काठमाडौंः
चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट वा ¥यापर्समा ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल अग्रस्थानमा परेको छ ।
एक अन्तर्राष्ट्रिय संस्थाले गरेको सर्वेक्षणअनुसार चुरोट तथा सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने विश्वका एक सय पाँच मुुलुकमध्ये नेपाल पहिलो स्थानमा छ । क्यानेडियन क्यान्सर सोसाइटीले दुई वर्षसम्म गरेको अनुसन्धानले चुरोट तथा सुर्तीजन्य पदार्थका प्याकेट तथा ¥यापर्समा डरलाग्दा चित्रात्मक सन्देश राखेर उत्कृष्ट कामसमेत गरेको देखाएको छ ।
उक्त अनुसन्धानमा सहयोग गरेको नेपालको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष शान्तलाल मुल्मीका अनुसार ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने नियम लागू गर्नेमा भनौटा दोस्रो स्थानमा छ भने भारत र थाइल्यान्ड तेस्रो स्थानमा छन् ।
नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ जारी गरेपछि त्यसको चार वर्षपछि सन्देशसँग सम्बन्धित निर्देशिका जारी गरेको थियो । तर सबै उद्योगीले उक्त नियम पूर्ण रूपमा कार्यान्वयन गरेका छैनन् । त्यसले गर्दा धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोग गर्ने मानिस अझै घट्न सकेका छैनन् भने त्यसको घातक असरको सिकार हुने मानिस बढेका छन् ।
स्वास्थ्य मन्त्रालयले पटकपटक उक्त नियम कार्यान्वनका लागि निर्देशन दिए पनि उद्योग सञ्चालकले अटेर गरेका छन् । नेपालमा आयात हुने चुरोट तथा सुर्तीजन्य पदार्थका प्याकेट वा र्यापर्समा भने ९० प्रतिशत चेतावनीमूलक सन्देश नै छापिने गरेको छ ।
विश्वका एक सय राष्ट्रले अझै यस्तो सन्देश राखेका छैनन् । नेपाललाई सहभागी गराइएको अध्ययनको प्रतिवेदन उक्त सोसाइटीले भारतको दिल्लीमा जारी विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सनका सरोकारवालाको सातौं सम्मेलनमा प्रस्तुत गरेको छ । उक्त सम्मेलनमा भाग लिएर फर्किएका मुल्मीले नेपाल नियममा अघि भएकाले कार्यान्वयनमा विशेष जोड दिन आवश्यक रहेको सुझाव सरोकारवालाले दिएको बताए ।
उता सुर्ती नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभिसन्धि (एफसीटीसी) को अनुमोदन गर्ने १ सय ८१ राष्ट्रको सम्मेलन शनिबार सकिने भएको छ । उक्त सम्मेलनमा सरकारले नियमित रूपमा भाग लिने भए पनि यसपालि कोही प्रतिनिधि नगएको उनले बताए ।अन्न्पूर्णबाट