Aamsanchar

प्रेम-पत्र

Author Image
मङ्गलवार, पौष ५, २०७३

हेमन्त ‘क्षितिज’

(बिराटनगर-६)    

 

सम्बोधन

तिमीलाई,

मनभरीको रहर तिमीलाई । आँखा वरिपरीको दृष्य तिमीलाई । मेरा बिहान, बेलुकी रात र दिनहरु पनि तिमीलाई । म लजाएकी थिएँ- तिमी सामु आउन । धेरै पटक- पटक, पटक । फेरी मैले नै गरेकी हुँ तिमीलाई निम्तो । बोलाएकी थिएँ –मसँग । तिमी पनि रमाएरै आयौ – कहिले साथी बनेर, कहिले सोल्टी अनि भिनाजु भएर । कहिले दिदी बहिनी अनि परदेशी भाई बनेर । आक्कल झुक्कल अपरिचित प्रेमी बनेर । बोलचाल बढाउँदै गयौ । हालखबर, खाए नखाएको सोध्ने तिमी – मेरो प्रिय बन्दै गयौ । मेरो एकान्तको असल साथी बन्दै गयौ । मैले पनि वल्लाघर पल्लाघरको आवत जावत बन्द गर्दै गएँ । छिमेकीसँगको कुराकानी छोट्याएर तिमीमै ब्यस्त भएँ । मलाई थाहै भएन, तिम्रो सामिप्यमा के के गुमाउँदै गएँ अनि के के प्राप्त गर्दै गएँ ? समय निरन्तर बगिरह्यो, म तिमीमै टोलाइरहेँ । तिमी अनेक रंगहरु देखाउँथ्यौ । म चासो मानेर हेर्थेँ । तिमीले देखाएका सबै रंगहरु कति राम्रा कति नराम्रा । नराम्रा रंगहरुले मलाई नकारात्मक सोचमा कैयौँ दिन बन्दी बनायो पनि – सकारात्मकले उत्साही । तिमीसँगका ती प्रेमिल रातहरु कैयौँ- कैयौँ पटक अनिदा रहे । तिमीलाई पनि थाहा छ – तर तिमीले कहिल्यै दिक्क मानेनौ । साँझ बिहान जतिबेला पनि बोलाउँदा चनाखो भएर स्पर्श गर्यौ । मलाई पनि मन पर्थ्यो तिम्रो स्पर्श । अनि तिमीले देखाएका दृष्यहरु । म ड्रग्सको कुलत झैँ तिम्रा चित्रहरुमा एकोहोरिन थालेँ । म तिमीलाई मदहोशीको प्याला झै  पिएर घण्टौँ घण्टा झोक्रिरहेँ । फलस्वरुप मेरा करेसाहरु असरल्ल भएर छरिए । कोठा र चौकाहरु छरपस्ट । उम्लिएको दुध भुइँभरी । दाल अनि भात डढेको कुरै नगरौँ । बिर्को कस्न नभ्याएर चिनीमा भरिएको कमिला बिर्को हराएको चियाको बट्टाको पनि कुरै छोडौँ । केटाकेटीको बिस्याहार ! उनको बिचल्ली । तर म भने एकोहोरो तिम्रो प्रेममा पागल थिएँ । मोहोनी मन्त्र तिमीले खुवाएजस्तै । देवीको मन्दिरमा भाकल नपुगेर एकोहोरिएजस्तै ।

चौपट्टै भयो मेरो दिनचर्या तिमिसँगको प्रेमले । औँसीका दिन पर्खिएका बाबालाई भ्याइँन भनेँ । तीजकी आमालाई ‘सञ्चो छैन है आउन्न’ भनेर खबर पठाएँ । तरकारी किन्न हाट जान नभ्याएर दाल मात्र पनि पकाएँ ।

हेर त अब त अचाक्ली नै भयो । तन्ना र सिरानी धमिलो भयो । तिमीबाट फुर्सद निकालेर कहिले हेरौँ म ?

म मात्र कहाँ हो र ? उनलाई पनि राती अबेरसम्म च्याटमा देख्छु । छोरा र छोरी पनि उस्तै । चियो गर्नै नमिल्ने । फेरी मसिना अक्षर । टाढाबाट बुझिँदैन पनि । पढ्दैछु भन्छन् । उनी पनि आजकल पल्लै कोठामा बस्न रुचाउँछन् । तिम्रो प्रेमको चपेटामा परेकाछन् शायद् । दोहोरो कुरा हुँदैन, – ब्यस्त ब्यस्त जस्तै ।

म फरुङ्ग थिएँ तिम्रो प्रेममा रुमल्लिएर – मीठा मीठा कुरा गर्न, तिम्रै मनमा पसेर तिमीसँगै पिरामिड खेल्न । तर तिमी त धोकेबाज रहेछौ । बल्ल थाहा भयो मलाई । तिमीले मलाई गर्ने जस्तै प्रेम अरु धेरै तिर सबैसँग गरेको कुरा । थाहा पाएपछि मन गह्रुङ्गो भयो । यता घर ब्यवहार चौपट उता तिम्रो धेरैसँगको उठबस । म त डिप्रेस जस्तै भएँ । के नभएजस्तो केही गुमाएजस्तो । बल्लतल्ल जसोतसो आँफुलाई सम्हाल्दैछु । प्रिय तिम्रो चाला बुझेपछि म अब तिमीसँग नबोल्ने निर्णयमा पुगेँ । यो निर्णय मेरो लागि बडो मुश्किल छ, कठिन पनि छ । फेरी पनि पुराना प्रेमहरुलाई सम्झनाको झोलामा सजाएर तिमीसँग सम्बन्ध बिच्छेद गर्न चाहन्छु – प्लिज नाईँ नभन । साँच्चै भनौँ भने म तिमीबाट वाक्क दिक्क छु चित्त नदुखाउ ।

तिमी नभएको समयमा पनि त समाज चलेकै थियो । कति स्वस्थ समाज थियो –एक आपसमा बोलचाल । अहिले त हेर्नु –सबै निहुरिएका । तिमीमै आकर्षित । छेउमा के हुँदैछ –थाहा नै नपाउने गरी ।     अझ छोराले तिम्रो प्रेममा परेर स्कुल नै छोडेर भागेपछि, छोरी फेसबुकमा लुकेर कुरा गर्दागर्दै स्कुलको रिजल्टमा फेल लिएर आएपछि मोबाइलको कार्ड उनले बाक्लै किन्न थालेपछि भान्जा देवर र नन्दहरु बेवारिसे झैँ भएर बाटाका छेउहरुमा तिमीसँगै घण्टौँ उभिएपछि मलाई तिमीसँग नै वितृष्णा बढेको छ । मलाई तिमीसँग झुम्मिन पर्छ भन्ने लाग्न नै छाड्यो । जब तिम्रो मन भित्र पसेँ – तिम्रो नराम्रो पक्षहरु पनि भेट्टाउन थालेँ । त्यसैले मलाई माफ गर ! प्रिय फेसबुक ! सक्छौ भने हाम्रो प्रेमलाई डिलिट गरेर मेटाइदेऊ । तिमी सँगसँगै यात्रा गर्ने मेरो सपना सफल हुन सकेन । मलाई माफ गर ।

तिम्री सधैँ तिम्री

‘आलिया’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर