चितवन :
नेपाल आदिवासी/जनजाति महासंघमा जगत बरामको गठबन्धन विजयी भएको छ। एमालेका तर्फबाट उम्मेदवारी दिएका सुर्य भुजेललाई ८ मतले पछि पार्दै बराम नयाँ अध्यक्षमा निर्वाचित भएका हुन्।
मंगलबार राति सम्पन्न निर्वाचनमा बरामले ३१ मत र निकटतम प्रतिद्धन्द्धी सुर्य भुजेलले २३ मत ल्याएको भुजेल समाज सेवा समितिका केन्द्रिय सचिव प्रकाश भुजेलले जानकारी दिए।
उनका अनुसार कुल ५६ मतदातामध्ये दनुवार जातीले मतदानमा भाग लिन नपाएपछि ५५ जना मतदाता सहभागी भए। अध्यक्षमा भएको मतदानमा एक जनाको मत बदर भएको निर्वाचन समितिले जनाएको छ। नयाँ नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्र लगायतका दलको प्यानलबाट जगत बरामले अध्यक्षमा उम्मेदवारी दिएका थिए भने एमालेका तर्फबाट सूर्य भुजेलको प्यानल चुनावी मैदानमा थियो। बरामलाई जिताउनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजबादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन थियो।
यस्तै महासचिवमा गठबन्धनकै नित्यनन्द ताजपुरिया विजयी भए। ताजपुरियाले ३७ र उनका निकटतम प्रतिद्धन्द्धी टासी हेल्मुले १५ मत प्राप्त गरे। कोषाध्यक्षमा ३८ मतका साथ गठबन्धनकै मुकुन्द पहारी विजयी भए भने उनका प्रतिद्वन्द्वी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गरेको निर्वाचित उपाध्यक्ष गणेश थकालीले जानकारी दिए।
दुवै प्यानलमा नाम जोडिएका कृष्ण कुमारी थकाली महिला उपाध्यक्षमा र श्रुति कुमाल सचिवमा विजयी भएपनि अन्य सबै गठबन्धन प्यानलबाट विजयी भएको जनाइएको छ।