Aamsanchar

खड्काको हत्यारा सार्वजनिक गर्न माग

Author Image
आइतवार, मंसिर १२, २०७३

दमक।Hatya

गाडीमा नै जलाएर हत्या गरिएका झापाका एक चालकको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न झापाका यातायात व्यवसायी तथा मजदुर सङ्घ सङ्गठनले माग गरेका छन् ।

रामेछापको निगलापानी भन्ने स्थानमा गाडीमा नै जलेको अवस्थामा भेटिएका लखनपुर–१ का २५ वर्षीय विशाल खड्काको नियोजित ढङ्गबाट हत्या भएको भन्दै जिल्लाका यातायात व्यवसायी तथा मजदुरजन्य सङ्घसंस्थाले कारबाहीको माग गरेका हुन् ।

आज दमकमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल यातायात मजदुर सङ्घ, नेपाल ट्रेड युनियन, कनकाई यातायात सङ्घ र मेचीनगर ट्याक्सी व्यवसायी सङ्घले हत्यामा संलग्नको तत्काल पहिचान गरी कारबाही गर्न माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात मजदुर सङ्घका जिल्ला वरिष्ठ उपाध्यक्ष विश्वासकुमार काश्यपले यो घटनाले यातायात चालकको पेसा नै खतरामा परेको बताउनुभयो ।

मे १ झ २१८७ नंको टाटासुमो चलाएर काठमाडौँदेखि पूर्वतर्फ आउँदै गरेका खड्काको गत मङ्सिर ९ गते रामेछापको निगलापानी भन्ने स्थानमा पछाडिको सिटमा राखी जलाएर हत्या गरिएको अवस्थामा भेटिएको थियो । पत्रकार सम्मेलनमा पूर्वाञ्चल यातायात व्यवसायी सङ्घका पूर्व अध्यक्ष गङ्गा सिटौलाले शव भेटिएको प्रकृति हेर्दा यो नियोजित ढङ्गबाट हत्या भएको भन्दै हत्यारालाई तत्काल सार्वजनिक गरिनुपर्ने माग गर्नुभयो ।

ती सङ्गठनले घटनाको कडा शब्दमा भत्र्सना गर्दै २४ घन्टाभित्र हत्यारा सार्वजनिक गर्न प्रशासनलाई अल्टिमेटमसमेत दिएको बताएका छन् । घटनास्थल पुग्नुभएका सिटौलाले उक्त घटना भवितव्य हुन नसक्ने भन्दै पाशविक तवरले हत्या नै भएको दाबी गर्नुभयो ।

मृतकको शव अझै परीक्षण हुन सकेको छैन । उनको शव परीक्षणका लागि काठमाडौँस्थित शिक्षण अस्पतालमा राखिएको बुझिएको छ ।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर