Aamsanchar

मायामा उनिएपछि सुन्दर र एकान्त स्थानको चाहना, हनिमुनका लागि गन्तव्य बन्दै इलाम

Author Image
शुक्रवार, मंसिर १०, २०७३

लगनगाँठोमा बाँधिएपछि वा मायालुको मायामा उनिएपछि सुन्दर र एकान्त स्थानको चाहना सबैमा हुन्छ । एकसाथ जीवन बिताउने प्रण गरेका जोडीका लागि त एकान्त र सुन्दर स्थान अझ महत्वपूर्ण हुन्छ । इलाम पनि त्यस्ता जोडीहरूको अब्बल गन्तव्यभित्र पर्छ जहाँ सजिलैसित घण्टौं बिताउन सकिन्छ । हरियाली वातावरण र स्वच्छ हावापानी भएका कारण लगनगाँठो बााधेपछि इलामलाई हनिमुन गन्तव्य बनाउनेहरूको संख्या बढेको तथ्यांकहरूबाट पनि पुष्टि हुन्छ । राजधानी काठमाडौंमा भेटिएका अधिकांश प्रेमी–प्रेमिकाले इलामलाई आफ्नो ‘हनिमुन डेस्टिनेसन’ स्वीकार गरेका छन् । जोडीहरूलाई यहाँका हरेक थुम्का–थुम्कामा रहेको चियाबारी, कोडधारी, सल्लाघारी र स्वच्छ हावापानीले आकर्षित तुल्याउँछ । मुलुकमा शान्ति स्थापना भएपछि यहाँका हरिया चियाबारी डाँडामा प्रशस्तै प्रेमजोडीहरू भेट्न सकिन्छ । दिनहुा बदलिरहने यहाँको मौसमले जोडीहरूलाई आनन्द दिएको छ । यतिबेला मौसममा आएको परिवर्तनले चियाका बुट्टाहरूमा थप हरियाली छाएको छ । चियाका बुट्टामा छेलिएर र सल्लाघारीभित्र लुकेर मज्जा लिनेको संख्या बढ्दैछ । वन भोजका लागि उत्कृष्ट गन्तव्य बनेको पूर्वाञ्चलको चर्चित स्थल कन्याममा सबैभन्दा धेरै प्रेमजोडी भेट्न सकिन्छ । प्रेमजोडीहरू मेची राजमार्गमार्फत मोटर साइकलमै कन्याम यात्रामा गर्छन् । चाडपर्वको सदुपयोग गर्न इलाम पुग्नेहरूको संख्या पनि बढ्दैछ । इलाम जिल्लाका हरेक डाँडा चियाबारीले भरिएकाले नवदम्पती वा प्रेमजोडीका लागि उपयुक्त स्थान भएको छ । पशुपतिनगर, बौद्धधामको सल्लाघारी, पञ्चकन्या मन्दिरको दर्शन र नजिकै करफोकको सल्लाघारीका साथै इलाम सदरमुकाममा रहेका चियाबारी अनि त्यसबीचमा रहेको लभडाँडा पनि प्रेमजोडीका लागि उपयुक्त छ ।
त्यतिमात्र नभएर पाथीभरा मन्दिरमा प्रेमको कसम खाने साथै विवाह बन्धनमा गाँसिएर इलाम घुम्नेहरूको संख्या पनि वृद्धि भैरहेको छ । इलाम सदरमुकामबाट करिब १५ किलोमिटरको दूरीमा रहेको माईपोखरी प्रेमजोडीका लागि उपयुक्त मानिन्छ । माइपोखरी नजिक रहेको जसबीरे चिया बगान पनि जोडीहरूको रोजाइमा पर्छ । चियाबारी ठूलो क्षेत्रफलमा फैलिएकाले प्रेमजोडीलाई जस्तोसुकै क्रियाकलाप गर्न पनि अप्ठेरो छैन तर समाजलाई नपच्ने दृश्यहरू बढ्दै गएकाले कन्यामका पर्यटनकर्मी अनिष राई दुख व्यक्त गर्छन् । राई भन्छन्–‘स्थानीय समाजलाई नपच्ने दृश्यले विकृति भित्राएको छ, त्यसलाई रोक्ने कुनै संयन्त्र छैन ।’ हुन पनि घुम्न आएका पर्यटकलाई अवरोध गरे व्यवसायमै अवरोध पुग्ने सरोकारवालाहरूको ठम्याइ छ । भारतीय पर्यटकहरू बढी मात्रामा आउने सीमावर्ती अन्तुडाँडा र त्यसक्षेत्रका चियाबारी, सल्लाघारी पनि प्रेमजोडीका लागि उचित गन्तव्य हुन् । पर्यटकहरूका लागि अन्तुमा होम स्टेको सुविधा छ ।

सुर्योदयको दृष्यावलोकन, अन्तु पोखरीको बोटीङसँगै भर्खरै निर्माण भएको अन्तु कटेज जस्ता सुविधायुक्त बासस्थानहरुले पनि अन्तु हनिमुन गन्तव्य बन्न मदत गरेको छ । अन्य स्थानमा भने सुविधा सम्पन्न होटल तथा लज उपलब्ध छन् । सबै किसिमका पर्यटकको रोजाइ बन्न सफल कन्याम तन्नेरीहरूका लागि अझ उपयुक्त स्थान मानिन्छ । स्थानीय लेखनाथ दाहाल भन्छन्–‘मोटरसाइकल एकछेउमा राखेर जोडीहरू चियाबारीमा हराउँछन्,’ यतिबेला दैनिक ५ देखि १० वटासम्मको समूह मोटरसाइकलमा आउँछन् अझ गाडीमा त कति हो कति ?’ इलामका हरेकजसो स्थान उचाइमा रहेकाले तराईका फाँटहरू, हिमालका शृंखला तथा पहाडी हरियालीका दृश्यहरू हेर्न पाइने भएकाले बाह्रै महिना पर्यटकहरू आउँछन् । चिया बगानमा मज्जा लिन आउने पर्यटकले घन्टौं बितेको पत्तै पाउँदैनन् ।  नारीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर