काठमाडौंः
५१ जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गरिसकेका छन् । अघिल्ला बर्षहरुको तुलनामा यसबर्ष निकै चाडो औषधी खरिद भएको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा. मोहम्मद दाउदले स्वास्थ्य मन्त्रालयले अहिले सम्म कै सबै भन्दा चाडो औषधी खरिद प्रक्रिया अगाडी बढाएको बताए । तीन लाख रुपैयाँ बराबरको निःशुल्क बितरण गर्ने औषधि किनिसकेका छन् भने बाँकी औषधि खरिदका लागि बिहीबार सम्ममा ३३ ओटा जिल्ला जनस्वास्थ्य कार्यालयले बोलपत्र आह्वान गरेका छन् । बाँकी जिल्लाले एक साता भित्रमा बोलपत्र आह्वान गरिसक्ने महाशाखाले जनाएको छ ।
बाँकी औषधी किन्नका लागि केन्द्रमा आपूर्ति महाशाखाले १६ गते नै वोलपत्र आह्वान गरेको हो भने जिल्ला जनस्वास्थ्य कार्यालयहरुले अहिले आह्वान गरिरहेका छन् । जनस्वास्थ्य कार्यालयहरु मध्ये सबै भन्दा बढी काठमाडौंले ७५ लाख र सबै भन्दा थोरै मनाङले १३ लाख रुपैयाँ बराबरको औषधी किन्ने भएका छन् ।
पाँच ओटै क्षेत्रीय निर्देशनालयहरुले पनि एक दुई दिन भित्रमा बोलपत्र आह्वान गरिसक्ने डा. दाउदको भनाई छ । क्षेत्रीय निर्देशनालय मध्ये धनकुटाले ६० लाख, हेटौंडाले ७५ लाख, पोखराले ६० लाख, सुर्खेतले ५५ लाख र डोटीले ५० लाखको औषधी किन्नका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेका हुन् ।
बोलपत्र आह्वान गरेपछिका बाँकी सवै प्रक्रिया पुरा गर्दा बढीमा २ महिना भित्रमा औषधी ल्याईसकिने निर्देशक डा. दाउदले जानकारी दिए । मातहतका सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क वितरणका लागि क्षेत्रीय निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गर्न लागेका हुन् ।कारोबारबाट