ताप्लेजुङ।
चीन सरकारले ताप्लेजुङको ओलाङ्चुुङ्गोलाबाट टिपताला पाससम्मको भागमा आफ्नो भूमि हुँदै डोजर ल्याउन नेपाललाई अनुमति प्रदान गरेको छ ।
तिब्बतस्थित तिङ काउन्टीको रिउ बजार क्षेत्रमा रहेका डोजर तथा औजार प्रयोग गरी टिपतालापास हुँदै ओलाङ्चुङ्गोलातर्फको भागमा सडक खन्न अनुमति दिएको हो । सो अनुमतिसँगै उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्यले गति लिने सम्भावना बढेको छ ।
यसअघि टिपतालापाससम्मको भागमा सडकको ट्र्याक खोल्ने तयारी गरे पनि चीनको अनुमति नहुँदा काम अघि बढ्न सकेको थिएन । चीनले गत मङ्सिर २ गते आफ्नो भूमि हुँदै डोजर ल्याउन अनुमति प्रदान गरेको सांसद डम्बरध्वज तुम्बाहाम्फेले जानकारी दिनुभयो ।
ओलाङ्चुुङ्गोलाबाट टिपतालापाससम्मको दूरी करिब २२ किलोमिटर रहेको छ । अहिले चीनले रिउ बजार हुँदै टिपतालापाससम्मको दशगजा क्षेत्रमा सडकको ट्र्याक खोलेर यातायात सञ्चालन गरिरहेको छ ।