Aamsanchar

१० लाख लिएर प्रेमिका हत्या गर्ने पक्राउ, प्रहरीसमक्ष स्वीकारे आरोप

Author Image
शुक्रवार, मंसिर १७, २०७३

नुवाकोट,

images

विदुर नगरपालिका-११ त्रिशूली बजारकी ४५ वर्षिया प्रतिमा अमात्यको हत्या आरोपमा प्रहरीले रसुवा सरमथली–२ का १९ वर्षका रमेश लामा तामाङलाई पक्राउ गरेको छ ।

पैसाको लागि आफूभन्दा २६ वर्ष जेठी महिलासँग प्रेमसम्बन्ध राखेर ६ महिना अघि हत्या गरि उनी काठमाडौंमा बस्दै आएको प्रहरीले जनाएको छ । रमेशलाई बिहीबार पक्राउ गरि प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । प्रतिमाको फिकुरी–८ गोगनेको जंगलमा गएको जेठ २० गते हत्या भएको हो ।

काठमाडौंले बस्दै आएका रमेशलाई प्रहरीले बिहीबार पक्राउ गरी बयानको आधारमा घटनास्थल पत्ता लगाई शवको उत्खनन् गरेको छ । जंगलमा गाडेको अवस्थामा उत्खनन् गरेको शवको टाउको भने फेला नपरेको प्रहरीले जनाएको छ।

नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक देवबहादुर बोहोराले प्रतिमाको घर बेचेको १० लाख रुपैयाँ रमेशले लिएको स्वीकारेको र त्यससम्बन्धी अनुसन्धान भइरहेको बताउनुभयो । मृतककी बहिनी चितवनको भरतपुर उपमहानगरपालिका–२ बस्दै आएकी निरा श्रेष्ठले गएको जेठदेखि दिदी प्रतिमा बेपत्ता भएकोले खोजी गरिदिन भन्दै मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदन दिएपछि प्रहरीले खोजतलासको क्रममा प्रतिमाको हत्या भएको पत्ता लगाएको हो ।

प्रहरीका अनुसार रमेश भूकम्पपछि त्रिशूलीमा मजदुरी गर्नेक्रममा प्रतिमासँग हिमचिम बढेपछि उनीहरुले विदुरमा एक महिनासम्म कोठा लिएर सँगै बसेका थिए । प्रतिमासँग १० लाख रुपैयाँ हात पारेपछि प्रतिमालाई विवाह दर्ता गर्ने, नागरिकता बनाइदिने भन्दै त्रिशूली देखि बेत्रावतीसम्म बसमा त्यसपछि हिँडेर ठूलोगाउँ जानेक्रमा फिकुरी–८ गोगनेको जंगलमा लगेर हत्या गरेर भोलिपल्टै रमेश काठमाडौं गएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनास्थलमा हत्यामा प्रयोग भएको एक थान पिक, हातेआरो एक थान, मृतकले लगाएको घडी एक थान फेला पारेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर