बिर्तामोड।

पूर्वका सीमा स्तम्भ ६ महिना भित्र मर्मत सम्भार गरिसक्ने नेपाल र भारतका अधिकारीहरुले निर्णय गरेका छन् ।

विहीवार झापाको बिर्तामोडमा भएको दुई देशका अधिकारीहरुको संयुक्त वैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले बताउनुभयो । छलफलमा अधिकारीहरुले देशभरका नेपाल भारत सीमाका सीमा स्तम्भ बनाउन वा मर्मत गरिसक्न अब करीब तीन बर्ष लाग्नसक्ने बताएका थिए ।
बैठकमा नेपालका तर्फबाट झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखको सहभागीता थियो भने भारतका तर्फबाट विहार राज्यको किसनगञ्ज जिल्लाका डीएम पंकज दीक्षित, अररियाका हिमाङ्सु शर्मा र शैपालका अखिलेश्वर झा सहभागी रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।
नेपाली सरकारी अधिकारीहरुका अनुसार सन् २००७ देखि २०१४ सम्म नेपाल र भारतवीचमा सीमाका विषयमा कुनै छलफल भएको थिएन । सन् २०१४ देखि शुरु भएको नेपाली र भारतीय अधिकारीहरुको संयुक्त प्रयासमा नेपाल र भारतवीचका सीमा स्तम्भहरु मर्मत तथा नबनेका वा हराएका ठाउँमा नयाँ स्तम्भहरु बनेका छन् । देशभरका सीमा स्तम्भ बनाउने र मर्मत गर्ने काममा भारत र नेपालका अधिकारीहरु सम्मिलित जम्मा तीनवटा टोली परिचालित भएको बताएको छ ।
पूर्वमा परिचालित संयुक्त टोलीमा नेपाली टोलीको नेतृत्व नापी विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले गरिरहनुभएको छ ।

पूर्वको टोलीले विगत दुई बर्षमा मर्मत गर्नुपर्ने ७ सय ८४ सीमा स्तम्भमध्ये ६ सय १० वटा मर्मत गरिसकेको छ । हराएका वा नबनाएका ३ सय ८९ पिलरमध्ये ८३ वटा स्तम्भ बनाइसकिएको अधिकारीहरुले बताएका छन् । प्रमुख नापी अधिकृत डंगोलका अनुसार बिर्तामोडमा सम्पन्न दुई देशका अधिकारीहरुको बैठकले आगामी २०१७ को मध्यसम्ममा पूर्वका सबै स्तम्भका काम गरिसक्ने निर्णय गरेको बताउनुभयो ।
देशभरमा कति स्तम्भ मर्मत गर्नुपर्ने र कति नयाँ बनाउनुपर्ने भन्ने आधिकारिक तथ्यांक आइनसकेको दुवै देशका अधिकारीहरुले बताएका छन् । उनीहरु भन्छन् – ‘जटिल समस्या भएका अन्य सीमा क्षेत्रका काम शुरु नै गरिएको छैन् ।’
उता भारतीय नापी अधिकारी केबी खत्रीले सबै सीमा स्तम्भलाई व्यवस्थित गर्न अझैं केही बर्ष लाग्ने बताउनुभएको छ ।
यता प्रमुख जिल्ला अधिकारी खत्रीले भने पर्सी शनिवार (डिसेम्वर–२५) बाट झापामा काम शुरु गरिने बताउनुभयो ।

