Aamsanchar

अञ्चल अस्पतालमा समस्याको चाङ

Author Image
आइतवार, मंसिर १९, २०७३

mechioपार्थ मण्डल

भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरमा कार्यरत चिकित्सक तथा प्राविधिक कर्मचारी ड्युटी समयमा अस्पतालमा नभेटिने गरेको खुलासा भएको छ ।
सरकारी अस्पतालमा चौबीसै घण्टा चिकित्सक तथा प्राविधिक हुनुपर्ने अवस्थामा मेचीका कर्मचारी ड्युटी समयमा अस्पतालमा नभेटिँ्दा सेवा लिन आउने बिरामी र बिरामीका आफन्त समस्या परेका छन् ।
सरकारको तलब भत्ता खाएर काम गर्ने ती कर्मचारी अञ्चल अस्पताललाई अस्तव्यस्त बनाउने खेलमा लाग्दा पनि अस्पताल प्रशासान रमिते बनेको पाइएको छ । प्रशासनलाई कर्मचारीको बारेमा थाहा हुँदाहँुदै पनि कुनै ठोस् कदम नचाल्दा उनीहरुको मनोबल दिनप्रतिदिन बढ्दै गइरहेको स्थानीयबासी बताउँछन् । विशेषगरी अस्पतालमा एक्स–रे, ल्याव, आकस्मिक कक्ष र ओपीडी सेवामा कार्यरत चिकित्सक र कर्मचारीले आफ्नो छुट्टै ड्युटी समय बनाएका छन् । अस्पतालले तोकेको भन्दा फरक समयमा काम गर्ने ती कर्मचारी कहिले पनि ड्युटी समयमा नभेटिने गरेको बिरामीका आफन्तले गुनासो गर्न थालेका छन् ।
ड्युटी समयमा अन्य काममा बाहिर जाने गरेकोले विरामीका आफन्त कर्मचारी खोज्न दौडधुप गर्नु परेको दृष्य अस्पतालमा बस्ने जो कोहीले देख्न पाउँछ ।
एक्स–रे कक्ष प्रभावित
सरकारी बिदा होस् या ड्युटी समयमा नै किन नहोस्, एक्स–रेमा खटिने कर्मचारी एक्स–रे कक्षमा फेला नपरेको एक सेवाग्राहीले बताए । भद्रपुर–८ बस्ने रमेश कार्की आफ्ना बुबा भीष्मकुमार कार्कीको उपचारका लागि शनिवार बिहान मेची अस्पताल पुगे । अस्पतालमा पुगेपछि चिकित्सकको सल्लाह अनुसार बुबालाई वेडमा भर्ना गराए । वेडमा भर्ना भएपछि चिकित्सकले एक्स–रे सहित ६ वटा समस्या जाँच गराउन लेखिदिए । छोरा रमेश ६ वटा समस्याको पूर्जा काट्न काउन्टर गए । त्यहाँ उनले एक्स–रेको १ सय ३० रुपैयाँसहित ६ वटा शीर्षकमा ५ सय ६० रुपैयाँ तिरेर पूर्जा काटे । एक्स–रे बाहेक सबैको जाँच गराए । जब रमेश बुबालाई लिएर एक्स–रे कक्षमा पुगे त्यहाँ ड्युटीमा प्राविधिक भेटिएनन् ।
प्राविधिक नभेट्टाएपछि रमेश एक घण्टासम्म अस्पतालका अन्य कर्मचारीलाई भेटेर प्राविधिक खोज्न थाले तर प्राविधिक फेला परेनन् । अन्ततः उनले अस्पताल गेट अगाडि निजी क्लिनिकमा एक्स–रे गराए । सो वापत २ सय रुपैयाँ तिर्नु परेको छोरा रमेशले बताए । अस्पतालमा सस्तो तथा छिटोछरितो काम हुनुपर्नेमा एक्स–रेमा कर्मचारी नहुँदा ७० रुपैयाँ बढी तिरेर बाहिर क्लिनिकमा गराउनु परेकोले यसमा अस्पताल प्रशासनकै लापरबाही देखिएको छोरा रमेशले गुनासो पोखे । उनले अस्पताललाई एक्स–रेको १ सय ३० रुपैयाँ तिरेकोले अस्पतालका कर्मचारीले उनको पूर्जामा एक्स–रेको पैसा फिर्ता गराउनुपर्छ भनी हातले लेखिदिए ।
पछि खोज्दै जाँदा शनिवार विहान एक्स–रे ड्युटीमा प्राविधिक कर्मचारी शारदानन्द ठाकुर (पप्पु) रहेको पत्ता लाग्यो । तर, विहान साढे ९ बजेसम्म ठाकुर अस्पताल परिसरमै थिएनन् । एक्स–रे कक्षमा चार जना प्राविधिक कर्मचारी शरादानन्द ठाकुर (पप्पु), दिलीप यादव, उद्धव अधिकारी र स्मृति राई रहेका छन् । उनीहरुले दैनिक ८ घण्टा ड्युटी गर्नुपर्ने अस्पताल प्रशासनले समय तोकेको छ । तर, उनीहरु मध्ये अधिकांश ड्युटी समयमा फेला पर्दैनन् । उनीहरुले नाइट भत्ता पनि बुझ्छन् । तर, पनि अस्पतालमा प्रशासनले यसतर्फ कुनै चासो देखाएको छैन ।
आकस्मिक सेवा पनि प्रभावित
अस्पतालको आकस्मिक (इमर्जेन्सी सेवा)मा चौबीसै घण्टा एक जना चिकित्सकसहितको टोली खटिनुपर्छ । उक्त टोलीले दिनको ८ घण्टाको दरले ड्युटी अनिवार्य गर्नुपर्ने हुन्छ । रात्रीकाली सेवा १२ घण्टा गर्नुपर्ने हुन्छ ।
मेची अञ्चल अस्पतालले आकस्मिक कक्षमा तीनवटा टोली खटाएको छ । तर, चिकित्सक मध्यरातपछि भने सेवामा कक्षमा कहिले फेला पर्दैनन् । यस्तै घटना घट्यो– शनिवार बिहान २ बजे । एक जना आफ्ना नानीलाई लिएर बिहान २ बजे उपचारका लागि आकस्मिक कक्ष पुगे । त्यहाँ पुग्दा चिकित्सक फेला परेनन् । उनीे चिकित्सक खोज्न थाले र वरिपरिका क्लिनिकलाई पनि सोधे । चिकित्सक फेला नपरेपछि उनी नानीलाई लिएर अस्पतालबाट निराश भएर फर्किएर जानु परेको एक प्रत्यक्षदर्शीले सुनाए । शनिवारको रात्रीकाल ड्युटीमा डा. सकुल हुनुपर्ने हो तर डा. सकुल विदामा बसेकाले उनको स्थानमा डा. सन्तोष थिए । तर उनी रातिको ड्युटीमा नभएको अस्पतालकै कर्मचारी बताउँछन् ।
त्यति मात्र नभएर आकस्मिक कक्षमा रहेको टोलीले आपसी समझदारीमा चौबीस घण्टा ड्युटी गर्छन्, अरु दिन बिदा बस्नलाई । चौबीसै घण्टा ड्युटी गर्ने टोलीले राम्रो सेवा दिन नसक्ने भन्दै अस्पतालको नियम अनुसार नै ड्युटी गर्नुपर्ने स्थानीयको माग छ ।
ल्याव सेवा प्रभावित
अस्पतालको महत्वपूर्ण अंगका रुपमा ल्यावलाई लिइन्छ । ल्यावमा बिरामीका रगत, दिसा, पिसाब, जाँच गर्नुपर्ने हुन्छ । तर, अस्पतालको ल्याव पनि लथालिङ्ग छ । ल्यावमा ८ जना कर्मचारी कार्यरत छन् । ल्याव इञ्चार्ज रामचन्द्र झा, जीतेन्द्र झा, लखेन्द्रप्रसाद यादवसहित भोलिन्टियर ३ र समितिबाट २ जना कार्यरत छन् । उनीहरुको ड्युटी पनि अस्पताल प्रशासनले तोकिदिए पनि कर्मचारी ल्यावमा नभेटिने गरेको विरामीहरुको गुनासो छ । ल्यावमा ८ जना कर्मचारी हँुदाहँुदै सेवा लिन आउने बिरामीलाई विभिन्न मेडिकल कलेजबाट आउने सिकारु विद्यार्थीहरुलाई रगत तान्न लगाउँछन् । उनीहरुले रगत तान्दा बिरामी नै समस्या पर्छन् । किनभने सिकारु विद्यार्थीले बिरामीको नशा नै भेट्टाउँदैन । यसतर्फ पनि अस्पताल प्रशासन चुकेको स्थानीयको भनाइ छ ।
ओपीडी सेवा प्रभावित
सरकारले ओपीडी सेवाको समय तोकिदिएको छ । सो समय बिरामीले देख्ने गरी नागरिक वडापत्रमा उल्लेख गर्नुपर्ने हुन्छ । तर, अस्पतालको नागरिक वडापत्रमा ओपीडी सेवा र समय उल्लेख नै गरेको छैन । स्वास्थ्य मन्त्रालयले हालै आपीडी सेवा १० देखि ५ बजेसम्म तोकेको छ । मन्त्रालयले तोकेको समय मेचीमात्र होइन देशका सबै सरकारी अस्पतालमा लागू नभएको अवस्था छ । सरकारी अस्पतालले ९ देखि २ बजेसम्म ओपीडी सेवा दिइरहेका छन् । तर, मेचीका अधिकांश चिकित्सक ९ बजे अस्पताल नआउने गरेको पाइएको छ । उनीहरु ११ बजेदेखि ओपीडी सेवा दिने गरेका छन् । ९ बजे पुर्जा काटे पनि विरामीले घण्टौ कुर्नु पर्ने अवस्था मेचीमा अझै पनि कायम छ । यसतर्फ अस्पताल विकास समिति र प्रशासनीक निकाय दुवै चुकेको बताइन्छ ।
के भन्छन् अस्पालतका मेसु
अस्पतालका मेसु डा. पिताम्बर ठाकुरअस्पतालमा धेरै सुधार भएको बताउँदै चिकित्सक र कर्मचारीबाट कुनै पनि गल्ती नभएको दावी गरेका छन् । अस्पतालमा रहेको एक्स–रे, ल्याव, ओपीडी सेवा, आकस्मिक कक्षमा चिकित्सक र कर्मचारीको लापरवाही बढेको बिषयमा जिज्ञासा राख्दा उनले भने– त्यस्तो पाइएमा बिरामीले सोझै मलाई जानकारी गराए तत्काल सुधार गर्नेछु । त्यस्तो पाइएको खण्डमा त्यस्ता चिकित्सक तथा कर्मचारीलाई अस्पताल प्रशासनले छुट्टै कार्वाही गर्ने समेत उनले बताए ।

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर