Aamsanchar

नेपालकै टपटेन अञ्जलि ओभरसिजको ११ औं वार्षिकोत्सव

Author Image
आइतवार, मंसिर १९, २०७३

anjali copyसुरुङ्गा।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले नेपाल सरकारका मन्त्री तथा मन्त्रालयका सचिवहरुका कारण वैदेशिक रोजगार व्यवसाय गम्भीर समस्यामा परेको बताएका छन् ।
अञ्जलि ओभरसिज प्रालिको ११ औं वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान एवम् कर्मचारी मिलन कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा वैदेशिक रोजगारको प्रभावकारी प्रशासन र व्यवस्थापन हुन नसक्नाले राज्य ठूलो समस्याको दुष्चक्रमा परेको उनको भनाइ थियो । बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा सरकारका मन्त्री तथा उपल्लो तहका कर्मचारीहरुको व्यक्तिगत स्वार्थका कारण कठिनाइ भएको उनको आरोप थियो ।
उनले भने– ‘वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने कुरामा सरकार उदासिन छ, निर्णयकर्ता सचेत छैनन् । सरकारका मन्त्री र सचिवहरु गैरजिम्मेवार छन् ।’ वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि नेपाल सरकारले लागू गरेको वैदेशिक रोजगार सम्बन्धी ऐन, नियम, निर्देशिका, कार्यप्रणाली सम्बन्धी नीतिगत कार्यमा जटिलता भएको उनको भनाइ थियो ।
वैदेशिक रोजगारीमा जानु बाध्यता भएको र मुलुकमा रोजगारको व्यवस्था हुने हो भने हरेक वर्ष ५ लाख भन्दा बढी युवा बिदेशिनु नपर्ने भन्दै अध्यक्ष ढकालले सस्तो लोकप्रियताका लागि फ्रि भिसा र फ्रि टिकट तथा न्यूनतम लागतमा विदेशमा पठाउने कुरा कर्णप्रिय लागे पनि यो सस्तो लोकप्रियताका लागि र गलत नियत राखेर गरिएको निर्णय भएको उनको दावी थियो ।
उनले भने– ‘सरकारका मन्त्री तथा सचिवहरु वैदेशिक रोजगारलाई ठगी खाने भाँडो बनाउन चाहन्छन् र यसलाई व्यवस्थित र मर्यादित बनाउनुको सट्टा आफ्नो स्वार्थका लागि हलो अड्काएर गोरु चुट्ने नीति अनुसार गलत फाइदा उठाउन चाहन्छन् ।’ अन्तर्राष्ट्रिय माफियाहरुको गलत प्रभाव र आर्थिक चलखेलका कारण गलत निर्णय गरेको उनको संगीन आरोप थियो । रोजगारमा जानेले चर्को शुल्क तिर्नु नपरोस् भन्नेमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ सचेत रहेको उनको भनाइ थियो । सरकारले युवाहरुलाई व्यक्तिगत स्वार्थका कारण ठगिरहेको उनको भनाइ थियो । वार्षिक ६ अरब रुपैयाँभन्दा बढी विप्रेषण भित्र्याइरहेको वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीलाई भेटेर कुरा राखेको बताउँदै ढकालले वैदेशिक रोजगारका क्षेत्रमा सरकारबाट भएका गलत निर्णयका कारण सृजित अस्तव्यस्तताका विरुद्धमा राज्यको चौथो अंगको रुपमा रहेको सञ्चारजगतले उजागर गर्न सुझाव दिए । यस सम्बन्धमा सञ्चार क्षेत्र पनि उदासिन भएकोमा र वैदेशिक रोजगार व्यवसायका क्षेत्रमा भएका केही गलत कुरालाई मात्र समाचार बनाएकोमा उनले दुःख व्यक्त गरे । वैदेशिक रोजगार व्यवसायीहरु दूधले नुहाएको नभई यस क्षेत्रमा पनि कमीकमजोरी रहेको उनको स्वीकारोक्ति थियो । गलत व्यवसायीलाई फिल्टर गर्न सबै क्षेत्रबाट प्रयास भइरहेको उनले बताए ।
अध्यक्ष ढकालले एक महिनाभित्रमा प्रत्येक प्रदेशमा एक शाखा कार्यालय खोल्न प्रक्रिया अघि बढिरहेको बताएका छन् । उनले व्यवसायीलाई नआत्तिकन व्यवसाय सञ्चालन गर्न समेत सुझाएका छन् । राम्रो काम गर्ने व्यवसायीलाई सम्मान र पुरस्कृत गरिने संघको नीति रहेको उनको भनाइ थियो । केही नराम्रा व्यवसायीका कारण सिङ्गो संस्थानै वदनाम भएको स्वीकार्दै उनले सम्पूर्ण शाखा तथा सम्पर्क कार्यालयका प्रतिनिधिलाई सिधासाधा सर्वसाधारणलाई झुटो आश्वासन दिएर मोटो रकम नलिन आग्रह गरे ।
अञ्जलि ओभरसिज देशको ‘टपटेन’मा रहेको चर्चा गर्दै उनले भने– आगामी दिनमा यसले पहिलो स्थान ओगट्न सफल होस् म शुभकामना दिन्छु ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलाले वैदेशिक रोजगारले देशको अर्थतन्त्रमा ठूलो सहयोग पु¥याएको बताउँदै कुनै समस्या आए श्रम कार्यालय र जिल्ला प्रशासनसँग व्यवसायीलाई राखेर समस्या समाधान गर्न आफू तत्पर रहेको बताए । उनले पछिल्लो समय यो व्यवसायलाई जिल्ला प्रशासन कार्यालयले नजिकबाट नियालेको समेत बताए । उनले कोही पनि सर्वसाधारणलाई मेनपावर व्यवसायीले नठग्न सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै अञ्जली ओभरसिज प्रालिका प्रबन्ध निर्देशक टीका शिवाकोटीले सरकारको उदासीनताका कारण वैदेशिक रोजगार दिनदिनै बदनाम भएको र विदेश जाने युवाको संख्यामा समेत कमी आएको बताए । देशको ३० प्रतिशत अर्थतन्त्र वैदेशिक रोजगारीले धानेको चर्चा गर्दै उनले विदेशी कम्पनीले नेपाली कामदारलाई पहिलो प्राथमिकता दिएर भिषा दिने गरेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्कीले वैदेशिक रोजगारले देशको अर्थतन्त्रमा ठूलो टेवा पु¥याएकाले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले भने– यो व्यवसायले गाउँ–गाउँमा वेरोजगार भएर वसेका युवालाई स्वरोजगार बनाएको छ ।
रेडियो ब्रोडकास्टिङ एशोसिएशनका उपाध्यक्ष कुमार भट्टराई, सिनेकर्मी ऋषिराज आचार्य, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, स्वास्थ्य व्यवसायी संघका वरिष्ठ सल्लाहकार मदन खनाल, केन्द्रीय कार्यालयका सुनिता चौधरी, कतारका निर्देशक अर्जुन शर्मा, काठमाडौका पुण्य उप्रेती, इटहरी शाखाका पुष्प ओली लगायतले मन्तव्य राखेका थिए । समाजसेवी व्यक्तित्वहरु पदम प्रसाई, अग्नि पाण्डे, श्याम खड्गी, गायक प्रेम आङ्दाम्बे लगायतको आतिथ्य रहेको कार्यक्रममा अञ्जली ओभरसिजका बिर्तामोड प्रबन्धक ज्ञानु प्रसाईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन राजन ढुंगेलले गरेका थिए । धनुषकोटी पर्यटकीय क्षेत्रको वनभोज स्थलमा भएको उक्त वार्षिकोत्सवमा औपचारिक कार्यक्रमपछि सहभागी सबै वनभोजमा सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन गर्दै अञ्जली ओभरसिज प्रालिका अध्यक्ष भानुप्रसाद शिवाकोटीले देश विकेन्द्रीकरणमा गइरहेका वेला यो व्यवसायलाई मर्यादित बनाउन प्रत्येक अञ्चलमा एक शाखा कार्यालय र श्रम कार्यालयको स्थापना हुनुपर्ने माग गरे । विदेश जाने कामदार काठमाडौंसम्म जाने र आउने, मेडिकल लगायतको सबै काम स्थानीयस्तरबाट हुनुपर्ने उनको माग थियो । उनले आगामी दिनमा अञ्जलीको सेवालाई थप मर्यादित त व्यवस्थित गर्दै लाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर