काठमाडौं :
भारतमा बर्डफ्लु देखिएकाले नेपालमा पनि फैलिन सक्ने सम्भावना उच्च हुने भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ।
पशु स्वास्थ्य निर्देशनालयले सार्वजनिक सूचना निकाली पंक्षीपालन तथा ओसारपसारमा संलग्न सहित सम्पूर्ण सरोकारवालालाई सचेत रहन आग्रह गरेको हो। निर्देशनालयले किसानहरुलाई पालेका पंक्षीलाई खुलारुपमा नछोडी थुनेर राख्न तथा जंगली चराको सम्पर्कमा आउन नदिन, मरेका पंक्षी तथा संक्रमित वस्तु जथाभावी नफाल्न, पंक्षीलाई राखेको फार्म नियमित रुपमा निःसंक्रमण गर्न भनेको छ।
यस्तै, हाँस तथा कुखुरालाई अलग अलग राख्न, बजारमा बिक्रीका लागि लगिएका पंक्षीलाई फिर्ता नल्याउन र ल्याउनै परे केही दिनका लागि अरु पंक्षीको सम्पर्कबाट टाढा राख्न, प्रयोग भैसकेको अण्डा राख्ने ट्रे पुनः प्रयोग नगर्न र घरपालुवा पंक्षी एक्कासी धेरै संख्यामा बिरामी परेमा वा मरेमा तत्काल सम्बन्धित निकायमा खबर गर्न पनि निर्देशनालयले सचेत गराएको छ।
भारतका दिल्ली, ग्वालियर, केरला लगायतका ठाउँमा गएको महिनादेखि बर्डफ्लूको संक्रमण देखिएको छ। पशुपंक्षी विकास मन्त्रालयले भारतबाट नेपालमा बर्डफ्लू भित्रन नदिन क्वारेन्टाईन कार्यालय र सम्बन्धित पशु सेवा कार्यालयहरुले सर्तकतापूर्वक काम गरिरहेको जनाएको छ।