Aamsanchar

संविधान संशोधन विधेयकको विरोधमा बुटबलमा विशाल प्रदर्शन

Author Image
शुक्रवार, मंसिर १७, २०७३

बुटबल :

title-butwal_qCdV8fy9eh

सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा बुटबलमा शुक्रबार प्रमुख पार्टीले प्रदर्शन गरेका छन्।  प्रदर्शनमा सहभागी भएकाहरुले ‘प्रदेश नम्बर ५ टुक्र्याउन नपाइने’ नारा लगाए।

बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शनको नेतृत्व नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, माओवादी केन्द्र संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारी र राष्ट्रिय जनमोर्चाका प्रवक्ता दुर्गा पौडेलले गरेका थिए। अखण्ड प्रदेश नम्बर ५ कायम गर, विखण्डनकारी संसोधन प्रस्ताव फिर्ता गर, दलीय एकता जिन्दावाद जस्ता नारा प्रदर्शनकारीहरुले लगाएका थिए।

जुलुस ट्राफिक चोकमा आएर सभामा परिणत भएको थियो। सभामा नेताहरुले संविधान संसोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनीहरुले तराई र पहाडलाई टुक्राएर तराईलाई अलग्गै राज्य बनाउन खोजिएको आरोप लगाए। पूर्व र पश्चिममा शीर्ष नेताको स्वार्थ पूरा गरेर पाँच नम्बर प्रदेशलाई तारो बनाएको उनीहरुको आरोप थियो। सभामा एमाले उपमहासचिव विष्णु पौडेलले सरकारले संविधान संसोधन प्रस्ताव फिर्ता नगर्दासम्म आन्दोलन नरोकिने बताए।

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले मधेशी मोर्चा, प्रतिपक्षी दलहरु र सत्तारुढ दलहरु प्रस्तावको विरोधमा रहेकोले सरकारले ल्याएको प्रस्ताव फेल हुने बताए। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले ल्याएको प्रस्तावले तराई र पहाडको सम्बन्धलाई टुटाउन खोजेको आरोप लगाए। उनले सरकारले कसैबाट निर्देशित भएर प्रस्ताव ल्याएकोले यसमा नेपालीको अपनत्व नभएको बताए।

राष्ट्रिय जनमोर्चाका प्रवक्ता दुर्गा पौडेलले मुलुकलाई नै विखण्डन गराउने गरी आएको प्रस्तावलाई जनताले अस्वीकृत गरिसकेको बताए। यसअघि संयुक्त संघर्ष समितिको आयोजनामा संयुक्त अगुवा कार्यकर्ता भेला भएको थियो। भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले सरकारले ल्याएको संसोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका थिए।

भेलामा एमाले नेताहरु विष्णु पौडेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलगायतका नेताहरुले प्रशिक्षणमूलक सम्बोधन गरेका थिए। भेलाले प्रदेश नम्बर ५ का सबै जिल्लामासबै दलहरु, संघसंस्थाहरुको सहभागिता हुने गरी संयुक्त संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

संविधान संसोधन प्रस्ताव फिर्ता लिन माग गर्दै रुपन्देही, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्ला बन्द भएपछि जनजीवन प्रभावित भएको छ। बन्दका कारण शिक्षण संस्था र बजार खुलेका छैनन्। लामो तथा छोटो दुरीका यातायातका साधन चलेका छैनन्। थाहाखबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर