Aamsanchar

सुनसान बन्दै सगरमाथा क्षेत्र

Author Image
शनिवार, पौष २, २०७३

सोलुखुम्बु,sagarmathaa

केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थल विस्तारै सुनसान हुँदै जान थालेको छ ।

पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौमा परेका होटल व्यवसायी अहिले भने फुर्सदिला छन् । कतिपय  व्यवसायी त होटल समेत बन्द गरेर काठमाडौं गएका छन् ।

चिसो बढेकाले खुम्बु आएका पर्यटक क्रमशः फर्कन थालेपछि  सोलुखूम्बुको मुख्य पर्यटकीय स्थल सुनसान बन्दै गएका हुन् । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्प लगायतमा अहिले पर्यटकको चहलपहल निकै कम छ ।

केही दिन अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा पर्यटक भरियाको ताँतीले गर्दा आवातजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले एक दुई जना पर्यटक मात्रै भेटिन्छन् ।

पर्यटकको मुख्य सिजन मानिने कात्तिकको मध्यतिर एकैदिन ५ सयको हाराहारीमा पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले दैनिक ३०/४० जनाको दरले आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय मन्जो चेकपेष्टले जनाएको छ ।

यस वर्ष हरेक महिनामा खुम्बु प्रवेश गर्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको स्थानीय व्यवसायीले बताएका छन् । अघिल्ला वर्षमा जस्तो लामो समयसम्म मौसमले धोका नदिएको र भूकम्पको त्रास पनि अन्त्य भएकाले यो वर्ष पर्यटब बढेको उनीहरु बताउँछन् ।  सन् २००३ बाट उकालो लागेको सोलुखुम्बुको पर्यटकको संख्या सन् २००८ मा ३० हजार ५ सय ९९ पुगेको थियो ।

सन् २०१० मा ३२ हजार १ सय २४ जना पुगेको खुम्बुमा पर्यटक संख्या बढेर २०११ मा ३४ हजार ५ सय ७१  जना पर्यटक खुम्बु प्रवेश गरेका थिए । क्रमशः उकालो लागेको सोलुखुम्बुको पर्यटक संख्या सन् २०१३ मा ३६ हजार दुई सय १२, २०१४ मा ३७ हजार १ सय २४ पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

लगातार उकालो लागेको पर्यटक संख्या २०१५ मा घटेर २७ हजार ४ सय ६५ भएको थियो । भुकम्पका कारण एक्कासी पर्यटकको संख्या घटेको पर्यटन व्यावसायीको भनाई छ । यो वर्ष भने पर्यटकको संख्या बढेको छ । आधिकारिक तथ्यांक भने आउन बाँकी छ ।

Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर