लमजुङ।
लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ । लमजुङकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
वृद्ध चेपाङको निधनले चितीमा रहेको चेपाङ बस्ती शोकमग्न भएको छ । लोपोन्मुख जाति भएको कारण चेपाङ समुदाय जिल्लामै लोकप्रिय छ । त्यसमा पनि सयवर्ष नाघेका बुद्धिबहादुरको निधनले जिल्लावासीलाई दुःखित बनाएको छ । केही वर्षअघिदेखिनै पिँढीबाट सर्न नसकेका वृद्ध चेपाङ पछिल्लो समय निकै कमजोर हुँदै आएका थिए ।
बुद्धिबहादुर जिल्लाका विभिन्न अवसरमा सम्मानित हुँदै आएका थिए र जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र सुन्दरबजारमा निर्माण गरिएको नमुना सामुदायिक अस्पतालको उद्घाटन उनीबाटै गराइएको थियो ।
चेपाङ समुदाय जिल्लाको चिती गाविसको बरबोटबेसी र हिलेटक्सार गाउँमा रहँदै आएका छन् । चेपाङ बस्तीमा तीन महिना बनेरी बस्ने र ९ महिना मजदुरी गर्ने प्रचलन रहेको छ ।