिउ एवं बोसोजन्य कुराहरू खानु हुँदैन । यसले रक्तचापका साथै तौल पनि बढ्छ । धेरै चिल्लो खानेकुराले पेट बढ्छ । मुटुरोगको प्रमुख कारण उच्च रक्तचाप भएकाले नुनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनुपर्छ ।

मुटुरोग मुुटुका बिरामीले घिउ, नौनी एवं बोसो कम खानुपर्छ । चिल्लो पदार्थको बढी प्रयोग गर्दा धमनीमा रगत जमेर क्रोनरी आर्टरी रोग लाग्ने सम्भावना हुन्छ । यस्ता बिरामीका लागि ठिक्क मात्रामा तेल तथा माछाको तेल लाभदायक हुन्छ । ओलिभ ओयल पनि यस्ता बिरामीका लागि राम्रो मानिन्छ । घिउ तथा बोसोमा बनाइएको खानेकुरा खानुहुँदैन । चाडपर्वका बेला सेल खान मन लागे कम तेल प्रयोग गरी तावामा सेकाइएको सेल खानु वेश हुन्छ । यसैगरी बिरामीले अण्डाको सेतो भाग, बोसो नभएको मासु, कम चिल्लो भएको दूध पनि आफ्नो खानामा समावेश गर्न सक्छन् ।
मृगौलाका बिरामीले कम मात्रामा चिल्लो, गुलियो खान मिल्छ । तरकारी एवं फलफूल पनि ठिक्क मात्रामा खानुपर्छ । भोगटे, सुन्तला आदिले शरीरमा पोटासियमको मात्रा बढाउँछ । त्यसैले यस्ता खानेकुरा खानुहुँदैन । मृगौलाका बिरामीले स्याउ, मेवा, अम्बाजस्ता फलफूल खानुपर्छ । मृगौलाका बिरामीलाई मधुमेह पनि छ भने गुलियो खानेकुरा खानुहुँदैन ।

चाडपर्व मनाउने बहानामा आफ्नो स्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा खानु हुँदैन डा. थापा भन्नछन् –‘स्वस्थ मानिस वा रोगी जोसुकै भए पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’

सामान्यतया स्वस्थ मानिसले दिनमा २० ग्राम चिल्लो खान सक्छन् । धेरै चिल्लो खाँदा कतिपयलाई कब्जियत हुन सक्छ । चिल्लोले अमन भएर खानेकुरामा रुची नहुन सक्छ । त्यसैले सागपात, फलफूलजस्ता रेसादार खानेकुरा खानु उपयुक्त हुन्छ । तिहारमा धेरै चिल्लो तथा गुलियो खानेकुरा बनाइने हुँदा स्वास्थ्यलाई ध्यान दिएर ती खानेकुरा खानु बुद्धिमानी ठहर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर