Aamsanchar

हरिबोधनी एकादशी यसकारण मनाइन्छ

Author Image
बुधवार, कार्तिक २४, २०७३

काठमाण्डौं । हिन्दु धर्ममा एकादशीलाई त्रिदेवमध्ये भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइने गरिन्छ । हरिबोधिनी एकादशी, वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवम् महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी अर्थात देव उठाव एकादशी पनि भनिन्छ । आषाढशुक्ल एकादशी अर्थात हरिशयनी एकादशीको दिन रोपिएको तुलसीको विवाह यसै दिन गरिन्छ । हरिशयनीका एकादशीदेखि आरम्भ भएको चतुर्मास हरिबोधनी एकादशीको दिन समापन हुन्छ । चर्तुमासभरि व्रत बस्नाले मानिसले गरेका सम्पूर्ण पाप नाश भई जीवन उपरान्त पनि मोक्ष प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ ।

चर्तुमासभरि माङ्गलिक कार्य गर्न नहुने

आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु यसै दिन उठ्नुहुने भएकोले यसलाई हरिबोधनी एकादशी भनिएको हो । पुराणहरूमा उल्लेख गरिएको छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीमा गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने उल्लेख गरिएको छ । यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई  एकादशी माहात्म्यमा बताएका छन् ।

विष्णु क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यता हिन्दु समाजमा अझै पनि रहिआएको छ । चतुर्मासभरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार शुभ मुहूर्त निस्कँदैन । चतुर्मासको अन्त्यपछि मात्रै माङ्गलिक कार्यहरूका लागि मुहूर्त निकालिन्छ ।

भीष्मपञ्चकमा विष्णुको आराधना गर्नाले इच्छित फल पाइने

कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चकभरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला गर्ने गर्दछ । यो अवधिभर नारायण मन्दिरमा मेला भर्न सकिने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।

bhishma-pitamah

चार महिनाअघि अर्थात् आषाढशुक्ल एकादशीको दिन (चतुर्मासको आरम्भमा) आआफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजासँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएकी तुलसीको विसर्जन गरिन्छ ।

हरिबोधनीमा चार नायारणको विशेष मेला

हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन् । बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा ठूलो मेला लाग्दछ । यस. दिन उपत्यकाबाटमात्र नभइ उपत्यकासँगै जोडिएका जिल्लाहरुबाट समेत चारनारायण तथा बुढानीकण्ठमा विशेष मेला भर्न आउँछन् । हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिँडालुलगायतका कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् ।

वर्षमा पर्ने २४ वटा एकादशीमध्ये चतुर्मास ब्रत प्रारम्भ हुने हरिशयनी एकादशी र ब्रत समाप्त हुने हरिबोधनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिन्छ । हरिशयनी एकादशी (असार शुक्ल एकादशी) का दिन आ-आफ्ना घरमा रोपिएका तुलसीलाई पूजाआजा गरी मठ सिङ्गारेर विधिपूर्वक विवाह गराउने गरिन्छ भने गाउँ घरमा श्रद्धालु भक्तहरू ब्राह्मणद्वारा द्वादशीदेखि पञ्चमीसम्म होम यज्ञ गराई एकादशी ब्रतको उद्यापन गर्ने गर्छन् ।

भगवान विष्णुका चार प्रतीक

हिन्दूहरू तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्छन् । हरिशयनी एकादशी (निर्जला एकादशीका) देखि क्षीर सागरमा शयन गरेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन ब्युँझनु हुने भन्ने धार्मिक मान्यताअनुसार यस एकादशीलाई हरिबोधनी एकादशी र यो चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मास अवधिमा शुभारम्भ गरिएका सम्पूर्ण यज्ञ, अनुष्ठान त्यसैदिन समापन गरिन्छ ।

tridev

तुलसीमा ८९ रोग निको गर्ने क्षमता

tulsi

तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि विशिष्टस्थान ओगटेको छ । चिकित्सकहरूकाअनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ । तुलसीको पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्व राख्दछन्  यसले भोक जगाउने, रुचि जगाउने तथा पाचनक्रिया बढाउनुका साथै झाडा(वान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस मृत्यु शैयामा हुँदा प्राण त्याग्नुअघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाइन्छ भनी शास्त्रमा वर्णन गरिएको छ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ ।आनन्द अमृत

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर