Aamsanchar

फुजेल घटनाको अन्तिम फैसला मङ्सिर १२ मा

Author Image
बुधवार, कार्तिक २४, २०७३

चितवन।

gangamaya

चितवन जिल्ला अदालतले मङ्गलबारका लागि तोकेको फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अन्तिम फैसलाको मिति सरेको छ । कात्तिक ५ गते वादी, प्रतिवादी र जाहेरवालाका तर्फबाट लिखित बहस नोट पेस भएपछि अन्तिम फैसला मङ्गलबारका लागि तोकिएको थियो ।

अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार सो मुद्दा हेर्दै आउनुभएका अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर बिदामा रहनु भएकाले मुद्दाको अन्तिम फैसला मङ्सिर १२ गते हुने भएको हो । न्यायाधीश कुँवरको आदेशअनुसार वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने र सहायक न्यायाधिवक्ता उदयचन्द्र अधिकारीले लिखित बहसनोट पेस गर्नुभएको छ ।

त्यसैगरी, प्रतिवादीका तर्फबाट १० र जाहेरवालाका तर्फबाट १० जना अधिवक्ताले लिखित बहस नोट पेस गरेको बरालले बताउनुभयो । यसअघि वादी नेपाल सरकारका तर्फबाट दुई, जाहेरवालाका तर्फबाट सात र प्रतिवादीका तर्फबाट १२ जनाले बहस गरेका थिए । असोज २ गते जिल्ला अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले काठमाडौँको वीर अस्पतालमा उपचाररत कृष्णप्रसादकी आमा गङ्गामाया अधिकारीसँग बकपत्र गरी अदालतमा प्रतिवेदनसहित पेस गर्नुभएको थियो ।

सशस्त्र द्वन्द्वको समयमा प्रवेशिका परीक्षा दिएर हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला आएको बेला कृष्णप्रसादलाई अपहरण गरी रत्ननगरको बकुलहरमा विसं २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यसपछि कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिनुभएको थियो । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालत चितवनले २०७१ साल वैशाख ४ गते किटानी जाहेरी भएकामध्ये आठजनालाई धरौटीमा र तीनजनालाई साधारण तारेखमा छाडेको थियो । दुईजना अदालतको सम्पर्कमा आएका थिएनन् जसमध्ये रुद्र आचार्य विदेश रहेको बताइँदै आइएको छ र अर्का विष्णु तिवारी फरार आएका छन् । सर्वाेच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि छविलाल पौडेल समेत फरार भएका छन् । अदालतले सीता अधिकारी, जानुका पौडेल लामिछाने र सुभद्रा तिवारीलाई साधारण तारेखमा छाडेको छ भने भीमसेन भनिने भीष्म पौडेल, हिमलाल अधिकारी, ठूलो रामप्रसाद अधिकारी र पर्शुराम पौडेल (अजीव) लाई प्रतिव्यक्ति २७ हजार रुपैयाँ धरौटीमा तारेखमा छाडेको छ ।

त्यसैगरी मेघनाथ पौडेल, कालीप्रसाद पौडेल, छविलाल पौडेल र रामप्रसाद अधिकारीलाई जनही २० हजार धरौटी राख्न लगाई तारेखमा छाडेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर