काठमाडौँ।
नेपालका अति दुर्गम भेगमा वातारणमैत्री दिगो विकास गरेर जलवायु अनुकुलन हुने गरी गरिबी निवारणमा उल्लेख्य योगदान पु¥याएको भन्दै फिनल्यान्ड सरकारले नेपालमा सञ्चालित ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनालाई उत्कृष्ट आयोजनाको रूपमा पुरस्कृत गरेको छ ।
पानीको स्रोतको संरक्षण गर्दै स्वच्छ खानेपानी, सिंचाइ, लघु जलविद्युत्लगायत पानीको बहुउपयोग गर्ने कार्यक्रम लिएर नेपालका दुर्गम र अति पछाडि परेको समुदायमा गएर उत्कृष्ट प्रतिफल दिन सफल भएको भन्दै फिनल्यान्ड सरकारको सहयोगमा विश्वभरी सञ्चालित कार्यक्रमहरू मध्ये यस वर्षको उत्कृष्ट कार्य गरेको भन्दै सो परियोजनालाई फिनल्यान्ड सरकारले पुरस्कृत गरेको हो ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक रामकृष्ण सापकोटाका अनुसार महिला, आदिवासी, दलित, जनजाति समग्र रूपमा पछाडि परेको वर्ग र समुदायको जीविकोपार्जन गरी गरिबी निवारण गर्ने कार्यमा वातावरण मैत्री, पारदर्शी र प्रतिफलमूखी कार्यक्रमहरू सफल रूपमा सञ्चालन गरेकोले सो परियोजनालाई फिनल्यान्ड सरकारले उत्कृष्ट पुरस्कार प्रदान गरेको हो ।
परियोजना सो विभागअन्तर्गत सुदूरपश्चिमका आठवटा जिल्ला बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र कैलाली जिल्ला र मध्यपश्चिमका हुम्ला र दैलेखका दुर्गम बस्तीमा कार्यक्रम सञ्चालन भइरहेको छ । महानिर्देशक सापकोटाका अनुसार विगत १० वर्षदेखि सञ्चालित यो परियोजनाको तेस्रो चरणका कार्यक्रम हाल सञ्चालन भइरहेका छन् ।
महानिर्देशक सापकोटाले भन्नुभयो, समुदायसँग मिलेर समुदायको क्षमता अभिवृद्धि गरी समुदायको आवश्यकता र चाहाना बमोजिमका योजना वातावरण मैत्री र पारदर्शी ढङ्गले दिगो विकास गर्न सफल भएका छन् । नेपाल सरकार र फिनल्यान्ड सरकारको साझेदारीमा सञ्चालित यो कार्यक्रम फिनल्यान्ड सरकारको सहयोगबाट सञ्चालित विश्वभरीका कार्यक्रममा उत्कृष्ट हुँदा विभागले पनि सफलता हासिल गरेको महसुस गरेको छ ।
परियोजनाले दुर्गम ठाउँमा समुदायको पराम्परागत ज्ञान र सीपलाई समेत प्रयोग गर्दै वातावरण मैत्री लघु जलविद्युत्, स्वच्छ खानेपानी, सुधारिएको पानी घट्ट, तरकारी खेती, सिंचाइलगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।