भद्रपुर।
विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीका चार जना कार्यकर्तालाई झापाको दमक चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको दमकमा आज विहान ९ देखि १० बजे सम्म एक घण्टा शान्तिपूर्ण चक्काजाम गराउन हिडेको आरोपमा प्रहरीले चारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रणमा रहेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला संयोजक नविन अधिकारी, पार्टी जिल्ला सदस्यहरु सुमनसिह पौडेल, पुष्प अधिकारी र लीला बजगाई रहेको प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्रीले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको उहाले जानकारी दिनुभयो । यता विप्लव नेतृत्वको नेकपा माओवादीले देशमा चर्को महगीको विरुद्ध र खाद्य सम्प्रभुता सुनिश्चताको माग राख्दै आन्दोलित बनेका छन । पार्टीले यसै आन्दोलन स्वरुप यही कार्तिक २८ गते नेपाल बन्दको आवहान गरेको जनाइएको छ ।