Aamsanchar

झापामा आत्महत्या भयावह बन्दै

Author Image
आइतवार, पौष ३, २०७३

[सुरेन्द्र भण्डारी]

बिर्तामोड,।Screenshot (19)
कक्षा ११को परीक्षा बिग्रिएको पीडा सहन नसकी झापा बिर्तामोड–६ निवासी एक किशोरीले शुक्रवार झुण्डिएर आत्महत्या गरिन् ।

बिर्तामोडस्थित एक कलेजमा अध्ययनरत् ती किशोरीले घरको सिलिङमा सलको पासो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनी जस्तै इलाम लक्ष्मीपुर–२ निवासी १९ बर्षीय एक किशोरीले पनि ११को परीक्षामा सोचे जस्तो नतिजा (डिस्टिङ्सन) ल्याउन नसकेपछि शनिवार आत्महत्याको असफल प्रयास गरिन् ।

उनी बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उपचार पछि अहिले घर फर्किएकी छन् । उनले शनिवार दिउँसो १ः२०मा आत्महत्याको असफल प्रयास गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए । इलामबाट अध्ययनका लागि झापा आएकी उनी बिर्तामोड नगरपालिका–६ किरात चोकमा डेरा गरी बस्दै आएकी थिइन् । उनी बिर्तामोडको देवी उच्च माविमा अध्ययनरत् रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले सोचे जस्तो नतिजा ल्याउन नसकेपछि आत्महत्याको असफल प्रयास गरेकी हुन् । कोठामा उनले तारको पासो लगाएर आत्महत्याको प्रयास गर्दागर्दै आफन्तले देखेपछि तत्काल उनको उद्धार गरिएको प्रहरीले जनाएको छ । पासो लाग्नुअघि उनले हातको नशा काटेको प्रहरीले जनाएको छ ।
उनीहरु त पछिल्ला उदाहरणका पात्र मात्र हुन् । यस्ता घटना झापामा एकपछि अर्को गर्दै क्रमिक रुपमा बढेर गएको छ । पछिल्लो समय मानसिक तनावका कारण आत्महत्या गर्नेको संख्या झापामा अधिक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार चालू आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा ५९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने उमेर समूह १६देखि २५ बर्षको अधिक छ । १६देखि २५ बर्ष उमेर समूहका २० जनाले ४ महिनामा आत्महत्या गरेका छन् ।

 

त्यस्तै ५१देखिमाथिका १५, ३६देखि ५० बर्ष उमेर समूहका १३, २६ देखि ३५ बर्ष उमेर समूहका ९, १५ बर्षमुनिका २ जना बालबालिकाले पनि आत्महत्या गरेका छन् । दुई बर्षअघिसम्म आत्महत्या गर्नेको संख्या नेपालमै इलाम अग्रस्थानमा थियो । तर, पछिल्लो दुई बर्षमा झापा आत्महत्या गर्नेको संख्या देशमै अग्र स्थानमा छ । पछिल्लो तीन बर्षमा झापामा आत्महत्या गर्नेको संख्या ७०९ रहेको छ भने चालू आर्थिक बर्षको चार महिनाको जोड्दा आत्महत्या गर्नेको संख्या ७ सय ६८ पुगेको छ ।

 

चालू आर्थिक बर्षमा झापामा झुण्डिएर आत्महत्या गर्नेको संख्या अधिक छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक क्षेत्रीका अनुसार ५१ जनाले पछिल्लो चार महिनामा झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै आठ जनाले विषादि सेवन गरेर आत्महत्या गरेको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

 

प्रहरीका अनुसार आर्थिक बर्ष ०७०÷०७१मा ५१ जनाले विषादि सेवन, १८३ ले झुण्डिएर, १ जनाले आगो, १ जनाले औजार प्रयोग गरी आत्महत्या गरेका छन् । त्यस्तै ०७१÷०७२मा ५५ जनाले विषादि सेवन, १८३ जनाले झुण्डिएर, ३ जनाले आगो लगाएर आत्महत्या गरेका छन् । त्यस्तै आर्थिक बर्ष ०७२÷०७३मा विषादि सेवन गरेर ४२, १९३ले झुण्डिएर र आगो लगाएर तीन जना तथा औजार प्रयोग गरी दुई जनाले आत्महत्या गरेका छन् ।

 

मानसिक तथा नशा रोग विशेषज्ञ डा.नरेन्द्र कटुवालका अनुसार कसै कसैले वंशाणुगत कारणले पनि आत्महत्या गर्ने गरेका छन् । उनका अनुसार अधिकांशले मानसिक तनाव, बेरोजगारी, लागूऔषध र अत्याधिक मदिरा सेवन, घरायसी समस्या, विलासिताको जीवन जीउने चाहना लगायतका कारणले आत्महत्या गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

यता विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपाल आत्महत्या गर्नेको आठौं स्थानमा छ । नेपालमा झुण्डिएर, विषादि सेवन गरेर, आगो लगाएर, डुवेर, हाम फालेर, धारिलो हतियार प्रयोग गरेर र करेन्ट लगाएर आत्महत्या गर्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ
देशभर यस्तो छ

आठौं स्थानमा रहेको नेपालमा प्रतिएक लाख मानिसमा आत्महत्याको दर २४.९ छ । अर्थात् हरेक एक लाखमा झण्डै २५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार नेपालमा प्रतिबर्ष ५ हजार ५ सय ७२ जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको दर ७० वर्षभन्दा बढी उमेरका मानिसमा धेरै छ ।

सो उमेर समूहकाप्रति लाख जनामा आत्महत्याको दर ८२.२% रहेको छ । सबैभन्दा कम ५देखि १४ वर्ष उमेर समूहमा प्रतिलाखमा दुई जनाले आत्महत्या गर्ने गरेका छन् । नेपालमा सन् २०००देखि २०१२ सम्मको अवधिमा उमेर मानक आत्महत्याको दर भने घटेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । सन् २००० मा प्रतिलाख ३३.५ रहेको दर सन् २०१२ मा २४.९ पुगेको छ । त्यसयता आत्महत्या गर्नेको प्रतिशत बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।

सेलिब्रेटी मुख्य चुनौति
विश्व स्वास्थ्य संगठनका अनुसार सेलिब्रेटीहरुको आत्महत्याको खबरलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्ने विषय आत्महत्या न्यूनीकरणमा मुख्य चुनौति बनेको छ ।

सेलिब्रेटीहरुको आत्महत्याको खबर प्रमुखताका साथ प्रशारण÷प्रकाशन हुँदा आत्महत्या समेत ग्लामरको एउटा पाटो बनेको र यसले सर्वसाधारणलाई समेत चर्चा कमाउनका लागि आत्महत्या गर्न प्रेरित गर्ने गरेको ठहर विश्व स्वास्थ्य संगठनको रहेको छ । रिपोर्ट अनुसार विश्वमा आत्महत्याका पीडितहरु प्रायः सीमान्तकृत समूहका छन् ।

विषादि सेवनले बढी मर्छन्

आत्महत्या गर्नका लागि प्रयोग गर्ने साधनमध्ये विष सेवन (खासगरी किरा मार्न प्रयोग गरिने विष) ग्रामीण समुदायमा सबैभन्दा बढी प्रयोग भएको पाइएको छ । त्यस्तै झुण्डिने र आफैंलाई हतियार प्रहार गरेर तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या अधिक छ ।

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर