Aamsanchar

निर्माण व्यवसायी  संघमा बस्नेत निर्वाचित

Author Image
बिहिवार, मंसिर ९, २०७३

बिर्तामोड।unnamed

निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा मिलन बस्नेत निर्वाचित भएका छन् । तीन बर्षे कार्यकालका लागि बुधवार भएको निर्वाचनमा बस्नेतले ९४ मत प्राप्त गरी संघको अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।

उनका प्रतिस्पर्धी दीपक खरेलले ६६ मत प्राप्त गरेका छन् । शनिअर्जुन–७का बासिन्दा बस्नेत मंगलश्री कन्ट्रक्सनका सञ्चालक हुन् । उनले निर्माण व्यवसायी संघमा लामो अनुभव संगालेका छन् । तीन कार्यकाल जिल्ला कार्य समिति सदस्य, एक कार्यकाल पूर्वाञ्चल क्षेत्रीय सदस्य र एक कार्यकाल संघको द्वितीय उपाध्यक्ष भएर बस्नेतले जिम्मेवारी सम्हालेका थिए ।
त्यस्तै संघको प्रथम उपाध्यक्षमा शरद खनाल निर्वाचित भएका छन् । उनले ८३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेत्रप्रसाद गौतमले ७७ मत पाएका थिए । त्यस्तै द्वितीय उपाध्यक्षमा मौसम थापा निर्विरोध भएका छन् भने तृतीय उपाध्यक्षमा प्रमानन्द भट्टराई विजयी भएका छन् । भट्टराईले ८३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी जग्गनाथ खनालले ७६ मत पाएका थिए । संघको महासचिवमा पुनः ओम पौडेल निर्वाचित भएका छन् । पौडेलले ८३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी पुष्पराज निरौलाले ७५ मत ल्याएका छन् ।
त्यस्तै सचिवमा योगेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा निर्विरोध रुपमा भीमचन्द्र भट्टराई र सहकोषाध्यक्षमा चन्द्र खत्री निर्वाचित भएका छन् । सदस्य तथा महिला सदस्यमा सबै निर्विरोध भएका छन् । सदस्यहरुमा पुकारचन्द्र राजवंशी, बलबहादुर लिम्बू, भवकिशोर केसी, यज्ञनिधि भूर्तेल, रमेश अधिकारी, लोकेन्द्र श्रेष्ठ, सन्दीप थेवे, सीताराम ढुंगेल, सुरेन्द्र धिमाल, शुलभ खतिवडा र भूमा सिटौला रहेका छन् ।

सर्वसम्मत नेतृत्वको पहल सफल हुन नसकेपछि निर्वाचनमा जानु परेको संघका वर्तमान अध्यक्ष दीपेन्द्र पोखरेलले बताए । उनले निर्वाचन प्रक्रिया मात्र भएकोले सबै व्यवसायीलाई एकताबद्ध रुपमा अघि बढ्न सुझाव दिएका छन् ।  नवनिर्वाचित अध्यक्ष बस्नेतले अग्रजहरुको सुझाव र सबै व्यवसायीको भावनालाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर