पाँचथर,
तिहारको समयमा फूलको अभाव भएपछि सदरमुकाम फिदिमलगायत ग्रामीण भेगका बजारमा कृत्रिम फूलको व्यापार बढेको छ ।
व्यावसायिक रुपमा फूलखेती नहुँदा सहर बजारमा फूलको अभावले कृत्रिम फूलको व्यापार बढेको व्यवसायीहरु बताउँछन् ।
कस्मेटिक पसल गर्दै आउनुभएका फिदिमका वर्षा एन्ड समुद्र स्टोर्सका प्रोपाइटर अनिलकुमार गुप्ताले भन्नुभयो, ‘तिहारको समयमा घर सजाउन कृतिम फूल, देवीदेवताको पोस्टकार्ड र पूजा सामाग्रीको व्यापार अहिले बढेको छ, अहिले दैनिक ३० हजार रुपैयाँको हाराहारीमा यस्ता सामान बिक्री भइरको छ ।’
उहाँका अनुसार ग्रामीण भेगमा पनि कृत्रिम फूल तथा पूजा सामग्री धेरै नै गएको छ । अहिले गाउँमासमेत कृत्रिम फूल नै सझाउने माध्यम बनेको छ ।
तिहारको भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्रीको माला लगाएर सुस्वास्थ्य, आरोग्य दीर्घायुको कामना गर्ने चलन भए पनि प्राकृतिक फूलको अभाव हुन थालेपछि बजारमा कृतिम फूलको प्रयोग बढेको स्थानीय बासिन्दा बताउँछन् ।