[नरेन्द्र ढकाल]
झापा ।

झापामा एचआइभी एड्स रोगका कारण ४६ जनाको मृत्यु भएको छ । २०६४ साल यताको तथ्याङ्क अनुसार ५०१ जनामा एचआइभी सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका सुचना अधिकारी देवराज कार्कीले जानकारी दिए ।
रोग लुकाउने तथा सम्बन्धित निकाय सम्म जानकारी नआएकाहरु पनि हुन सक्ने कार्कीले बताए । उनका अनुसार असुरक्षित यौन सम्र्पकका कारण नै धेरैमा यो रोग फेला परेको छ । लागुऔषध, विभिन्न असुरक्षित सुईको प्रयोग, नजँचाई प्रयोग गरिने बल्डका कारण यो रोग गर्ने बताइएको छ । यो रोग हावाको माध्यमबाट नभई यौन तथा संक्रमित ब्यक्तिको तरल पर्दाथ अर्को ब्यक्तिमा प्रवेश गरेमा सर्ने कार्कीको भनाई छ ।
झापामा १५ देखि ४० वर्ष उमेर समुहका मानिसमा यो संक्रमण हुने गरेको जनाइएको छ । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालयले प्रत्येक तीन महिनामा स्वास्थ्य परिक्षण गराउन सुझाव दिएको छ । यदि एचआइभी संक्रमण भएमा मेची अञ्चल अस्पतालमा रोकथामका लागी एआरटी नाम औषधी निःशुल्क रुपमा पाइने बताइएको छ । यो औषधीको नियमति सेवन तथा आफु यौन गर्दा सुरक्षित तरिकाले गर्न आग्रह गरेको छ ।

यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय झापाको सहकार्यमा मेचीनगरपालिका, विर्तामोडनगरपालिका, कनकाई नगरपालिका, दमक नगरपालिका र भद्रपुर नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरिएको सुचना अधिकारी कार्कीले बताए । यसैबीच पछिल्लो समय नेपालमा असुरक्षित यौन सम्पर्कका करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमण जोखिम तथ्याङ्क सार्वजानिक भएको छ ।
विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आयोजना गरेको कार्यक्रममा बाँकी सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेशिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा रहेको बताइएको छ । झापामा समेत यौन सम्र्पक लगाएका कारणले एचआइभी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका सुचना अधिकारी देवराज कार्कीले जानकारी दिएका छन् ।
यसैबीच आज मङ्सिर १६ गते अर्थात् डिसेम्बर १ मा विश्व एड्स दिवस झापा सहित देशभर ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित मनाईदैंछ । जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रका चिकित्सकहरुले बताएका छन् । प्रत्येक वर्ष नेपालमा अनुमानित एक हजार तीन सय ३१ नयाँ सङ्क्रमित थपिने र दुई हजार दुई सय ६३ एड्स रोगीको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजानिक भएको छ ।

सन् २०१५ को डिसेम्बर सम्मको तथ्याङ्कअनुसार नेपालमा करिब ३९ हजार तीन सय ९७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । तीमध्ये २४ हजार चार सय ४९ पुरुष र १४ हजार नौ सय ४८ महिला सङ्क्रमित छन् भने विश्वमा अहिले करिब तीन करोड ६७ लाख व्यक्ति एचआइभी सङ्क्रमित भएको अनुमान गरिएको छ । गत वर्ष नेपालमा एचआइभी एड्स सङ्क्रमित एक सय सात शिशुको जन्म भएको र उनीहरुको उपचार भइरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

